गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभर सार्वजनिक यातायात बन्दको घोषणा

574
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध यातायात व्यवसायिले देशव्यापी आन्दोलन गर्ने भएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्स समितिको नामबाट आइतबार एक विज्ञप्ति जारी गर्दै जेठ १९देखि देशव्यापी रुपमा सार्वजकि यातायात बन्द गर्न आह्वान गरिएको छ ।

गण्डकी प्रदेश सरकारले राइडर सेयरिङ नियमावली जारी गर्दै निजी प्रयोजनको लागि खरिद गरिएका पुराना १० वर्षे २ पाङग्रे सवारी साधन, १५ वर्ष पुराना निजी ४ पाङ्ग्रे सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्नसक्ने व्यवस्था गरेको छ ।

उक्त व्यवस्था संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ बा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित भएको यातायात व्यवसायीले बताएका छन् ।

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को ३१ वैशाखको निर्णय गरी सोही दिन राजपत्रमा राइड सेयरिङ नियमावली प्रकाशित गरेको थियो । निजी सवारी साधनलाई भाडामा सञ्चालन गर्ने गरि नियमावली बनाई कार्यान्वयन गर्न लागेको भन्दै गण्डकी प्रदेश सरकार, संघीय सरकारका सम्बन्धित मन्त्रालहरुयमा माग पत्रसहित पटक पटक ध्यानाकर्षण पत्र बुझाउँदा पनि माग सम्बोधन नभएको भन्दै अनिश्चितकालिन सार्वजनिक यातायात बन्द आह्वान गरेका हुन् ।

यातयात व्यवसायी, मजदुरका समस्या राखि ७ बुँदे माग पत्र नेपाल सरकार समक्ष पेश गरेको गरेको व्यवसायीले बताएका छन् ।
सरकारले ७ बुँदे माग सुनुवाइ नगरेकोले बाध्य भएर १९ जेठदेखि सवारी साधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल, ढुवानी व्यवसायी महासंघ नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, अखिल नेपात यातायात मजदुर संघ र एकीकृत यातायात मजदुर संगठनले संयुक्त रुपमा यातायात बन्द आह्वान गरेका हुन् ।