विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको माग गर्दै नाराबाजी, संस्थापन पक्षले अल्झाउन खोजेको आरोप


काठमाडौं । भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्द सत्र जारी रहँदा नाराबाजी भएको छ ।

विशेष महाधिवेशनलाई संस्थापन पक्षले अल्झाउन खोजिरहेको भन्दै महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले नाराबाजी गरेका हुन् ।

उनीहरूले सभापति शेरबहादुर देउवा र संस्थापन पक्षविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

‘केही विचौलिया नेताले विशेष महाधिवेशनलाई अल्झाउन खोजिरहेकाले खबरदारी गरिरहेका छौं,’ नाराबाजीमा सहभागी विशेष महाधिवेशनका एक प्रतिनिधिले भने, ‘ नीति र नेतृत्व परिवर्तन भएन भने हामी दयाँबाया लाग्दैनौं ।’

उनीहरूले विशेष महाधिवेशनमा आफूहरू भात खान मात्र नआएको र संस्थापन पक्षसँग लत्रेर सहमति गरे आफूहरूले गगन लगायतका नेतालाई पनि नछाड्ने उनीहरुको चेतावनी छ ।

‘विशेष महाधिवेशनमा हामीहरु गाउँबाट भात खान आएका होइनौं, नीति र नेतृत्व परिवर्तन गरेर आगामी निर्वाचनका लागि नयाँ जोशका साथ जानु पर्छ,’ उनले भने, ‘ तर देउवा लगायतकाले हामीलाई पेल्ने र लतार्न खोजिरहेका छन्, खबरदार गगनहरु लत्रियौंला ।’