
काठमाडौं । सरकारले २७ लाख स्मार्ट लाइसेन्सको छपाई सकेर यातायात व्यवस्था विभागमार्फत सम्बन्धित यातायात कार्यालयहरुमा पठाएको भए पनि लिन आउनेको संख्या भने कम रहेको छ । सरकारले पछिल्लो चार महिनामा २७ लाख लाइसेन्स छापेको भए पनि हालसम्म करिब ५० प्रतिशतले मात्रै लिएका छन् ।
सरकारले लामो समयसम्म थुप्रिएर बसेको लाइसेन्सलाई पछिल्लो तीन महिनामै छपाई गराएको भएपनि लिन जानेको संख्या साढे १३ लाखको हाराहारीम मात्रै रहेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
विभागका अनुसार पछिल्लो समय नागरिक एपमा लाइसेन्स उपलब्ध भएको, ट्राफिक चेकजाँच एपबाटै मिल्न थालेको र लामो समयसम्म लाइसेन्स नपाएका नेपालीहरुले छापियो भन्नासाथै गइहल्ने नगरेका कारण पनि लाइसेन्स छापिएर थन्किएको छ ।
पुरानो लाइसेन्स छपाई सम्पन्न भएकोले अब नयाँ सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै छपाइ हुने व्यवस्था मिलाएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
सञ्चार मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौताअनुसार विभागबाट प्राप्त विवरणका आधारमा कुल २७ लाख स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न गरिएको हो । मन्त्रालयले यससँगै विगतदेखि रहँदै आएको लाइसेन्स छपाइको ‘ब्याकलग’ पूर्णरूपमा अन्त्य भएको पनि सञ्चार मन्त्रालयले जानकारी दिएको छ ।
पहिलो चरणमा २०८२ कात्तिक १२ गते भएको सम्झौताअनुसार निर्धारित समयभित्र १२ लाख स्मार्ट लाइसेन्स छापिएको थियो । त्यसपछि बाँकी रहेका आवेदन व्यवस्थापन गर्न २०८३ वैशाख ४ गते दोस्रो चरणको सम्झौता गरी थप १५ लाख अनुमतिपत्र छाप्ने कार्य सुरु गरिएको थियो । उक्त दोस्रो चरणको काम पनि २०८३ असार ३२ गते सम्पन्न भएसँगै कुल २७ लाख स्मार्ट लाइसेन्सको छपाइ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
हाल सुरक्षण मुद्रण केन्द्रले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा अनुमतिपत्र नवीकरण गरेका सेवाग्राहीको यातायात व्यवस्था विभागबाट दैनिक प्राप्त हुने करिब तीन हजारदेखि पाँच हजार विवरणका आधारमा २४ घण्टाभित्रै स्मार्ट लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गर्दै आएको पनि मन्त्रालयले जनाएको छ । यस व्यवस्थाबाट नयाँ लाइसेन्स वितरण प्रक्रिया थप छिटो र व्यवस्थित भएको छ ।
मन्त्रालयका अनुसार सुरक्षण मुद्रण केन्द्रमार्फत् अब सातै प्रदेश सरकार तथा सम्बन्धित यातायात मन्त्रालयसँग समन्वय गरी सवारी चालक अनुमतिपत्र छपाइसम्बन्धी सम्झौता गर्ने तयारीसमेत भइरहेको छ ।





प्रतिक्रिया