
एजेन्सी । ४७ वर्षअघि इरानमा एउटा क्रान्ति भएको थियो । त्यसले अमेरिकाको सहयोगी इरानी राजतन्त्रलाई हटाएर अमेरिकाविरोधी धर्मतन्त्र (थ्योक्रेसी) स्थापना गर्यो । आज आएर इरानको इस्लामी गणतन्त्र एउटा प्रतिक्रान्तिको सँघारमा हुन सक्छ ।
शासनसत्ताहरू एउटै असफलताबाट मात्र ढल्दैनन्, विभिन्न दबाबको घातक संगमका कारण ढल्छन् भन्ने कुरा इतिहासले सुझाव दिन्छ । क्रान्ति सफल हुनका लागि पाँचवटा विशिष्ट परिस्थितिहरू आवश्यक हुन्छन् । वित्तीय संकट, विभाजित अभिजात वर्ग, विविधतापूर्ण विपक्षी गठबन्धन, प्रतिरोधको विश्वासिलो भाष्य र अनुकूल अन्तर्राष्ट्रिय वातावरण ती परिस्थिति हुन् । यस हिउँदमा सन् १९७९ पछि पहिलोपटक इरानको परिस्थितिले यी लगभग सबै पाँचवटा शर्तहरू पूरा गरेको छ ।
गत साता इरानी शहरहरूमा व्यापक प्रदर्शनहरू भइरहेका छन् र तिनको गति दिनप्रतिदिन बढ्दै गइरहेको छ । यी प्रदर्शनहरू वित्तीय संकटको प्रतिक्रियाका रूपमा सुरु भएका हुन् । राष्ट्रिय मुद्राको तीव्र अवमूल्यन र रित्तो ढुकुटी भएको राज्यमा असन्तुष्ट जनताले आन्दोलन गरिरहेका हुन् ।
अमेरिकी राजनीतिमा ३ प्रतिशतभन्दा बढीको मुद्रास्फीति दरले सरकारहरू ढाल्ने गर्छ । इरानको मुद्रास्फीति दर सबै क्षेत्रमा ५० प्रतिशतभन्दा बढी र खाद्यान्नमा ७० प्रतिशत छ जुन विश्वकै उच्चमध्ये एक हो । गत वर्ष डलरको तुलनामा इरानको मुद्रा ८० प्रतिशतभन्दा बढीले घटेको छ । सन् १९७९ मा एक अमेरिकी डलरको मूल्य ७० इरानी रियाल थियो । आज यसको मूल्य १४.७ लाख रियाल छ जुन ९९ प्रतिशतभन्दा बढीको अवमूल्यन हो ।
इरानी मुद्रा विनिमयको माध्यमभन्दा पनि राष्ट्रिय निराशाको दैनिक सूचक बनेको छ । र विगतका आर्थिक संकटहरूभन्दा विपरीत यस पतनले सबै वर्गीय रेखाहरू पार गरेको छ जसले बजारका व्यापारी र सम्पन्न वर्गका साथै गरिबहरूलाई पनि असर गरेको छ ।
इरानको जनसंख्या ९ करोड २० लाख छ । यो दशकौंदेखि विश्वव्यापी वित्तीय प्रणालीबाट अलगथलग पारिएको विश्वकै सबैभन्दा ठूलो जनसंख्या हुन सक्छ । मुद्रास्फीतिका अतिरिक्त, इरान स्थानीय भ्रष्टाचार, कुव्यवस्थापन र प्रतिभा पलायनबाट पीडित छ । युवा इरानीहरू उच्च बेरोजगारी र अर्ध–बेरोजगारीसँग संघर्ष गरिरहेका छन् । पुराना पुस्ताले आफ्ना पेन्सन कोषहरू ठूलो मात्रामा टाट पल्टेको पाएका छन् ।
थपिएका विश्वव्यापी प्रतिबन्ध र तेलको घट्दो मूल्य (जुन गत वर्ष २० प्रतिशतले घटेको थियो) ले गर्दा इरान चीनलाई निकै ठूलो छुटमा तेल बेच्न बाध्य छ । लोडसेडिङ र खटाएर मात्र पानी पाउने प्रणाली दैनिक जीवनको हिस्सा बनेका छन् ।
