सर्लाही पाँच दिन बसेर काठमाडौं फर्किए थापा


मलंगवा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पाँच दिनसम्म आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर शुक्रबार काठमाडौं फर्किएका छन् ।

आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिएका थापा आफ्नो निर्वाचन क्षेत्रमा एक दर्जन बढी कार्यक्रममा सरिक भएर शुक्रबार काठमाडौं फर्किएका हुन् ।

माघ १२ गते सर्लाही आइपुगेका थापाले पाँच दिनसम्म क्षेत्र नं ४ को बलरा, गोडैता, विष्णु, रामनगर, धनकौल र बरहथवामा आयोजित एक दर्जन बढी अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गरे ।

पाँच दिनसम्म आफ्नो चुनाव क्षेत्रमा बसेका थापाले केही निर्वाचित वडाध्यक्ष, प्रदेशसभा सदस्यका प्रत्यासी र अन्य नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका छन् । थापा आफू तीनपटक निर्वाचिन काठमाडौं ४ छाडेर यो पटक कोर मधेसमा पर्ने सर्लाही ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न आइपुगेका छन् ।

थापाले काठमाडौं फर्किनुअघि शुक्रबार सदरमुकाम मलंगवामा पत्रकारसँग कुरा गर्दै आफू उम्मेदवारी दर्तापछि सर्लाही आउँदै गर्दा मनमा अनेक दुविधा बोकेर आए पनि अहिले फर्किने बेला उत्साहित भएर फर्किएको प्रतिक्रिया दिएका छन् ।

पाँच दिनसम्म दर्जन बढी कार्यक्रमलाई सम्बोधन गरेका थापाले प्रायः कार्यक्रममा फागुन २१ पछि पाँच वर्षसम्मका लागि देशको सम्हाल्ने जिम्मेवारी कांग्रेसमा आउन लागेको बताए ।

नेपाली कांग्रेसबाट भावि प्रधानमन्त्रीको उम्मेदवारको रूपमा समेत अघि सारिएका थापाले सर्लाही–४ का जनताको सेवक भएर काम गर्ने वचन दिएका छन् । थापाले आफू पार्टी सभापति भएकाले केही दिन देशदौडाहमा निस्कनुपर्ने बाध्यत्मक अवस्थाले सर्लाही छाडे पनि घरदैलोका लागि पुनः फर्किएर आउने बताएका छन् ।

थापाले यहाँ पाँच दिनसम्म रहँदा आफ्ना सम्बोधनमा कुनै नेता तथा पार्टीप्रति आक्रोश तथा गाली व्यक्त गरेनन् । बरु उनले पिछडिएको सर्लाही ४ मा कृषि, शिक्षा, स्वास्थ्य, प्रविधिलगायत क्षेत्रमा के–के काम गर्न सकिन्छ भनेर आफूले अध्ययनका लागि टोली खटाइसकेको बताए ।