
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर-५ मा आफूसँग प्रतिस्पर्धा गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहप्रति कटाक्ष गरेका छन्।
शनिबार ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा रमाउनेहरूलाई ‘बतासे अण्डा’ जस्तै भएको बताए।
‘मेरो ठाउँमा पनि केही ठुटे सिंह लिएर पुग्या छन्, सिंगौरी खेल्न,’ ओलीले भने, ‘मैले धेरै केही भन्नुपर्दैन, अण्डा दुई प्रकारका हुन्छन्, एउटा बतासे, एउटा साँच्चैको अण्डा। बतासे अण्डाबाट चल्ला निस्किँदैन।’
अध्यक्ष ओलीले नयाँ भनिएका शक्तिहरूले मोबाइल र सामाजिक सञ्जालको दुरुपयोग गरेर देशमा भडखालो मच्चाउन खोजेको आरोप लगाए।
उनले भने, ‘यी बतासे अण्डाबाट केही निस्किनेवाला छैन। यी बतासका खेती गरिरहेका छन्। यिनीहरूसँग संगठन छैन, उद्देश्य छैन, विचार छैन। भोलि उठी कहाँ जाने केही थाहा छैन।’
ओलीले नयाँ शक्तिहरूसँग देश बनाउने कुनै योजना नभएको र उनीहरू मोबाइलको भरमा मात्र राजनीति गरिरहेको जिकिर गरे।
‘एउटा मोबाइल भन्ने भाँडो, त्यही मोबाइल भन्ने भाँडोबाट भडखालो मच्चाएको छ देशमा,’ ओलीले आक्रोश पोखे, ‘उल्टो जोत्न जान्या छ, आगो बाल्न जान्या छ, देश बिगार्न र भड्काउन जान्या छ। यस्तो कुरालाई क्रान्ति भनेर महिमा मण्डन गरिएको छ।’
यी शक्तिहरू जनतासँग नजोडिएको र हावाको भरमा राजनीति गरिरहेको उनको दाबी छ। ‘यी आकासे खेती हुन्, धर्तीमा यिनीहरू जनतासँग पुगेका छैनन्,’ ओलीले भने।
कार्यक्रममा अध्यक्ष ओलीले ओखलढुंगामा एमालेको जित सुनिश्चित रहेको भन्दै उम्मेदवार अस्मिता थापालाई जिताउन आग्रह गरे।
‘अस्मिताले हार्नु भनेको १६५ स्थान मध्ये एउटा ठाउँमा देश हार्नु हो, एउटा पनि ठाउँमा देश हार्न हुँदैन,’ ओलीले भने।








प्रतिक्रिया