राज्य विघटनको दोस्रा शर्त अभिजात वर्गको उदासीनता हो । त्यो पनि इरानमा व्यापक रूपमा देखिएको छ । सन् १९७९ मा व्यापक वैचारिक गठबन्धनका रूपमा सुरु भएको व्यवस्था सन् २०२६ सम्म आइपुग्दा एक व्यक्तिको पार्टीमा खुम्चिएको छ । अहिले त्यो अली खमेनीको पार्टी बनेको छ । इस्लामी गणतन्त्रका संस्थापकमध्ये एक पूर्व प्रधानमन्त्री मिर होसेन मौसावीलाई १५ वर्षदेखि नजरबन्दमा राखिएको छ ।
सबै जीवित पूर्व राष्ट्रपतिहरूलाई मौन गराइएको छ वा पाखा लगाइएको छ । मोहम्मद खतामीमाथि पूर्ण मिडिया प्रतिबन्ध छ । महमूद अहमदीनेजादलाई किनारा लगाइएको छ र निगरानीमा राखिएको छ । हसन रुहानीलाई ८८ सदस्यीय एसेम्बली अफ एक्सपर्ट्स (सर्वोच्च नेता छान्ने धर्मगुरुहरूको समूह) मा उम्मेदवारी दिनबाट वञ्चित गरिएको छ ।
दशकौंदेखि नकारात्मक छनोट अर्थात् क्षमताभन्दा वैचारिक वफादारीलाई महत्त्व दिने र औसत क्षमतालाई पुरस्कृत गर्ने परिणामले इस्लामी शासनलाई खोक्रो बनाएको छ । यसको प्रभावले कुनै समय राज्यलाई प्रशासनिक मेरुदण्ड प्रदान गर्ने व्यावसायिक र प्राविधिकहरूलाई बिच्क्याएको छ । चाकडीबाजहरूद्वारा विस्थापित र दैनिक जीवनमा धर्मगुरुहरूको हस्तक्षेपले निसास्सिएको यस वर्गले धेरै अघि नै प्रणालीमाथिको विश्वास गुमाइसकेको छ ।

यसले मुद्रास्फीतिद्वारा आफ्नो सम्पत्ति नष्ट भएको र अक्षमताका कारण देश बर्बाद भएको हेरिरहेको छ । तेहरानमा पानी आपूर्तिको कुव्यवस्थापनले यस असफलतालाई स्पष्ट पारिदिएको छ ।
सन् १९८० को दशकको सोभियत संघ जस्तै इस्लामी गणतन्त्रले आफ्ना मान्यताहरू धेरै हदसम्म गुमाएको छ । यसका भित्री व्यक्तिहरूमध्ये थोरै प्रतिशत मात्र साँचो आस्थावान बाँकी छन् । बहुसंख्यक चाहिँ सम्पत्ति र विशेषाधिकारको लोभमा झुण्डिरहेका छन् । तेहरानमा राजनीतिशास्त्रका एक प्राध्यापकले यसलाई अझ स्पष्ट पारेका छन्, ‘क्रान्तिको आरम्भमा शासन ८० प्रतिशत विचारधारावादी र २० प्रतिशत ढोंगीहरू मिलेर बनेको थियो । आज यो ठ्याक्कै उल्टो छ ।’
सन् १९७९ को क्रान्तिमा बजारका व्यापारीहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए र वर्षौंसम्म इस्लामी गणतन्त्रका लागि मुख्य आधार र आर्थिक जगको रूपमा काम गरेका थिए । तर, हालका दशकहरूमा शासनले इस्लामी रिभोलुसनरी गार्ड कर्प्र्स (आईआरजीसी) लाई सैन्य–औद्योगिक परिसरमा परिणत गरेको छ । त्यहाँबाट धन र शक्तिका सञ्जालहरू प्रवाहित हुन्छन् ।
आठ वर्षसम्म शासनद्वारा बन्धक बनाइएका इरानी–अमेरिकी व्यवसायी सियामक नमाजीले इरानी राज्यलाई आईआरजीसी र यसका पूर्व सदस्यहरूको वर्चस्व रहेको प्रतिस्पर्धी माफियाहरूको झुण्ड जसको उच्चतम वफादारी राष्ट्र, धर्म वा विचारधाराप्रति नभई व्यक्तिगत सम्पत्ति आर्जनप्रति छ भनी कठोर आलोचना गरेका छन् । यस प्रणालीले शासनको वैचारिक एकतालाई मात्र कमजोर बनाएको छैन बरु परम्परागत व्यापारी वर्गलाई पनि विस्थापित गरेको छ । त्यसले गर्दा बजार समर्थनको स्तम्भबाट असन्तुष्टिको स्रोतमा परिणत भएको छ ।
