
काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसमक्ष ‘अन्तिम विकल्प’ सहितको सहमतिको प्रस्ताव अघि सारेका छन् ।
पार्टी विभाजन रोक्न र एकता कायम राख्न भन्दै महामन्त्रीद्वयले कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत ८ बुँदे सहमतिको खाका पठाएका हुन् ।
प्रस्तावको मुख्य बुँदामा महामन्त्री गगन थापालाई आगामी निर्वाचनका लागि भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुपर्ने र सभापति शेरबहादुर देउवा कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने उल्लेख छ।
सहमतिको नयाँ मोडेलअनुसार अबदेखि संसद्का उम्मेदवारहरूको टिकटमा सभापति देउवाको सट्टा कार्यवाहक सभापति खड्काले हस्ताक्षर गर्ने र अर्को महाधिवेशन नहुञ्जेल पार्टीका मुख्य निर्णय गर्न ४-५ जना नेताहरूको ‘हाई कमान्ड’ बनाउने प्रस्ताव गरिएको छ ।
यसअघि आज बिहान सभापति देउवाको निवास महाराजगन्जमा भएको वार्तामा कुनै निष्कर्ष निस्कन नसकेपछि महामन्त्रीद्वयले यो प्रस्ताव पठाएका हुन् ।
प्रस्तावमा आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्ने र विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको वैचारिक पुँजीका रूपमा स्वीकार गर्नुपर्ने सर्तहरू पनि राखिएका छन् ।
संस्थापन पक्षका प्रवक्ता प्रकाशशरण महतले सभापति देउवा टिकटमा हस्ताक्षर गर्ने लगायतका कतिपय विषयमा लचिलो हुन तयार रहेको सङ्केत दिएपछि सानेपास्थित पार्टी कार्यालयमा छलफल घनीभूत बनेको छ ।
यसैबीच, विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया भने केही ढिलाइ भएको छ ।
मनोनयन दर्ताको अन्तिम समयसम्म सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी परेको छ । सहमति खोज्ने प्रयास जारी रहेका कारण उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन र मतदानको कार्यतालिका प्रभावित भएको छ ।
१५औं महाधिवेशन आगामी वैशाखमा गर्ने तय भइसकेको अवस्थामा अहिलेको विशेष महाधिवेशनलाई पार्टी एकताको आधार बनाउन दुवै पक्ष प्रयासरत छन् ।








प्रतिक्रिया