बोर्ड अफ पिसमार्फत संयुक्त राष्ट्रसंघलाई विस्थापित गर्ने ट्रम्पको भनाइ


एजेन्सी । मंगलबार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बोर्ड अफ पिसले संयुक्त राष्ट्रसंघलाई विस्थापन गर्न सक्ने भनी दिएको सुझावका कारण संसारभरि चासो र चिन्ता बढेको छ ।

यो निकाय गाजाको पुनर्निर्माणको सुपरिवेक्षण गर्न बनाइएको हो र यसको अध्यक्षता ट्रम्पले अनिश्चितकालका लागि गर्नेछन् ।

कतिपयले यो बोर्ड ८० वर्षअघि विश्व शान्ति कायम गर्न स्थापना गरिएको संयुक्त राष्ट्रसंघलाई विस्थापित गर्ने ट्रम्पको एउटा माध्यम बन्न सक्ने आशंका गरेका छन् ।

ट्रम्पको यस टिप्पणीअघि नै कूटनीतिकर्मीहरूमा बोर्डको सम्भावित सदस्यता र १ अर्ब डलरमा बिक्रीमा राखिएको स्थायी सिटलाई लिएर अनेकौं चिन्ताहरू थिए । ट्रम्प स्विटजरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चमा सहभागी हुँदै गरेको र ग्रीनल्यान्डमाथिको उनको स्वामित्व दाबीका कारण नेटो सदस्य राष्ट्रहरूको चर्को आक्रोश सामना गरिरहेको बेलामा यी कुराहरू आएका हुन् ।

ह्वाइट हाउसले शुक्रबार एक संस्थापक कार्यकारी बोर्डको घोषणा गरेको छ जसमा ट्रम्पका ज्वाइँ जेरेड कुश्नर, विदेशमन्त्री मार्को रुबियो, विशेषदूत स्टिभ विट्कफ र बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर रहेका छन् ।

सीएनएनले प्राप्त गरेको विधानको मस्यौदा अनुसार, ट्रम्पले बोर्डको अनिश्चितकालीन अध्यक्षका रूपमा सेवा गर्नेछन् । त्यो उनको राष्ट्रपतिको दोस्रो कार्यकालभन्दा पनि लामो समयसम्म रहन सक्छ ।

ट्रम्पलाई स्वैच्छिक राजीनामा वा कार्यकारी बोर्डको सर्वसम्मत निर्णयबाट अक्षम देखिएको खण्डमा मात्र प्रतिस्थापन गरिनेछ । एक अमेरिकी अधिकारीका अनुसार, भविष्यका अमेरिकी राष्ट्रपतिले ट्रम्पका अतिरिक्त बोर्डमा अर्को अमेरिकी प्रतिनिधि पनि नियुक्त गर्न सक्नेछन् ।

स्रोतका अनुसार, ट्रम्पले हालैका दिनमा दर्जनौं देशहरूलाई बोर्डमा सामेल हुन निमन्त्रणा पठाएका छन् र यसै हप्ता डाभोसमा एक हस्ताक्षर समारोह आयोजना गर्ने अपेक्षा गरिएको छ ।

कुन–कुन देशहरू बोर्डमा वास्तवमै सामेल हुनेछन् भन्ने प्रश्न अझै कायमै छ । संयुक्त अरब अमिरात (यूएई) र बहराइन जस्ता केही देशले आफ्नो सहभागिता पुष्टि गरे पनि अरूले अझै प्रतिबद्धता जनाएका छैनन् र फ्रान्स जस्ता केही देशले यसलाई अस्वीकार गरेका छन् ।

रुसलाई पनि सामेल हुन निमन्त्रणा दिइएका राष्ट्रहरूमा राखिएको छ । यसले सक्रिय रूपमा युद्ध लडिरहेको देश शान्ति स्थापनाको प्रयासमा कसरी संलग्न हुन सक्छ भन्ने चिन्ता बढाएको छ । चीन र बेलारुसलाई पनि निमन्त्रणा गरिएको छ ।

‘पुटिनले पक्कै पनि राष्ट्रसंघलाई कमजोर पार्न र अमेरिकी गठबन्धनहरूमा थप विभाजन ल्याउन बोर्ड अफ पिसको सदस्यता प्रयोग गर्नेछन्,’ राष्ट्रसंघका लागि पूर्व अमेरिकी उप–राजदूत रोबर्ट वुडले बताए ।