आईआरजीसी कमान्डरहरूले महिलाहरूलाई बुर्का लगाउन कठोर रूपमा बाध्य पार्ने कामको निरीक्षण गर्छन् । तर, उनीहरूका छोरी र प्रेमिकाहरू विदेशमा हिजाब बिना नै देखिन्छन् ।
तैपनि सम्भ्रान्तहरूको एउटा समूह अझै एकजुट छ । त्यो हो, देशको सुरक्षाबल । उनीहरूको दृढताले अहिलेसम्म इस्लामी गणतन्त्रको पतनलाई रोकेको छ । वर्षौंदेखिको देशव्यापी विरोध प्रदर्शन र उनीहरूको पंक्तिमा रहेका झण्डै दुई दर्जन वरिष्ठ व्यक्तित्वहरूको इजरायल–लक्षित हत्याका बावजुद हालसम्म कुनै पनि वरिष्ठ आईआरजीसी कमान्डरहरूले साथ छोडेका छैनन् वा आयातोल्लाह खमेनीको हल्का सार्वजनिक आलोचना समेत गरेका छैनन् ।
यीमध्ये धेरै कमान्डरका लागि सत्ता गुमाउनु भनेको सम्पत्ति र सम्भवतः आफ्नो ज्यान गुमाउनु पनि हो । उनीहरू सम्भवतः शासनको विरुद्धमा लाग्ने अन्तिम नेता हुनेछन् । तर, उनीहरूले त्यसो गरे भने शासन टिक्ने छैन ।
इरानले स्पष्ट रूपमा तेस्रो मापदण्ड पूरा गर्छ । इस्लामी गणतन्त्रको राजनीतिक, आर्थिक र सामाजिक अधिनायकवादले अन्यायका विरुद्धमा विविधतापूर्ण विपक्षी गठबन्धन सिर्जना गरेको छ । पछिल्लो दशकमा पटक–पटक भएका ठूला प्रदर्शनले देशको सीमा क्षेत्रका जातीय अल्पसंख्यक, मजदुर आन्दोलन, महिला र व्यापारीहरू सहित लगभग हरेक सामाजिक–आर्थिक वर्गका सहभागीहरूलाई आकर्षित गरेका छन् । यी समूहहरूले विरलै आफ्ना प्रयासहरूलाई समन्वय गरेका छन् वा एकैसाथ विरोध गरेका छन् । तर, उनीहरूको आक्रोशका धेरै कारणहरू साझा छन् ।
इस्लामी गणतन्त्र एउटा यस्तो धर्मतन्त्र हो जसले नैतिक उच्च स्थानबाट शासन गर्ने दाबी गर्छ । यसै कारणले गर्दा यसको भ्रष्टाचार र ढोंगीपनका उदाहरणहरू विशेष रूपमा उत्तेजित गर्ने खालका हुन्छन् । आईआरजीसी कमान्डरहरूले महिलाहरूलाई बुर्का लगाउन कठोर रूपमा बाध्य पार्ने कामको निरीक्षण गर्छन् । तर, उनीहरूका छोरी र प्रेमिकाहरू विदेशमा हिजाब बिना नै देखिन्छन् ।
देश पानीको गम्भीर अभावको सामना गरिरहेको छ । आईआरजीसी निकट रहेको पानी माफियाले सम्पूर्ण गाउँलेहरूलाई तिर्खाले मर्न छोडेर आफ्नै औद्योगिक परियोजनाहरूमा स्रोतहरू डाइभर्ट गरिरहेको धेरै इरानीहरू विश्वास गर्छन् । हजारौं वरिष्ठ अधिकारीका छोराछोरीहरूले इन्स्टाग्राम र लिन्क्डइनमा पश्चिमी शहरहरूमा आफ्नो जीवनको प्रदर्शन गर्छन् । यासुज शहरका प्रदर्शनकारीहरूले हालै नारा लगाए, ‘उनीहरूका छोराछोरी क्यानडामा छन् ! हाम्रा छोराछोरी जेलमा छन् !’
