
काठमाडौं । सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात गर्ने प्रक्रिया खुला गरेको छ ।
यस्ता औद्योगिक वस्तु कच्चा पदार्थको रुपमा आयात गर्दा आयातकर्ताले उद्योग विभागको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गर्दै आयात गर्ने प्रक्रिया खुला गरिएको छ ।
सरकारले चालू आर्थिक वर्ष २०८२/०८३ का लागि औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग हुने सुपारी, केराउ र मरिचको आयात खुला गर्ने निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै उत्पादनमूलक उद्योगलाई केराउ, सुपारी, सेतो मरिच र कालो मरिचलाई कच्चा पदार्थको रूपमा आयात गर्न अनुमति दिइएको हो ।
सरकारले उत्पादनमुलुक उद्योगलाई औद्योगिक प्रयोजनको लागि मात्र कच्चा पदार्थको रुपमा केराउ(एचएस कोड ०७१३.१०.१०), सुपारी (एचएस कोड ०८०२.८०.००) र सेतो मरिच (एचएस कोड ०९०४.११.२०) र कालो मरिच (एचएस कोड ०९०४.११.३०) लाई आर्थिक वर्ष २०८२/८३ को लागि आयात गर्न अनुमति प्रदान गरेको हो ।
सरकारले उक्त व्यवस्थाअनुसार अनुमति दिंदा उद्योग विभागबाट आवश्यक जाँचबुझ तथा औद्योगिक कच्चा पदार्थको उपलब्धता, आवश्यकता र औचित्य र आयात गर्न आवश्यक परिमाणको साथै आयात गरिएको कच्चा पदार्थ औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थको रुपमा मात्र सदुपयोग भएको सुनिश्चितता उद्योग विभागबाट हुने गरी सम्बन्धित उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थको परिमाण यकिन गरी तोकिएको मालवस्तु आयातको लागि बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सिफारिश गर्ने व्यवस्था गरेको छ ।
नयाँ स्थापना भएका उद्योगको हकमा भने उद्योग दर्ता प्रमाणपात्रको प्रतिलिपी, मूल्य अभिवृद्धि कर, स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्रको प्रतिलिपी, उद्योगको उत्पादन क्षमता, उद्योगको वार्षिक स्वीकृत स्किमको प्रतिलिपी, चालु आर्थिक वर्षमा सञ्चालन हुने र उत्पादन लक्ष्यको स्वघोषणा लगायतको विवरण आवश्यकताको आधारमा आयात गर्न अनुमति प्रदान गर्ने व्यवस्था गरेको छ ,
यस्तै विगतदेखि सञ्चालनमा रहेका उद्योगका हकमा भने उद्योग दर्ता प्रमाणपात्र, मूल्य अभिवृद्धि कर, स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्रको प्रतिलिपी, पछिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपी, उद्योगको उत्पादन क्षमता, सञ्चालन अवस्था, चालु आर्थिक वर्षमा सञ्चालन हुने र उत्पादन लक्ष्यको स्वघोषणा, उद्योगको वार्षिक स्वीकृत स्किमको प्रतिलिपी, अघिल्लो आर्थिक वर्षमा कच्चा पदार्थ आयात गरेको भए आयातको परिमाण, त्यसको उपयोगबाट भएको उत्पादन र बचत परिमाणलगायतको विवरणको आधारमा आयात गर्न अनुमति प्रदान गर्ने व्यवस्था गरिएको छ ।
यसअघि २०८१ भदौं ७ गते र फागुन १ गते राजपत्रमा प्रकाशित गरिएको सूचना भने खारेज भएको राजपत्रमा उल्लेख गरिएको छ ।
सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै औद्योगिक आवश्यकता र औचित्यका आधारमा यो अनुमति दिने निर्णय गरेको राजपत्रमा उल्लेख छ ।
आयात प्रक्रियालाई व्यवस्थित बनाउन उद्योग विभागले सम्बन्धित उद्योगको उत्पादन क्षमता, कच्चा पदार्थको उपलब्धता र आवश्यकताको अध्ययन गर्ने छ ।
चालु आर्थिक वर्षको लागि परिमाणात्मक बन्धेजसहित आयात गर्ने बाटो नखुल्दा पछिल्लो समयमा नेपालमा अवैद्य बाटोमार्फत मरिच, केराउ, सुपारी र छोकडाजस्ता वस्तु आयात भइरहेका छन् ।
कागजी रुपमा औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोग गर्नका लागि मरिच, सुपारी र केराउ परिमाणात्मक बन्धेजसहित आयात गर्न दिने सरकारको नीति भएपनि आयात हुने यस्ता सामग्री फिनिस उत्पादन गर्ने उद्योगभन्दा बाहिर बजारमा प्याकेजिङ गरेर बिक्री हुँदै आएको छ ।
पछिल्लो समयमा गत् आर्थिक वर्ष २०८१/८२ को लागि २०८१ फागुन १ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर औद्योगिक क्षेत्रमा आवश्यक पर्ने कच्चा पदार्थको रुपमा खपतका लागि परिमाणात्मक बन्धेजसहित मरिच, केराउ र सुपारीको आयात फुकुवा गरेको थियो ।










प्रतिक्रिया