
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्द सत्र सोमबार बिहान ८ बजेबाट सुरु हुने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा जारी उद्घाटन सत्रका क्रममा यो जानकारी दिइएको हो ।
उद्घाटन सत्र अन्तिम चरणमा पुगेको छ ।
यसैबीच विशेष महाधिवेशनको पक्षमा महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया पनि तीव्र रूपमा अघि बढिरहेको छ।
कार्यक्रमस्थलमा दिइएको जानकारीअनुसार हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्।
बिहान सवा ८ बजेबाट सुरु भएको नाम दर्ता प्रक्रियामा देशभरबाट रहेका कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ३ सय ४० जनाले सहभागिता जनाइसकेका छन्। दर्ता सहज बनाउन सातै प्रदेशका लागि छुट्टाछुट्टै डेस्कको व्यवस्था गरिएको छ।
भृकुटीमण्डपको मूलगेटसँगै रहेका स्टलहरूबाट नाम दर्ता भइरहेको छ।
नाम दर्ताका लागि महाधिवेशन प्रतिनिधिहरूले परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइजको फोटो तथा एक हजार रुपैयाँ दर्ता शुल्क अनिवार्य रूपमा साथमा ल्याउन अनुरोध गरिएको छ।
यसअघि गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए । कांग्रेस विधानको दफा १७ (२) अनुसार कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।
संस्थापन पक्षले उक्त मागलाई बेवास्ता गरेपछि विधानको यही प्रावधानलाई आधार मानेर पार्टीलाई पुनर्जागरणतर्फ लैजान महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा दुईदिने विशेष महाधिवेशन आजबाट सुरु भएको हो ।








प्रतिक्रिया