विपक्षी आन्दोलनले व्यापक आक्रोशलाई परिचालन गर्न सक्छ भन्ने देखाएको छ । तर, सफल हुनका लागि यसले परिचालनभन्दा अगाडि बढेर असन्तुष्ट सम्भ्रान्तहरूसँग सम्बन्ध गाँस्न आवश्यक छ । यीमध्ये केही प्राविधिकहरू र किनारा लगाइएका भित्री व्यक्तिहरूले अलग्याइएको महसुस गर्छन् तर भोलिपल्ट आफूहरूलाई के होला भन्ने डरले कदम चाल्न डराउँछन् । विपक्षीहरूले शासनका यी भित्री व्यक्तिहरूका लागि एक विश्वसनीय सुरक्षित निकास प्रदान गर्न आवश्यक छ । उनीहरूलाई इस्लामी गणतन्त्र अब उनीहरूको कवच नभई कफन भएको विश्वास दिलाउनुपर्छ ।
शासकहरू कमजोर र एक्लो हुँदा मानिसहरूले आफूलाई परिवर्तन सिर्जना गर्न सक्ने एक विशाल, एकजुट र न्यायपूर्ण समूहको हिस्सा ठान्दा र राजनीतिक सम्भ्रान्तहरूले सरकारको रक्षा गर्नुको साटो त्यसलाई त्यागेर जनतासँग जोडिन थाल्दा क्रान्तिहरू जन्मिन्छन् । इरानमा अहिलेसम्म यस अन्तिम तत्त्वको अभाव देखिएको छ ।
राज्य विघटनको चौथो शर्त एक विश्वासिलो साझा भाष्य हो । त्यसले राष्ट्रको सामाजिक–आर्थिक, भौगोलिक र वैचारिक विभाजनहरूलाई जोड्छ । आजको इरानमा शासनको संस्थापक सिद्धान्त प्यान–इस्लामी क्रान्तिकारी विचारधारालाई उग्र, सुधारात्मक राष्ट्रवादले विस्थापन गरेको छ । राज्यका पुराना अमेरिका मुर्दाबाद र इजरायल मुर्दाबाद जस्ता नाराहरू राष्ट्रिय स्वार्थको माग ‘इरान अमर रहोस्’ द्वारा दबाइएका छन् ।
यो केवल स्वरमा आएको परिवर्तन होइन । यो त मुल्लाहरूको शासनको क्षेत्रीय दुस्साहसको पूर्ण अस्वीकार हो । यसलाई अहिले जताततै सुनिने विरोधको नाराले जोड दिन्छ । ‘गाजालाई होइन, लेबननलाई होइन, मेरो जीवन केवल इरानका लागि ।’
राष्ट्रवादको लहर बाहेक इरानीहरू आफैंले नियुक्त गरेको नैतिक राज्यको खोक्रो वैचारिक नारा र प्रदर्शनकारी धर्मपरायणताप्रति प्रतिरोधी बनेका छन् । मुख्यतया सन् १९७९ को क्रान्तिपछि जन्मिएको जनसंख्याले सबैभन्दा बढी जिन्दगी–ए–नर्मल अर्थात् सामान्य जीवन चाहन्छ । त्यो मानिसहरूको पहिरन, घनिष्ठता र व्यक्तिगत छनौटहरूलाई सूक्ष्म व्यवस्थापन गर्ने शासनबाट मुक्त होस् । आफ्ना क्षेत्रीय प्रोक्सीहरूलाई अनुदान दिनका लागि राष्ट्रिय सम्पत्ति लुट्ने इस्लामी गणतन्त्रलाई अवैध ठहर गरेर विपक्षीहरूले शासनको राष्ट्रवादी शब्दाडम्बरलाई प्रभावकारी रूपमा उल्टाइदिएका छन् ।
हरेक सफल क्रान्तिका लागि प्रेरणादायी र संगठनात्मक नेतृत्व दुवै आवश्यक हुन्छ । इरानको सन् २०२६ को विद्रोहका धेरै प्रदर्शनकारीहरू सन् १९७९ देखि निर्वासनमा रहेका पूर्व युवराज रेजा पहलवीको पक्षमा उभिएका छन् । निर्वासनबाट विपक्षको नेतृत्व गर्नु र पदच्युत राजतन्त्र पुनःस्थापित गर्नु दुवै चुनौतीपूर्ण कार्य हुन् । तर, यीमध्ये कुनै पनि अभूतपूर्व भने होइनन् ।
