इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश


काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा जडान हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चको आदेशसँगै देवनागरी लिपीलाई विस्थापित गरेर अंग्रेजी भाषा मात्रै प्रयोग गर्ने गरी भएको निर्णय तत्काल कार्यान्वनयमा नआउने भएको छ ।

सर्वोच्च अदालतमा २०७४ फागुन २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक यातायात व्यवस्था विभाग, अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनी नेपाललाई विपक्षी बनाएर रिट दायर भएको थियो ।

यसअघि २०७९ चैत २२ मा सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीसँगै नेपाली भाषा पनि प्रयोग गर्न सकिने गरी कानुन संसोधन गर्ने निर्णय गरेको थियो ।

तत्कालीन समयमा सरकारले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा पनि प्रयोग गर्न सकिने गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन गर्ने निर्णय गरेको थियो ।

यसअन्तर्गत ऐनको अनुसूची–२ लाई संशोधन गरी इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीसहित नेपाली भाषा पनि प्रयोग गर्न सकिने नीति लागू हुनेछ ।

२०७२ सालमा सरकारले आरएफआईडी चिपसहित इम्बोस्ड नम्बर प्लेट कार्यान्वनयमा ल्याउने निर्णय गरेको थियो । सरकारले २०७४ देखि इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याएको थियो । अंग्रेजी भाषामा भएको उक्त इम्बोस्ड नम्बर प्लेटको चर्को विरोध भएको थियो ।