‘पुटिन शान्तिप्रिय व्यक्ति होइनन् र उनी नाममा शान्ति भएको कुनै पनि संस्थामा अटाउन सक्छन् जस्तो मलाई लाग्दैन,’ बेलायती विदेशमन्त्री यभेट कुपरले मंगलबार भनिन् ।

केही अधिकारीहरूमा बोर्डको व्यापक विधानले राष्ट्रसंघको कामलाई विस्थापन गर्ने प्रयास गरेकोमा ठूलो चिन्ता छ ।

राष्ट्रसंघलाई ट्रम्पले लगातार आलोचना गर्दै आएका छन् । निमन्त्रणासँगै पठाइएको विधानको मस्यौदामा गाजाको उल्लेख समेत गरिएको छैन ।

विधानले बोर्ड अफ पिसलाई स्थायित्व प्रवर्द्धन गर्ने, भरपर्दो र कानुनी शासन पुनःस्थापना गर्ने र द्वन्द्वबाट प्रभावित वा जोखिममा रहेका क्षेत्रमा स्थायी शान्ति सुनिश्चित गर्ने लक्ष्य राख्ने अन्तर्राष्ट्रिय संस्था भनी वर्णन गरेको छ ।

ट्रम्पले मंगलबार राष्ट्रसंघमाथि प्रहार गर्दै आफ्नो बोर्डले यस अन्तर्राष्ट्रिय निकायलाई विस्थापन गर्न सक्ने भन्दै सो उद्देश्यको पुष्टि गरेको देखियो ।

‘संयुक्त राष्ट्रसंघ धेरै उपयोगी छैन । म राष्ट्रसंघको सम्भाव्यताको ठूलो प्रशंसक हुँ तर यसले कहिल्यै आफ्नो क्षमता अनुरूप काम गर्न सकेन,’ ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बताए, ‘मैले सुल्झाएका हरेक युद्ध राष्ट्रसंघले सुल्झाउनुपर्थ्यो । म उनीहरूकहाँ कहिल्यै गइनँ, जाने सोच समेत बनाइनँ ।’

फ्रान्सले बोर्डको सदस्यता अस्वीकार गरेको छ र यसले राष्ट्रसंघको समानान्तर छुट्टै प्रणाली सिर्जना गर्ने चिन्ता व्यक्त गरेको छ ।
‘विधान पढ्दा यो गाजामा मात्र लागू हुँदैन जबकि हामीले राष्ट्रसंघको सुरक्षा परिषदमा मतदान गरेको प्रस्तावले विशेषगरी गाजा र पश्चिम एसियालाई लक्षित गरेको थियो,’ फ्रान्सका विदेश मन्त्रालयका प्रवक्ता पास्कल कन्फाभ्रेक्सले सीएनएनलाई बताए, ‘दोस्रो कुरा, यसले राष्ट्रसंघको बडापत्रसँगको तर्कसंगतताका बारेमा गम्भीर चिन्ता खडा गर्छ ।’

आयरल्यान्डकी विदेशमन्त्री हेलेन म्याकएन्टीले ट्रम्पको निमन्त्रणालाई आफ्नो देशले गम्भीरतापूर्वक विचार गर्ने बताइन् । ट्रम्पले प्रस्ताव गरेको निकायको कार्यक्षेत्र गाजा शान्ति योजनाको कार्यान्वयनभन्दा व्यापक हुने टिप्पणी उनले गरिन् ।

‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न राष्ट्रसंघसँग अद्वितीय जनादेश छ । यो पूर्ण नहुन सक्छ तर राष्ट्रसंघ र अन्तर्राष्ट्रिय कानुनको प्रधानता पहिलेभन्दा धेरै महत्त्वपूर्ण छ,’ उनले एक विज्ञप्तिमा बताइन् ।

मंगलबार राष्ट्रसंघका शीर्ष मानवीय अधिकारी टम फ्लेचरले ट्रम्पको बोर्ड अफ पिसले आफ्नो संस्थाको स्थान नलिने बताए ।
पूर्व अमेरिकी मध्यस्थकर्ता आरोन डेभिड मिलरले राष्ट्रसंघको काम विस्थापन गर्ने बोर्डको क्षमतामा शंका व्यक्त गरे ।