रुसका भ्लादिमिर लेनिन, भियतनामका हो चि मिन्ह र इरानका आयातोल्लाह रुहोल्लाह खोमेनी सबैले आफूलाई देश निकाला गरेको शासनलाई ढाल्ने क्रान्तिको नेतृत्व गर्न फर्कनुअघि १५ वर्षभन्दा बढी समय निर्वासनमा बिताएका थिए । कुनै समय राजतन्त्र उन्मूलन गरेका स्पेन, कम्बोडिया र बेलायत (ओलिभर क्रोमवेलको समयमा) सहित धेरै देशहरूले पछि तिनलाई संवैधानिक राजतन्त्रको रूपमा पुनःस्थापित गरे ।
दशकौंदेखि तेहरानले आफ्नो प्रतिरोधको धुरी भनिएका नजिकका प्रतिनिधि र निरंकुश सहयोगीहरूको सञ्जालमार्फत शक्तिप्रदर्शन गर्यो । तर, जुन महिनाको विनाशकारी १२–दिने युद्धपछि त्यो प्रतिरोध क्षमता कमजोर भएको छ ।
क्रूर प्रतिस्पर्धाले नै क्रान्तिहरूलाई परिभाषित गर्ने कुरा सन् १९७९ बाट इरानीहरूलाई राम्ररी थाहा छ । झण्डै आधा शताब्दी विदेशमा बिताएका पहलवीले यस्तो प्रतिस्पर्धामा विजयी हुन आवश्यक पर्ने धरातलीय शक्ति अझै संगठित गरेका छैनन् । उनले एक गहिरो प्रश्नको पनि सामना गरिरहेका छन् ।
इरानका राजतन्त्रवादीहरू कस्तो प्रकारको व्यवस्था स्थापना गर्न चाहन्छन् ? पहलवीले इरानलाई लोकतन्त्रमा लैजान मद्दत गर्ने र जनताले रोजेमा संवैधानिक राजाको रूपमा सेवा गर्ने आफ्नो लक्ष्य रहेको कुरा निरन्तर भन्दै आएका छन् । तैपनि उनका धेरै जोशिला समर्थकहरू पूर्ण निरंकुशता पुनःस्थापना गर्नेबारे मुखर छन् । यस तनावले असन्तुष्ट सम्भ्रान्तहरूलाई शासनको विरुद्धमा ल्याउने उनको क्षमतालाई बाधा पुर्याएको छ ।
तैपनि विडम्बनापूर्ण रूपमा व्यापक जनसमुदायमा यस अस्पष्टताले उनको पक्षमा काम गर्न सक्छ । क्रान्तिकारी विचारधाराहरूले आफ्ना अनुयायीहरूलाई एकजुट गर्न र प्रेरित गर्न भविष्यको सटीक योजना प्रदान गर्न आवश्यक छैन । यसको विपरीत बहालवाला शासनको असह्य अन्याय र अपरिहार्य दुष्टताको भावनात्मक रूपमा शक्तिशाली चित्रणका साथ मुक्तिका अस्पष्ट वा काल्पनिक वाचाहरूले अक्सर राम्रो काम गर्छन् ।
क्रान्तिको अन्तिम र निर्णायक उत्प्रेरक अन्तर्राष्ट्रिय वातावरण हो जसले शासनलाई बलियो बनाउनुको साटो डुबाउन मद्दत गर्छ । उत्तर कोरियापछि इरान विश्वकै रणनीतिक रूपमा सबैभन्दा अलगथलग परेको देश हुन सक्छ । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि विश्वका प्रमुख नेताहरूमध्ये आयातोल्लाह खमेनीले मात्र खुलेर समर्थन गरेका थिए । विगत दुई वर्षमा इरानका क्षेत्रीय प्रतिनिधि र विश्वव्यापी सहयोगीहरू ध्वस्त भएका छन् वा हटाइएका छन् ।
