गण्डकी प्रदेश: राइड सेयरिङका लागि सवारी साधनले रुट परमिट लिनुपर्ने

70
Shares

काठमाडौं । गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा उपलब्ध गराउने दुई पाङ्ग्रे सवारी साधनले यात्रुवाहक सवारीको रुपमा दर्ता गर्नुपर्ने भएको छ ।

गण्डकी प्रदेश सरकारले ‘गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२’ संशोधन गरेको छ ।

प्रदेश सरकारको राजपत्रमा प्रकाशित सूचना अनुसार संशोधित नियमावली अनुसार अब राइड सेयरिङ सेवा प्रदान गर्ने दुई पाङ्ग्रे सवारी पनि यात्रुबाहक सवारीका रुपमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले माघ १५ गते यो नियमावली राजपत्रमा प्रकाशित गरेको थियो ।

‘राईड सेयरिङ सवारी भन्नाले अनलाईन प्रणालीको प्रयोग गरी राईड सेयरिङ सेवा सञ्चालन गर्न यात्रुबाहक सवारीको रुपमा यातायात कार्यालयबाट इजाजत प्राप्त दुई पाङ्ग्रे निजी र पाँच सिट भएको चार पाङ्ग्रे सार्वजनिक सवारी साधन सम्झनु पर्छ । राईड सेयरिङ सेवा भन्नाले अनलाइन प्रणालीको प्रयोग गरी राईड सेयरिङ सवारी साधन मार्फत यात्रु ओसारपसार गर्ने कार्य सम्झनु पर्छ,” संशोधित नियमावलीमा उल्लेख छ ।

पहिलो संशोधित नियमावलीले अब दुई पाङ्ग्रे सवारीले पनि रुट परमिट (बाटो ईजाजत) लिनुपर्ने व्यवस्था गरेको छ ।

यसका साथै यो नियमावलीले दुई पाङ्ग्रे र चार पाङ्ग्रे राइड रेयरिङ् सेवाको हकमा अधिकतम दूरीसमेत तोकेको छ । तोकिएको दूरीभन्दा बढी दूरीमा सेवा दिन नपाइने व्यवस्थ यो नियमावलीले गरेको छ ।

‘दुई पाङग्रे सवारी साधनले कुनै यात्रीलाई सेवा दिँदा सवारीले बाटो ईजाजत पाएको सञ्चालन क्षेत्रभित्र एकपटकमा प्रस्थान बिन्दुदेखि गन्तव्य बिन्दुसम्म बढीमा बीस किलोमिटरको दुरीसम्म र चारपाङ्ग्रे सवारी साधनको हकमा पचास किलोमिटरको दुरीसम्म सेवा दिन पाउनेछ । सो दुरीभन्दा बढी दुरीका लागि सेवा खोज्न वा प्राप्त गर्न नसकिने गरी एपमै व्यवस्था भएको हुनु पर्नेछ,’ संशोधित नियमावलीमा उल्लेख छ ।

यो नियमावलीमार्फत गण्डकी सरकारले दुई पाङ्ग्रे र चार पाङ्ग्रे राइड रेयरिङ् सेवाको हकमा संकेत लोगोसमेत राख्नुपर्ने व्यवस्था गरेको छ ।

नियमावलीअनुसार दुई पाङ्ग्रेको हकमा कालो रङको पृष्ठभूमिमा पाँच सेन्टिमिटर व्यास भएको वृताकार संकेत, लोगो वा चिन्हभित्र तीन सेन्टिमिटर उचाई र १.५ सेन्टिमिटर मोटाई राखेर सेल्फ ड्राइभको रातो रङमा अंग्रेजी अक्षर एसडी उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी चार पाङ्ग्रे राइड रेयरिङ् सेवा दिने सवारी साधनको हकमा कालो रङको पृष्टभूमिमा पाँच सेन्टिमिटर व्यास भएको वृताकार संकेत, लोगो वा चिन्हभित्र सेल्फ ड्राइभको अंग्रेजी अक्षरमा एसडी को उचाँई ११ सेन्टिमिटर र एक सेन्टिमिटरको मोटाईमा राख्नुपर्ने नियमावलीमा उल्लेख छ ।

गण्डकी प्रदेश सरकारले माघ पहिलो साता राइड सेयरिङ सेवालाई बैद्यानिकता दिने निर्णय गरेको थियो । माघ ४ गते बसेको मन्त्रिपरिषद बैठकले मौजुदा नियमावलीमा केही संशोधन गरेर कार्यान्वयन थाल्ने निर्णय गरेको थियो ।

सोहि निर्णयअनुसार राईड सेयरिङ् (नियमन र व्यवस्थापन) नियमावली २०८२ मा पहिलो संशोधन गरी राजपत्रमा प्रकाशित गरिएको हो ।

सरकारले यसअघि गत् वैशाख ३० गतेको मन्त्रिपरिषद् बैठकबाट नियमावली पारित गरेको थियो ।

‘राइड सेयरिङ सेवालाई व्यवस्थित गर्न नियमावलीमा देखिएका केही अस्पष्टता हटाइएको छ । नियमावली संशोधन भइसकेकोले अब यातायात कार्यालयले छिट्टै सूचना प्रकाशन गरेर औपचारिक रूपमा दर्ता प्रक्रिया सुरु गर्नेछ,’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलले भने ।

