‘जेनजी प्रदर्शनले सरकार-निजी क्षेत्रलाई प्रोफेसनलिजम र इनोभेसन तर्फ बढी ध्यान दिनुपर्ने पाठ सिकायो’

7
Shares

क्लिकमान्डुले प्रकाशन गरेको अध्ययन रिपोर्ट धेरै उपयोगी र राम्रो छ । नेपाल सरकारले गरेको क्षति मूल्यांकनलाई अझ विस्तार गरेर अपिनियन सर्भेको रुपमा जेनजी आन्दोलन निजी क्षेत्रको मनोबलमा कस्तो प्रभाव पर्‍यो भनेर अध्ययन गरेको छ, त्यसले धेरै कुराहरु छर्लङ्ग पारेको छ । तर, यही विषयसँग धेरै अध्ययनहरु गर्नुपर्ने र गर्न सकिने छन् ।

पहिलो भदौ २३ र २४ गते त्यो दुई दिन घटना नै किन भयो ? त्यो घटनाको त्यो रुप किन भयो भन्ने कुराहरुको अझ गहन स्वतन्त्र अध्ययन हुनुपर्छ ।

सरकारको प्राथमिक भूमिका शान्ति सुरक्षा कायम गर्नु हुन्छ, जेनजी प्रदर्शनका क्रममा सरकारको सो भुमिका कमजोरी देखियो । हामीले पछिल्लो समय धेरै पूर्वाधार विकास तथा अन्य आर्थिक विकासलाई फोकस गर्यौं, कहीँ कतै शान्ति सुरक्षालाई ध्यान नपुगेको, क्षमता नपुगेको जस्तो देखियो । दण्डहीनता बढेको कारण भदौ २३ र २४ को घटना भयो । जति सहरीकरण हुन्छ शान्ति सुरक्षाका चुनौतीहरु थप बढ्दै जान्छन् । सरकारले त्यसमा थप ध्यान दिनुपर्छ।

दोस्रो रोजगारी सिर्जना पर्याप्त छैन । वार्षिक ४–५ लाख युवाहरु श्रम बजार प्रवेश गर्नुहुन्छ । धेरैले औपचारिक रोजगारी खोजिरहनु भएको छ । तर त्यस अनुसार रोजगारी सिर्जना हुन सकेको छैन र त्यसले युवाहरुमा असन्तोष सिर्जना गरेको छ। त्यही असन्तोष जेनजी प्रदर्शनका रूपमा सरकारप्रति लक्षित हुन गयो । यसपटकको असन्तोष सरकार मात्रै नभएर निजी क्षेत्र प्रति पनि लक्षित हुन गयो । यस्तो घटना यसअघि कहिल्यै भएको थिएन । कतिपय निजी घरहरु प्रति पनि लक्षित हुन गयो । निजी घर र निजी क्षेत्रमाथि यसभन्दा अघि यस्तो घटना घटेको थिएन । सो घटनाले हाम्रा युवाहरुलाई कहीँ कतै इन्गेज गर्न सकिरहेका छैनौं भन्ने देखाउँछ ।

तेस्रो अब बिमा गर्नुपर्ने रहेछ भन्ने कुरा सरकार र निजी क्षेत्रलाई सिकाएको छ । केही व्यवसायीहरुले त बिमा गर्नु भएको थियो तर निजी घरहरुको पनि बिमा गर्नुपर्ने रहेछ र गर्नुपर्छ भन्ने शिक्षा दिएको छ । बिमा बजार बढ्ने सम्भावना पनि छ । बिमाले धेरै जोखिम न्यूनीकरण गर्छ र धेरै बढ्दो जोखिमसँगै बिमाको आवश्यकता बढेको छ ।

चौथो, हामीले सार्वजनिक सेवा प्रवाहमा सुधार गर्नुपर्ने छ । सरकारबाट कतिपय ठूलाठूला कुरा त आउँछन्, गर्नुपर्ने पनि होला तर सामान्य सार्वजनिक सेवा पनि सुधार गर्न नसकिरहेको देखिन्छ । जस्तै हामी ड्राइभिङ लाइसेन्सको उदाहरण लिऔं, पासपोर्टको पनि हेरौं । राष्ट्रिय परिचयपत्रको सेवाहरु पनि हेरौं । यी सरकारी सेवाप्रति नागरिकको असन्तोष छ । त्यहाँ हाम्रो ध्यान पुग्न नसकेको देखिन्छ । अथवा त्यहाँ काम नभइरहेको तथा कतिपय अल्झिरहेको पनि छ । कतिपय कानुनी अल्झनहरु देखिन्छन् । धेरै समस्याहरु गाँठो परेर बसेको छ । जसले गर्दा सार्वजनिक सेवा प्रवाह सहज नहुँदा धेरै सार्वजनिक असन्तोष सिर्जना भएको देखिन्छ ।

