
अहिलेको विषम परिस्थितिका बीचमा महत्त्वपूर्ण र समय सान्दर्भिक सवाल उठाएर अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरी मलाई सहभागी अवसर दिनुभएकोमा आयोजक संस्था क्लिकमान्डु परिवारलाई धन्यवाद व्यक्त गर्दछु ।
क्लिकमाण्डुकै पहल र अग्रसरतामा जेनजी प्रदर्शनपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरणका विषयमा गरिएको अध्ययन प्रतिवेदनले धेरै विषयहरू उजागर गरेको मैले विश्वास लिएको छु।
अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको निजी क्षेत्रको वर्तमान मनोविज्ञानलाई तथ्याङ्क र गुणात्मक रूपमा प्रस्तुत गरी गहन अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभएकोमा फेरि पनि यहाँहरूलाई धन्यवाद व्यक्त गर्दछु । साथै राज्यको नीति निर्माता र सरोकारवालाहरूलाई यस्ता अनुसन्धानमूलक प्रतिवेदनहरूले मार्गदर्शनको भूमिका खेल्ने मैले अपेक्षा लिएको छु ।
हामी अहिले एक ऐतिहासिक र संवेदनशील मोडमा छौँ। २०८२ भदौ २३ र २४ गतेका घटनाहरू, जसलाई क्लिकमान्डु रिपोर्टमा जेनजी विद्रोहको रूपमा व्याख्या गरिएको छ, त्यसले हाम्रो राष्ट्रिय जीवनमा गम्भीर प्रश्नहरू उब्जाएको छ । प्रदर्शनका दिनहरूमा सरकारी तथा निजी क्षेत्रका संरचना भएका भौतिक क्षति मात्र होइन, बरू त्यसले लगानीकर्ताको मनोविज्ञान तथा आत्मविश्वास र हाम्रो व्यावसायिक वातावरणमा पुर्याएको चोटका बारेमा यो प्रतिवेदनले प्रस्तुत गरेको विवरणले हामी सबैलाई सोच्न बाध्य बनाएको छ।
उक्त प्रदर्शनका क्रममा निजी क्षेत्रमा झन्डै ३४ अर्ब रूपैयाँको प्रत्यक्ष भौतिक क्षति र ८१ अर्ब रूपैयाँ बराबरको अप्रत्यक्ष आर्थिक क्षति भएको कुरा अत्यन्तै दुखद छ। अध्ययन अनुसार ९८ प्रतिशत व्यवसायीको मनोबल घट्नु तथा उहाँहरूमा आत्मविश्वासको कमी देखिनु र ९७ प्रतिशतले लगानीको वातावरण कमजोर बनेको जवाफ दिनु अर्थतन्त्रका लागि शुभ संकेत पक्कै होइन। निजी क्षेत्र अर्थतन्त्रको मेरूदण्ड हो। जबसम्म लगानी सुरक्षित हुँदैन, तबसम्म देशमा रोजगारी सिर्जना हुन सक्दैन र देशको ढुकुटी पनि बलियो हुन सक्दैन।
लोकतान्त्रिक व्यवस्थामा आफ्ना माग राख्ने वा असन्तुष्टि व्यक्त गर्ने अधिकार सबैसँग हुन्छ तर आन्दोलनका नाममा निजी सम्पत्तिमाथि हुने लुटपाट, तोडफोड र आगजनीले गम्भीर प्रश्न उब्जाएको छ । कानुनी राज्यमा कानून हातमा लिनु दुखद छ।
राज्यले अपेक्षाहरू सम्बोधन गर्न नसक्दा नागरिकमा विकास भएको आक्रोशको समाधान भौतिक संरचनाको विनाश होइन र हुनु पनि हुँदैन । विडम्बना गत भदौमा जेनजी आन्दोलनका क्रममा हामीले एउटा निकै त्रासदीपूर्ण र भयावह विध्वंस भोगेका छौँ।
भदौ २३ गतेको आन्दोलन भ्रष्टाचार, कुशासन र जवाफदेहिताको अभावविरूद्ध उठेको नागरिकहरू आवाज थियो। त्यसमा कुनै शंका छैन तर तर त्यसको भोलिपल्ट, २४ गते देखिएको विध्वंस, आगजनी र निजी क्षेत्रमाथिको हमला त्यही आन्दोलनको स्वाभाविक निरन्तरता थिएन भन्नेमा म विश्वस्त छु । त्यो घटनाले न सुधारको मार्ग देखायो, न नागरिक हितको रक्षा गर्यो। बरू यसले एउटा गम्भीर शंका उत्पन्न गरेको छ कि के यो अराजकता कतै न कतै नेपाललाई असफल बनाउने गलत नियतबाट प्रेरित त थिएन? कतै राष्ट्रमाथि नै अस्तित्वको प्रश्न उठाउने गरी गरिएको हमला त थिएन ?
