विशेष महाधिवेशन पार्टीको हितमा छैन, नेतृत्वका कारण कांग्रेस फुट्दैन: महत


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरुले पार्टी एकतावद्ध भएर जाओस् भन्ने चाहेको बताएका छन् ।

मंगलबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताए ।

उनले संस्थापन पक्षले पार्टीलाई एकतावद्ध बनाउन निकै लचकताका साथ संवाद गरिरहेको उल्लेख गर्दै पार्टी नेतृत्वको कारण पार्टी विभाजित नहुने स्पष्ट पारे । उनले काठमाडौंमा जारी दोस्रो विशेष महाधिवेशन पार्टी र मुलुकको हितमा नरहेको टिप्पणी पनि गरे।

‘हामी पार्टी एकतावद्ध भएर जाओस् भन्ने चाहन्छौँ । कुरा पनि भइरहेको छ । र हाम्रो कारणले, पार्टी नेतृत्वको कारणले पार्टी फुट्दैन । पार्टी विभाजन हुँदैन । त्यो पार्टीको हितमा छैन, नेपाली जनताको हितमा छैन र नेपालको हितमा छैन । त्यसकारण हामी एकदमै लचकताका साथ संवाद गरेर पार्टीलाई एकजुट बनाउन कोशिस गरिरहेका छौँ । उहाँहरुले पनि त्यही लचकताका साथ आउनुपर्‍यो।’

उनले पार्टी एकतालाई जोगाइराख्न विशेष महाधिवेशन पक्षधरलाई लचकता अपनाउन अपिल समेत गरे ।