१ लाख ३३ हजार ९८० जनालाई जागिरको अवसर, भर्ना खुल्यो (सूचनासहित)


काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ठूलो सङ्ख्यामा ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) को दरखास्त आह्वान गरेको छ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै कुल १ लाख ३३ हजार ९ सय ८० जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो।

कहाँ दिने दरखास्त ?

इच्छुक नेपाली नागरिकहरूले काठमाडौँ उपत्यकाका तीनवटा जिल्ला प्रहरी परिसर (काठमाडौँ, ललितपुर र भक्तपुर) तथा देशका सबै ७७ वटै जिल्ला प्रहरी कार्यालयहरूमा स्वयम् उपस्थित भई दरखास्त दिन सक्नेछन् । दरखास्त फाराम २०८२ पुस २६ गतेदेखि २०८२ माघ १ गतेसम्म (सार्वजनिक बिदाको दिनसहित) बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म बुझाउन सकिनेछ ।

योग्यता र उमेर हद

म्यादी प्रहरीमा भर्ना हुनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ (२०२८/१०/०१ देखि २०६४/१०/०१ सम्म जन्ममिति भएका) । साधारण लेखपढ गर्न जान्ने, कुनै राजनीतिक दलको सदस्य नरहेको, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको र शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

शारीरिक मापदण्डका हकमा पुरुषको उचाइ कम्तीमा ५ फिट २ इन्च, छाती ३१-३३ इन्च र तौल ५० केजी हुनुपर्नेछ । महिलाको हकमा उचाइ ५ फिट र तौल ४२ केजी हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्राथमिकता कसलाई ?

भर्ना प्रक्रियामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्व कर्मचारीहरू, पूर्व वन रक्षकहरू, विगतका निर्वाचनहरूमा म्यादी प्रहरीका रूपमा काम गरेका व्यक्तिहरू र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

पारिश्रमिक र सुविधा

४० दिनको कार्यअवधि रहने म्यादी प्रहरीका लागि आकर्षक पारिश्रमिक र सुविधाको व्यवस्था गरिएको छ:

तलब: प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको जम्मा ३४,७७६ रुपैयाँ।

खाद्यान्न: रासन बापतको रकम सम्बन्धित जिल्लाको दररेट अनुसार व्यक्तिगत बैंक खातामा उपलब्ध गराइने ।

तयारी खर्च: एकमुष्ट ८४६ रुपैयाँ ।
खाजा खर्च: प्रतिदिन ३०० का दरले ४ दिनका लागि एकमुष्ट १,२०० रुपैयाँ ।

पोसाक खर्च: प्रहरी प्रधान कार्यालयले तोकेको दररेट बमोजिम ।

ड्युटीको क्रममा घाइते वा मृत्यु भएमा सरकारले तोके बमोजिमको क्षतिपूर्ति र बिमा सुविधा समेत उपलब्ध हुनेछ ।

छनोट र तालिम तालिका

दरखास्त दिएका उम्मेदवारहरूले २०८२ माघ ४ गते बिहान ११:०० बजे सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क राख्नुपर्नेछ । छनोट प्रक्रिया माघ ५ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ भने अन्तिम नतिजा माघ १२ गते प्रकाशन गरिनेछ । सफल उम्मेदवारहरूको तालिम माघ १५ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।