यसअघि प्रदेशले नियमावली पारित गर्ने बित्तिकै यातायात व्यवसायीहरुको चर्को विरोधका कारण संघीय सरकारले परिपत्र पठाएर तुरुन्त कार्यान्वयन रोक्न निर्देशन दिएको थियो । तर, प्रदेश सरकारले संविधानमा समन्वय र सहकार्य लेखिएको भन्दै केही समय प्रक्रिया रोकेको थियो ।

एक महिनाका लागि भनेर रोकिएको प्रक्रिया ८ महिनापछि प्रदेश सरकारले पुनः कार्यान्वयनमा ल्याएको छ ।

नियमावलीमा चार पाङ्ग्रे सवारी साधनको सीमा तोकिएको छ । यसअघि २ पाङ्ग्रेले २० किलोमिटरको दुरीमा सेवा दिन पाउने भनिए पनि ४ पाङ्ग्रेको हकमा प्रस्ट खुलेको थिएन । अब ५० किलोमिटरसम्म मात्रै ४ पाङ्ग्रेले राइड सेयरिङको सेवा दिन पाउनेछन् ।

५ सिट क्षमता भएका चारपांग्रे सवारीसाधनलाई मात्र यो सेवामा चल्न दिइने सरकारले जनाएको छ ।

पारित भएको नियमावली कार्यान्वयन भए नभएको अनुगमन गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा छुट्टै समिति गठन हुनेछ ।

सदस्यहरूमा मुख्यमन्त्री कार्यालयका प्रतिनिधि, सम्बन्धित कार्यालयका कार्यालय प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, उपभोक्ता हितसँग सम्बन्धित संस्थाहरूमध्ये मन्त्रालयले मनोनीत गरेको एकजना प्रतिनिधि सदस्य हुनेछन् भने सम्बन्धित महाशाखा प्रमुख सदस्य सचिव रहनेछन् ।

इजाजत विना राइड शेयरिङ सञ्चालन गरे कानुन अनुसार कारबाहीको व्यवस्था छ । नियमावली बमोजिम सेवा प्रयोजन थप नगरी सेवा सञ्चालन गरे जरिवाना लाग्ने व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सेवाग्राही र नागरिकले चिन्ने गरी राइड सेयरिङ सेवा प्रदायकका साधनमै प्रष्ट पहिचान हुनुपर्ने बताएका छन् ।

उनले सडकका किनारामा रोकिएका सवारी साधनलाई पठाओ, टुटल, इन्ड्राइभ वा याङ्गो भनेर मानिसहरु सोध्न पुग्ने र झुक्किने गरेको भन्दै आम सर्वसाधारणले टाढैबाट चिन्न सक्ने गरी प्रष्ट पहिचान हुनु जरुरी रहेको बताएका छन् ।

अहिले भनिएको संकेत अझै प्रष्ट नरहेको भन्दै सिटौलाले यसबारे आफूहरु गण्डकी प्रदेश सरकारसँग थप छलफल गर्ने बताए ।

कति लाग्छ शुल्क ?

दुई पाङ्ग्रेको वार्षिक सेवा शुल्क ५ हजारबाट घटाएर २ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने चार पाङ्ग्रेको वार्षिक सेवा शुल्क २० हजारबाट घटाएर १० हजार रुपैयाँ तोकिएको छ ।

सेवा प्रदायक कम्पनीले हरेक कारोबारको १ प्रतिशतको सट्टा अब २ प्रतिशत रकम प्रदेश सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ ।

अनुमति नलिई चलाएमा १ लाख रुपैयाँ जरिवाना तोकिएको छ भने अफलाइन यात्रु ओसारेमा ट्राफिक प्रहरीको सिफारिसमा दुई पाङ्ग्रेलाई ४ हजार रुपैयाँ र चार पाङ्ग्रेलाई १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था थपिएको छ ।

योसँगै गण्डकीमा निश्चित मापदण्ड पूरा गरेर निजी सवारी साधनले पनि भाडाका यात्रु बोक्न पाउने भएका छन् ।

राइड शेयरिङ सेवा सुरु गर्नुअघि प्रदेश सरकारबाट इजाजत लिनुपर्छ । नियमावलीमा राइड शेयरिङ, सेल्फ ड्राइभ सेवा दिने संस्थाले अनुमति र नवीकरणको व्यवस्था छ ।

अनुमति लिँदा दुई पाङ्ग्रे सवारीले २५ हजार तिर्नुपर्छ भने चार पाङ्ग्रेले ५० हजार तिर्नुपर्छ । दुई वटै सेवा दिन चाहने कम्पनीले ७० हजार रुपैयाँ तिरेर अनुमति लिनुपर्छ । कम्पनी बाहेक सवारी धनीले पनि छुट्टै शुल्क तिर्नुपर्ने व्यवस्था नियमावलीमा छ ।

दुई पांग्रे र चार पांग्रे दुवै सवारीले सिसी अनुसार नवीकरण शुल्क र सोही अनुसार थप शुल्क लाग्नेछ ।

आर्थिक ऐनमा राइड शेयरिङ वा सेल्फ ड्राइभ सेवामा आबद्ध हुने सवारी धनीले प्रति सवारी प्रति वर्ष सवारी साधनको नवीकरण शुल्क छुट्टै तोकेको खण्डमा सोही अनुसार शुल्क तिर्नुपर्ने व्यवस्था छ ।

यसरी चलाउनका लागि दर्ता गरेपछि सवारी साधन संख्या हेरफेर भए तोकिएको समयभित्र इजाजतपत्र अद्यावधिक गर्नुपर्छ ।

Skip This