‘यो सबै कुरा पृथ्वीको वास्तविकतासँग नभई टाढाको आकाशगंगासँग जोडिएको छ,’ उनले सीएनएनलाई बताए, ‘मैले यो कसरी कार्यान्वयन हुन्छ भन्ने देखिरहेको छैन । द्वन्द्वहरू बाह्य संस्थाहरूबाट नभई दुई पक्षबीच काम गर्ने मध्यस्थकर्ताहरूबाट समाधान हुन्छन् ।’

राष्ट्रसंघका त्रुटि र कार्यक्षमताको अभावका बावजुद सन् १९४६ देखि अस्तित्वमा रहेको संस्थालाई कसरी विस्थापन गर्न सकिन्छ जसमा पाँच स्थायी सदस्यसहितको सुरक्षा परिषद् छ र जसले दशकौंदेखि धेरै राम्रो मानवीय र शान्ति स्थापनाको कार्य गरेको छ ?’ मिलरले सोधे ।

‘तपाईं यस संस्थासँग प्रतिस्पर्धा गर्न सक्नुहुन्न,’ उनले बताए, ‘यो धेरै ठूलो छ, टिकाउ छ र अन्तर्राष्ट्रिय परिदृश्यको अभिन्न अंग हो ।’

बोर्डले राष्ट्रसंघलाई विस्थापन गर्ने कुनै पनि प्रयासलाई धेरैजसो सदस्य राष्ट्रहरूले विरोध गर्ने रोबर्ट वुडले बताए ।

‘अन्तर्राष्ट्रिय रूपमा द्वन्द्व समाधान संयन्त्रको रूपमा बोर्डको भविष्य यसले गाजामा के उपलब्धि हासिल गर्न सक्छ भन्ने कुरामा निर्भर हुनेछ,’ उनले सीएनएनलाई बताए ।

बोर्डका सदस्यहरूको कार्यकाल तीन वर्षको हुनेछ । उनीहरू स्थायी सिट चाहन्छन् भने त्यसको चर्को मूल्य अर्थात् १ अर्ब डलरको योगदान गर्नुपर्नेछ । एक अमेरिकी अधिकारीका अनुसार, यो १ अर्ब डलरको प्रतिबद्धता प्रवेश शुल्क होइन र प्रत्येक देशका लागि अनिवार्य कोषको दायित्व पनि छैन । जसले परियोजनाहरूमा महत्त्वपूर्ण योगदान गर्छन् र उचित रेखदेख गर्न चाहन्छन्, उनीहरू यसमा सहभागी हुन सक्ने अधिकारीले बताए ।

‘१ अर्ब डलर खर्च गर्न सक्ने हरेक देश अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति र सुरक्षाको रेखदेख गर्नका लागि उपयुक्त नहुन सक्छन्,’ वुडले बताए ।

केही कूटनीतिकर्मीहरूले यो चर्को शुल्कबारे अध्ययन गर्नुपर्ने बताएका छन् ।

निमन्त्रणा पाएको एक देशका राजदूतले भने, ‘हामी सामेल हुन चाहन्छौं तर हामीले यसको अध्ययन गर्नुपर्छ किनकि यसमा वित्तीय प्रतिबद्धता आवश्यक छ जुन हाम्रा लागि धेरै ठूलो रकम हो । यसका लागि हाम्रो आर्थिक टोली र बजेट प्रक्रियाबाट विस्तृत अध्ययन आवश्यक हुनेछ ।’

एक अमेरिकी अधिकारीले यो रकम गाजाको पुनर्निर्माणमा खर्च गरिने दाबी गरेका छन् । यसबारेमा निर्माण कम्पनीहरूसँग प्रारम्भिक छलफल भए पनि कुनै योजना अन्तिम चरणमा पुगिसकेको छैन ।

मिलरले यस शुल्कलाई ट्रम्पको मार–ए–लागो क्लबमा सामेल हुनु जस्तै भएको टिप्पणी गरे ।

‘कुनै पनि लोकतान्त्रिक प्रक्रिया भएको देश ट्रम्पको भिटो स्वीकार गर्दै १ अर्ब डलर तिरेर यसमा सहभागी हुन सक्ला भनी म कल्पना गर्न सक्दिनँ,’ उनले भने ।

तैपनि, निमन्त्रणा नपाएका केही देशहरूले पनि यसमा सहभागी हुन निजी रूपमा चासो देखाइरहेका छन् र बोर्डको हिस्सा बन्न १ अर्ब डलरको शुल्क तिर्न समेत तयार रहेको बुझिएको छ ।