
काठमाडौं । मन्त्री पदबाट राजीनामा दिँदै कुलमान घिसिङले देशको अहिलेको अवस्था परिवर्तन गर्नका लागि राजनीतिक नेतृत्वमा जानका लागि मन्त्रीबाट राजीनामा दिएको बताएका छन् ।
मन्त्री बन्दा दिनानुदिन व्यस्त भएकाले राजनीतिक रुपमा अघि बढ्नुपर्ने अवस्थामा केही ब्रेक लागएको जस्तो देखिएपछि आफूले राजीनामाको बाटो रोजेको बताए ।
‘प्रधानमन्त्रीलाई पहिला पनि भनेको थिएँ तर मन्त्रिपरिषद्मा आएर काम गरिदिनु पर्यो भन्ने आग्रह र अनुरोधलाई स्वीकारेर आएको हुँ,’ उनले भने, ‘त्यतिबेला पनि राजनीतिक रुपमा अघि बढ्छु भनेको थिएँ तर प्रधानमन्त्रीले पछि पनि जान सक्नु हुन्छ भनेकाले यो चुनौती लिएर आएको थिएँ । जबरजस्त गरेर मन्त्रिमण्डलमा आएको होइन तत्कालीन समयको विषय परिस्थितिलाई हेरेर देशलाई निकाश दिने जिम्मेवारी बोधसहित आएको थिएँ ।’
खरानीबाट देशलाई टकटक्याएर अहिलेको अवस्थामा पुर्याएको उनले बताए ।
‘नेपालले स्थायीत्व लिने अवस्था, चुनाव हुने सुनिश्चितता तिर अघि बढेको छ यो हामीले लिएको चुनौतीको प्रतिफल प्राप्त भएको छ भन्ने महसुस गरेको छु,’ उनले भने ।
नेपालभित्र रहेको तमाम वेथिति र सुशासनको पक्षमा गर्नुपर्ने कामहरु देशलाई समृद्ध बनाउनलाई राजनीतिक क्षेत्रबाट अघि बढ्न प्रयास गरेको उनले बताए ।
उनले राजनीतिमा लाग्नका लागि राजीनामा दिएको बताए पनि रास्वपामा जानेबारे केही स्पष्ट भने पारेनन् । उनले आफूले कुनै पार्टीको जिम्मेवारी नलिएको बताए ।








प्रतिक्रिया