
काठमाडौं । बलिउडका चर्चित अभिनेता सञ्जय दत्त बिहीबार साँझ नेपाल आइपुगेका छन् । काठमाडौंको ठमेलस्थित होटल बाराहीमा सञ्चालनमा आएको ‘बादशाह क्यासिनो’ को उद्घाटनका लागि उनी नेपाल आएका हुन् ।
२४ पुसमा आयोजित क्यासिनोको उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा सहभागी हुन आउनुअघि दत्तले सामाजिक सञ्जालमार्फत आफू नेपाली फ्यानहरूसँग रम्न र बादशाह क्यासिनोमा रमाइलो गर्न आतुर रहेको बताएका थिए । क्यासिनो व्यवस्थापनले पनि उनको आगमनले नेपाली पर्यटन र मनोरञ्जन क्षेत्रमा थप उत्साह थपेको उल्लेख गरेको छ।
नेपाल भ्रमणका क्रममा अभिनेता दत्तले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । सञ्जय दत्त र प्रचण्ड परिवारबीच लामो समयदेखि आत्मीय सम्बन्ध रहिआएको बताइएको छ । केही समयअघि प्रचण्डकी नातिनी स्मिता दाहालको विवाहमा पनि दत्तले भिडियो सन्देशमार्फत विशेष शुभकामना पठाएका थिए । यस भेटलाई उनीहरूको व्यक्तिगत र पारिवारिक सम्बन्धको निरन्तरताका रूपमा हेरिएको छ ।
नेपालमा सञ्जय दत्तको ठुलो फ्यान फलोइङ छ । संयोगवश, उनी नेपालमै रहेका बेला उनले अभिनय गरेको पछिल्लो ब्लकबस्टर फिल्म ‘धुरन्धर’ अहिले पनि नेपाली सिनेमा हलहरूमा प्रदर्शन भइरहेको छ । बक्स अफिसमा विश्वव्यापी रूपमा राम्रो व्यापार गरिरहेको यो फिल्मले नेपाली दर्शकहरूको पनि मन जितिरहेको छ ।
सञ्जय दत्तको नेपालसँगको सम्बन्ध केवल व्यावसायिक मात्र छैन, यो भावनात्मक र ऐतिहासिक पनि छ । उनका पिता, बलिउडका दिग्गज अभिनेता सुनील दत्तले पहिलो नेपाली ठुलो पर्दाको फिल्म ‘माइतीघर’ मा अतिथि भूमिका निर्वाह गरेका थिए । बी.एस. थापाको निर्देशनमा बनेको उक्त ऐतिहासिक फिल्ममा बलिउड अभिनेत्री माला सिन्हा मुख्य भूमिकामा थिइन् । पिताले सुरु गरेको नेपालसँगको त्यो आत्मीय साइनोलाई सञ्जयले अहिले पनि उत्तिकै सम्मानका साथ निरन्तरता दिइरहेका छन् ।
भ्रमणका क्रममा दत्तले पशुपतिनाथको दर्शन गर्ने र केही समय काठमाडौँका विभिन्न स्थानको भ्रमण गर्ने तालिका समेत रहेको बताइएको छ।








प्रतिक्रिया