पाँचौं, व्यवसाय र राजनीतिबीच धेरै सम्बन्ध हुँदा त्यसले नकारात्मक सन्देश प्रवाह भयो कि भन्ने पनि देखिन्छ । हामीले व्यवसायमा नवीनता सिर्जना गर्न सकिरहेका छैनौं, बढी राजनीतिक लबिङबाट गर्न खोज्दा मान्छेमा असन्तुष्टि अथवा नकारात्मक सोच आयो जस्तो लाग्छ ।

जेनजी प्रदर्शनबाट हामीले प्रोफेसनलिजम र इनोभेसन गर्ने तर्फ बढी ध्यान दिनु पर्ने पाठ सिकाएको जस्तो मलाई लाग्छ । अर्को पाठ सञ्चार क्षेत्रलाई पनि सिकाएको छ । हाम्रो सञ्चार क्षेत्र पनि जिम्मेवार हुनुपर्छ । नेपालमा केही नभएको चाही होइन । केही त भएको छ, धेरै कुरा भएको छ । हामी चार दशक अगाडि हेरौं । सात दशक अगाडिसँग हेर्यौं भने हामी धेरै अगाडि बढेका छौं । तर, थुप्रै कुरा गर्न बाँकी छ । तुलनात्मक रुपमा हामीले कममात्र गरेका छौं । तर, हामी अगाडि बढ्दैछौं । आमसञ्चार क्षेत्रमा भने फरक सन्देश प्रवाह भएको छ । केही पनि विकास भएको छैन, हामीले केही पनि गरेका छैनौं । तर, हामी अझ पछाडि गएको जस्तो समाचार सम्प्रेषण हुन्छ । त्यसले धेरै युवाहरु, जसले हिजोको इतिहास बुझेको छैनन्, उहाँहरु अलिकति प्रभावित भएको र नकारात्मक सोच बढी आएको जस्तो लाग्छ ।

भदौ २३ र २४ को घटनाबाट सञ्चार क्षेत्रले पाठ सिक्दै थप जिम्मेवार भएर अगाडि बढ्नु पर्छ । हामी नागरिकले पनि अधिकार खाज्यौं, तर जिम्मेवारी भुलिएको स्थिति छ । कर्तव्यबोध तर्फ पनि हामी जानुपर्छ । कर्तव्यबोध जिम्मेवारी पनि सञ्चार क्षेत्र र राजनीतिक क्षेत्रको हो । राजनीतिक क्षेत्रले धेरै महत्त्वकांक्षा बढाइदिएको छ । चुनावमा ठूलाठूला कुरा गर्ने तर कार्यान्वयन हुन सकेको छैन । यसरी भनाइ र गराइबीच फरक भएपछि निराशा बढ्ने स्थिति स्वभाविक हो । भदौ २३ र २४ को घटनाको कारण त्यही निराशा हुन सक्छ । त्यसैले राजनीति पनि जिम्मेवार हुनुपर्छ । नैतिकताको खाँचो सबैतिर छ । राजनीतिमा पनि छ ।

जेनजी आन्दोलनको मुख्य मुद्दा पनि सुशासन, रोजगारीमा नै केन्द्रित थियो । तर, सुशासन प्रवाह कसरी गर्ने हो, त्यसमा पनि थप अनुसन्धानको आवश्यकता छ । अहिले लगानी कम छ, समष्टिगत माग कम छ । त्यसले गर्दा तरलता भए पनि ब्याजदर घटे पनि कर्जा प्रवाह बढ्न सकेको छैन । अझै हामी आर्थिक सिथिलताको अवस्थामा रहेको कुरा धेरै तथ्यांकहरुले देखाउँछ । केही सूचकहरु राम्रा पनि छन्। राम्रोबाट हामीले अझ अगाडि बढ्नुपर्ने स्थिति छ ।

(क्लिकमान्डु सिम्पोजियमः लगानीकर्ताको आत्मविश्वास चिरफार र अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले विशेष अतिथिका रूपमा व्यक्त गरेको मन्तव्य ।)