सात करोडको लगानीमा लुम्बिनीमा राइड सेयरिङ ट्याक्सी ‘ई–ड्राइभ नेपाल’ आरम्भ


नेपालगञ्ज । लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने राइड सेयरिङ ट्याक्सी तथा मोटरसाइकल सेवा ‘ई–ड्राइभ नेपाल’ ले आजदेखि नेपालगञ्जमा औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले आज उक्त सेवाको शुभारम्भ गरेका हुन् । उक्त सेवा आजदेखि बाँके र बर्दियामा सुरु भएको हो ।

नगरप्रमुख बिष्टले भने, ‘प्रविधिमैत्री यस्ता सेवाले सहरको यातायात सेवालाई सहज बनाउनुका साथै नागरिकलाई सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउने विश्वास छ ।’

नेपालगञ्जमा सुरु गरिएको विद्युतीय ट्याक्सी सेवाले आफ्नै देशमा काम गर्ने वातावरण सिर्जना गरेको उनले बताए ।

अठार महिना अघि बुटवल–भैरहवा क्षेत्रबाट सुरु गरिएको ई–ड्राइभ सेवा अब बाँकेको प्रमुख सहर नेपालगञ्जमा विस्तार गरिएको ई–ड्राइभ लुम्बिनीका निर्देशक विजय भण्डारीले जानकारी दिए । उनका अनुसार आजैदेखि बाँके र बर्दियामा एकसाथ ई–ड्राइभ नेपालको सेवा विस्तार भएको छ ।

निर्देशक भण्डारीले भने, ‘समयअनुसार सेवा प्रणाली प्रविधियुक्त डिजिटल बन्दै गइरहेको सन्दर्भमा ट्याक्सी सेवालाई पनि प्रविधिसँग जोडेर अनलाइन माध्यमबाट सुरक्षित, सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपालगञ्जमा सेवा सञ्चालनमा ल्याएका हौँ ।’

कार्यक्रममा ई–ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित यो सेवा सुरु गरिएको बताए ।

उनले भने, ‘युवालाई विदेश जान बाध्य पार्नुको सट्टा स्वदेशमै रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य हो । आगामी दिनमा ई–ड्राइभ सेवालाई देशभर विस्तार गर्ने योजना बनाएका छौँ ।’

हाल ई–ड्राइभ लुम्बिनीले सात करोडभन्दा बढी लगानी गरेको छ ।

हाल रुपन्देहीमा एक सय १० ट्याक्सी तथा पाँच सयभन्दा बढी मोटरसाइकल चालकमार्फत सेवा दिँदै आएको ई–ड्राइभले नेपालगञ्जमा प्रारम्भिक चरणमा १५ विद्युतीय ट्याक्सीमार्फत सेवा सुरु गरेको ई–ड्राइभ लुम्बिनीका निर्देशक भण्डारीले बताए ।

Skip This