निजी क्षेत्र कुनै राजनीतिक शक्ति वा पक्षको शत्रु होइन। निजी क्षेत्र आम नागरिकका लागि रोजगारीको क्षेत्र हो । उत्पादन, राजस्व र नवप्रवर्तनको क्षेत्र हो । लाखौँ नेपाली परिवारको जीविकाको आधार हो । जब उद्योग, पसल वा व्यवसायिक संरचनामाथि हमला हुन्छ, त्यो केवल भौतिक क्षति मात्र हुँदैन त्यसले देशको भविष्यप्रतिको विश्वासमा चोट पुर्याउँछ ।
लगानीकर्ता चाहे स्वदेशी हुन् वा विदेशी उनीहरूलाई राजनीतिक आन्दोलन वा उतारचढावले खासै फरक पार्दैन तर जब देश अराजकता, अस्थिरता र भ्रष्टाचारले जर्जर बन्छ, त्यसले असुरक्षा पैदा हुन्छ र लगानीकर्ताहरू डराउनु पर्ने अवस्था पैदा हुन्छ।
भ्रष्टाचार र कुशासनविरूद्धको आक्रोश निजी क्षेत्रविरूद्ध पोखिनु निकै दुखदायी छ । त्यसले समस्या समाधान होइन, झनै गहिरो बनाउँछ। र गत भदौमा भएको जेनजी आन्दोलनले त्यही दुष्परिणाम निम्त्याएको छ ।
राज्य, निजी क्षेत्र र नागरिक यी तीनै क्षेत्र एक अर्काका प्रतिस्पर्धी होइनन् । यी तीनवटै क्षेत्र मिलेर मात्र स्थायित्व, रोजगारी र समृद्धि सम्भव हुन्छ। हामी सबैको एउटै लक्ष्य देशको विकास, रोजगारी, आत्मनिर्भर अर्थतन्त्रको विकास हुनुपर्दछ।
राज्यले सही शासन व्यवस्था सञ्चालन गर्न नसक्दा त्यसका विरूद्ध लोकतान्त्रिक ढंगले विरोध गर्न पाउनु सबैको नैसर्गिक अधिकार हो तर आन्दोलनको आडमा हुने कुनै पनि किसिमका विध्वंस र अराजकतालाई रोक्नुपर्छ। कानूनी राज्यमा विध्वंशलाई छुट हुँदैन र हुनु पनि हुँदैन ।
अहिले हाम्रो देशमा लगानीकर्ताको आत्मविश्वास पुनस्थापित गर्न निकै जटिल बनेको स्थिति छ । राज्यले नेपाललाई असफल होइन, विकास र सुशासनतर्फ अग्रसर जिम्मेवार राष्ट्रको रूपमा विश्वसामु स्थापित गर्न निकै चुनौतीपूर्ण बनेको छ ।
नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित हुन्छ। त्यसका लागि राज्य संयन्त्र, राजनीतिक शक्ति, निजी क्षेत्र र आम जनसमुदायको एकताबद्ध पहल र आह्वानले मात्रै जलेको मन र ढलेको आत्मविश्वासलाई फेरि उठाउन सकिन्छ । ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उद्यमशीलताका क्षेत्रमा नेपालसँग अपार सम्भावनाहरू छन् तर यी सम्भावनालाई हामीले समुचित उपयोग गर्न र लगानीमा रूपान्तरण गर्न व्यावसायिक वातावरण र लगानीका लागि विश्वासयोग्य अवस्था निर्माण गर्नु पहिलो शर्त बनेको छ।
यो प्रतिवेदनले हाम्रो समाजमा अझै पनि व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक छ भन्ने गम्भीर र तितो यथार्थलाई उजागर गरेको छ । अब यो भाष्य र मानसिकता बदल्नुपर्ने बेला आएको छ । हामीले बुझ्नुपर्छ कि नाफा कमाउनु अपराध होइन, बरू व्यवसाय सञ्चालनको अनिवार्य आधार हो । जब एक जना उद्यमीले जोखिम मोलेर लगानी गर्छ र नाफा कमाउँछ, उसले त्यही नाफाबाट पुनः लगानी विस्तार गर्छ, नयाँ रोजगारी सिर्जना गर्छ र राज्यलाई कर तिर्छ । त्यही करबाट नै देशमा विकासका कामहरू हुने गर्दछन् । त्यसैले, नीतिगत सुधारसँगै हामीलाई अब सांस्कृतिक र सामाजिक दृष्टिकोणको सुधार पनि अपरिहार्य भएको छ।
मैले यो कुरा गरिरहँदा उद्योगी, व्यवसायी मित्रहरूलाई पनि भन्नैपर्दछ कि व्यवसायीहरूले पनि आफ्नो व्यवसायमा उच्च व्यावसायिक नैतिकता, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्छ। स्वच्छ र पारदर्शी व्यावसायिक आचरणले नै निजी क्षेत्रप्रतिको सामाजिक बुझाइलाई सकारात्मकता प्रदान गर्दछ। र राज्यलाई पनि निजी क्षेत्रको पक्षमा बलियो नीतिगत अडान लिन बल प्रदान गर्दछ।
राष्ट्रिय सभाको अध्यक्षको हैसियतले म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु कि हामी लगानीको सुरक्षा सुनिश्चित गर्ने र युवाहरूलाई देशभित्रै अवसर र भविष्य देख्ने वातावरण निर्माणमा सहयोगी हुने कानून निर्माणमा केन्द्रित हुनेछौँ। यो प्रतिवेदनले सरकार र राज्यका सरोकारवाला निकायलाई जुन फिडब्याक दिएको छ, यसलाई हामीले गम्भीरतापूर्वक लिनेछौँ। लगानीकर्ताको डगमगाएको आत्मविश्वासलाई पुनःस्थापना गर्न र व्यवसायमैत्री कानून बनाउन राष्ट्रिय सभा सदैव तत्पर रहने प्रतिवद्धता व्यक्त गर्दछु।
अन्तमा, फेरि पनि तथ्यपरक अनुसन्धान प्रतिवेदन तयार गरी हामी सबैलाई निजी क्षेत्रको अहिलेको वास्तविकता सार्वजनिक गरेकोमा क्लिकमान्डु परिवार र यसमा संलग्न सबै अनुसन्धानकर्ताहरूलाई धन्यवाद दिदै मेरा भनाई यही टुङ्ग्याउँछु।
धन्यवाद, नमस्कार।
(क्लिकमान्डु सिम्पोजियम: लगानीकर्ताको आत्मविश्वास चिरफार तथा अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले गरेको सम्बोधन ।)








प्रतिक्रिया