देउवासँगको भेटबाट बाहिरिए शेखर, भने-‘पार्टी फुट्ने भयो, मिलाउनुस्’


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजनको खतरा बढेको भन्दै सभापति शेरबहादुर देउवालाई तत्काल मिलाएर अघि बढ्न सुझाव दिएका छन् ।

सोमबार महाराजगञ्जस्थित देउवा निवास पुगेर कोइरालाले पार्टीलाई फुटबाट जोगाउन र असन्तुष्ट नेताहरूलाई कारबाही नगर्न आग्रह गरेका हुन् ।

देउवाले सोमबार दिउँसो ३ बजेका लागि आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका थिए । उक्त बैठक सुरु हुनुअघि डा. कोइराला, उपसभापति बद्री पाण्डे, सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजालसहित देउवा निवास पुगेका थिए । करिब ४५ मिनेट भएको छलफलमा कोइरालाले पार्टी गम्भीर मोडमा पुगेको भन्दै नेतृत्वलाई जिम्मेवार बन्न ध्यानाकर्षण गराएका छन् ।

भेटका क्रममा कोइरालाले विशेष गरी गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरु घिमिरेलगायतका नेताहरूलाई पार्टीको मूलधारमा फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिएको स्रोतको भनाइ छ ।

उनले कुनै पनि नेतामाथि कारबाहीको निर्णय नगर्न र भरसक संवादमार्फत मिलाउने उपाय खोज्न देउवालाई आग्रह गरे ।

‘पार्टी फुटतिर जाँदैछ, यसलाई जोगाउने जिम्मेवारी सभापतिको हो,’ कोइरालाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘गगन-विश्वप्रकाशहरूलाई बाटो बन्द गर्ने होइन, मिलाएर लैजाने लचकता देखाउनुपर्छ ।’

जवाफमा सभापति देउवाले आफू पनि पार्टी फुट्न नदिने पक्षमा रहेको र समस्या समाधानका लागि लचक हुन तयार रहेको बताएका छन् । देउवानिकट स्रोतका अनुसार उनी आजै कारबाही गरिहाल्ने मुडमा छैनन् । देउवाले मध्यमार्गी बाटो खोज्न र पार्टीमा सहमतिको वातावरण बनाउन आफू सकारात्मक रहेको आश्वासन कोइराला टोलीलाई दिएका छन् ।

अहिले महाराजगञ्जमा देउवा पक्षीय केन्द्रीय सदस्यहरूको बैठक तयारी भइरहेको छ भने त्यहाँ झन्डै ८० जना केन्द्रीय सदस्यहरू भेला भइसकेका छन् । देउवाले आफ्नो समूहसँगको छलफलपछि मात्रै थप कदम चाल्ने बुझिएको छ ।