
सुर्खेत । कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित हुँदै गएका छन् ।
कर्णाली प्रदेश अस्पाताल सुर्खेतको तथ्याङ्कअनुसार २० वर्षमुनिका नसर्ने रोगका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका हुन् ।
बीस वर्षमुनिका ९५० जना बालबालिका मानसिक रोगसँग सम्बन्धित उपचाररत रहेका अस्पतालका सर्जन डा सुवास शर्माले जानकारी दिए ।
‘तीमध्ये साइकोसिस, अटिजमलगायत समस्या भएका व्यक्ति बढी देखिएका छन् । कम उमेरमा मानसिक स्वास्थ्य समस्या बढ्नु चिन्ताजनक विषय हो’, उनले भने ।
डा शर्माका अनुसार मुटुसम्बन्धी रोगका २७, मधुमेहका १०, अटिजम स्पेक्ट्रम डिसअर्डरका १०, दमका पाँच र क्यान्सरका एक जना बालबालिका उपचाररत छन् ।
अस्वस्थ जीवनशैली, पत्रुखानाको बढ्दो प्रयोग, शारीरिक गतिविधिको कमी, मानसिक तनाव र डिजिटल उपकरणको अत्यधिक प्रयोगले बालबालिकामा नसर्ने रोगको जोखिम बढेको उनले बताए ।
समयमा स्वास्थ्य परीक्षण, सन्तुलित आहार, नियमित व्यायाम तथा मानसिक स्वास्थ्यप्रति परिवार र विद्यालयको सहकार्य आवश्यक रहेको डा शर्माले उल्लेख गरे । सन्तुलित जीवनशैली र खानपान समस्या समाधानको उपयुक्त विकल्प भएको उनको भनाइ छ ।
यसैबीच, वीरेन्द्रनगर नगरपालिकाबाट विपन्न नागरिकलाई औषधि उपचारका लागि १८० जना सिफारिस गरिएको तथ्याङ्क छ । सरोकार भएकाहरूले बालबालिकामा नसर्ने रोगसम्बन्धी जनचेतना गाउँगाउँसम्म पु¥याउनुपर्नेमा जोड दिएका छन् ।
वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा युनिसेफ र सोसेक नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको सह–सिर्जना कार्यशालामा सहभागीहरूले नसर्ने रोगसम्बन्धी जनचेतना जगाउन सरोकार भएका निकायले अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।
युनिसेफका दिपीका श्रेष्ठले बालबालिकाको स्वास्थ्यजस्तो संवेदनशील विषयमा विभिन्न सरोकार भएकालाई एकैठाउँमा ल्याई सह–सृजना प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेकामा वीरेन्द्रनगर नगरपालिकालाई धन्यवाद दिए ।
उनले बालबालिकामा देखिँदै गएको नसर्ने रोग स्वास्थ्यसँग मात्र होइन, शिक्षा, पोषण, मानसिक स्वास्थ्य र जीवनशैलीसँग गहिरो रूपमा जोडिएका विषय भएको बताए । उनले गाउँगाउँसम्म सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
वीरेन्द्रनगर नगरपालिका उपप्रमुख नीलकण्ठ खनालले नसर्ने रोगसम्बन्धीको सचेतना आवश्यक रहेको भन्दै नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बालबालिकामा नसर्ने रोगका विषयमा सचेत बनाउनेगरी काम गर्नुपर्ने बताए ।








प्रतिक्रिया