दशकौंदेखि तेहरानले आफ्नो प्रतिरोधको धुरी भनिएका नजिकका प्रतिनिधि र निरंकुश सहयोगीहरूको सञ्जालमार्फत शक्तिप्रदर्शन गर्यो । तर, जुन महिनाको विनाशकारी १२–दिने युद्धपछि त्यो प्रतिरोध क्षमता कमजोर भएको छ । हिजबुल्लाह र हमासको नेतृत्व अस्तव्यस्त भएको छ । इजरायली विमानहरूले इरानको हवाई क्षेत्रमा अपमानजनक र लगभग निर्विरोध उपस्थिति कायम राखेको अवस्थामा इस्लामी शासन आफ्ना जनताका अगाडि रणनीतिक रूपमा नांगिएको छ । रित्तो ढुकुटी र असुरक्षित आकाशले उसलाई उदांगो पारेको छ ।
सिरियाका बशर अल–असद र भेनेजुएलाका निकोलस मदुरो अब सत्तामा छैनन् । भ्लादिमिर पुटिन युक्रेनमा युद्ध लड्न व्यस्त छन् । चीन अहिले इरानको ९० प्रतिशत तेल निर्यातको गन्तव्य हो । चीन शोषक साझेदार साबित भएको छ ।
डोनल्ड ट्रम्पले इरानका आणविक केन्द्रहरूमा १६ वटा बंकर–बस्टिङ बम खसाले । त्यसले गर्दा ५ खर्ब डलरभन्दा बढी खर्च भएको उद्योग ठूलो स्तरमा नष्ट भयो । यसबाहेक इरानको राजनीतिक विवादमा पस्न हिचकिचाउने विगतका अमेरिकी राष्ट्रपतिहरूको विपरीत ट्रम्पले इस्लामी गणतन्त्रलाई प्रदर्शनकारीहरूको नरसंहार गरेमा अमेरिका जवाफ दिन तयार र सक्षम रहेको चेतावनी दिएका छन् ।

वर्तमान विरोध प्रदर्शनका पर्यवेक्षकहरू सोध्छन्, यसपटक के फरक छ ? यसको जवाफ यो हो कि आर्थिक पतनको व्यापकता र १२–दिने युद्धको विनाशकारी पराजयले सबै इरानीहरूलाई शासन अब उनीहरूलाई आधारभूत आर्थिक वा सैन्य सुरक्षा प्रदान गर्न सक्षम छैन भन्ने कुरा देखाएको छ । आफूलाई धनी बनाउने तर राज्यका सबैभन्दा मौलिक कार्यहरू पूरा गर्न नसक्ने राज्यलाई किन सहने ?
पाँचवटा शर्तहरू आर्थिक दबाब, सम्भ्रान्तहरूमा रहेको उदासीनता र विरोध, अन्यायप्रति व्यापक जनआक्रोश, प्रतिरोधको विश्वासिलो साझा भाष्य र अनुकूल अन्तर्राष्ट्रिय सम्बन्धहरू एकैसाथ आउँदा संकटमा व्यवस्था पुनःस्थापित गर्ने सामान्य सामाजिक संयन्त्रहरूले काम गर्ने सम्भावना हुँदैन । समाजको सन्तुलन गहिरो रूपमा विचलित भएको छ र यो सजिलै बढ्दो जनविद्रोह र खुला सम्भ्रान्त प्रतिरोधमा बदलिन सक्छ र यसले क्रान्ति ल्याउँछ ।
इस्लामी गणतन्त्र आज एक जिउँदो लाश जस्तो शासन हो । यसको वैधता, विचारधारा, अर्थतन्त्र र शीर्ष नेताहरू मरिसकेका छन् वा मर्दैछन् । यसलाई जीवित राखेको प्राणघातक सुरक्षाबलले मात्र हो । दमनकारी शक्तिहरूले आफूलाई पनि अब शासनबाट फाइदा भइरहेको छैन र त्यसैले अब शासनका लागि हत्या गर्न आवश्यक छैन भन्ने निर्णय गरेमा इस्लामी शासन पूर्ण पतन हुनेछ । क्रूर दमनले शासनको अन्त्येष्टिमा ढिलाइ गर्न सक्ला तर यसले मरणासन्न शासनको ढुकढुकी पुनः फर्काउने सम्भावना छैन ।
दी एटलान्टिक पत्रिकामा प्रकाशित करिम सदजादपुर र ज्याक ए. गोल्डस्टोनको सामग्रीको अनुवाद








प्रतिक्रिया