
काठमाडौं । मन्त्री पदबाट राजीनामा दिँदै कुलमान घिसिङले विशेष खुलासा गरेका छन् । उनले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको सहमतिमा आफ्नो नाम उल्लेख भए पनि उक्त सहमति औपचारिक रुपमा कार्यान्वयन नभएको बताए ।
उनले आफू अहिलेसम्म कुनै दलको सदस्य नरहेको र रास्वपाको उपसभापति रहेको कुरा ‘इन्डोर्स’ भइ नसकेको पनि बताए ।
पछिल्लो समय विभिन्न राजनीतिक दलसँगको आबद्धतालाई लिएर उनीमाथि प्रश्न उठिरहेको थियो । यस विषयमा स्पष्ट पार्दै उनले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको सहमतिमा आफ्नो नाम उल्लेख भए पनि उक्त सहमति औपचारिक रुपमा कार्यान्वयन नभएको बताए । ‘मैले अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिएको छैन । राजनीतिक जीवनमा औपचारिक प्रवेश गरेपछि मात्र पार्टी सदस्यता लिने मेरो स्पष्ट धारणा छ,’ उनले प्रष्ट पारे ।
‘त्यो सहमती रास्वपा र उज्यालो नेपाल पार्टीबीच भएको हो,’ कुलमानले भने, ‘म त्यहाँ उपस्थित भएको हुँ । सहमतीको एक बुँदामा मेरो नाम पनि छ । तर, आजको दिनसम्म म रास्वपाको सभापती होइन ।’ उज्यालो नेपाल पार्टी कुलमानकै संरक्षकत्वमा खुलेको दल हो ।
साथै, आफ्नो कार्यकालमा भएका काम र राजीनामा दिनुको कारणबारे स्पष्ट पार्दै उनले यो निर्णय जिम्मेवारीबाट पन्छिनका लागि नभई आत्मसम्मान र नैतिकताका लागि भएको बताएका छन् ।
राजीनामा दिएपछि पत्रकार सम्मेलनमा उनले भने, ‘मैले लिएको राजीनामाको निर्णय न त भाग्ने निर्णय हो, न त जिम्मेवारीबाट विमुख हुने प्रयास । यो मेरो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो ।’
उनले पदमा रहँदा मात्र नभई पदबाहिर रहेर पनि देश र जनताको पक्षमा उभिनु नै साँचो कर्तव्य भएको उल्लेख गरे । उनले थपे, ‘म मान्छु— पदभन्दा ठूलो मूल्य हुन्छ सिद्धान्त, कुर्सीभन्दा माथि हुन्छ आत्मसम्मान, र सरकारभन्दा ठूलो हुन्छ जनता ।’
त्यस्तै, राजीनामा दिएपछि उक्त पदमा आफ्नो मान्छे नियुक्त गर्न दबाब दिएको भन्ने समाचारलाई उनले ‘नियोजित र भ्रामक’ भन्दै खण्डन गरेका छन् । ‘सत्य सधैं प्रचारभन्दा बलियो हुन्छ,’ उनले दृढताका साथ भने ।
आफ्नो छोटो कार्यकालका बारेमा चर्चा गर्दै उनले पदभन्दा पनि जनतालाई केन्द्रमा राखेर काम गरेको दाबी गरे । छोटो समयमै महत्वपूर्ण नीतिगत सुधारको जग बसालिएको र इमानदार प्रयास गरे परिवर्तन सम्भव छ भन्ने विश्वास नागरिकमा जगाउन सफल भएको उनको अनुभव छ ।
राज्यका संयन्त्रहरू किन अपेक्षित रुपमा चल्न सकेका छैनन् भन्ने यथार्थ पहिचान गर्ने अवसर पाएको उल्लेख गर्दै उनले समयमै नबन्ने सडक र पुलका कारण जनताले भोग्नुपरेको पीडाको अन्त्य हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘सिँचाइ, सहरी सेवा र पूर्वाधारलाई विकासको मेरुदण्ड बनाउने सपना साकार होस् । यी मेरा व्यक्तिगत चाहना होइनन्, यस देशका आम नागरिकका साझा आकांक्षा हुन् ।’
अन्तरिम तथा चुनावी सरकारका प्रधानमन्त्री र मन्त्रीहरू नै पदमा रहँदै निर्वाचन लडेको इतिहास स्मरण गराउँदै उनले आफ्नो कदम नैतिकताको उत्कृष्ट नमूना भएको संकेत गरेका छन् ।
यस्तो छ उनको भनाइः
मैले लिएको राजीनामाको निर्णय न त भाग्ने निर्णय हो, न त जिम्मेवारीबाट विमुख हुने प्रयास। यो मेरो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो। पदमा रहँदा मात्रै होइन, पदबाट बाहिर रहेर पनि देश र जनताको पक्षमा उभिनु नै साँचो कर्तव्य ठानेको छु। म मान्छु, पदभन्दा ठूलो मूल्य हुन्छ सिद्धान्त, कुर्सीभन्दा माथि हुन्छ आत्मसम्मान, र सरकारभन्दा ठूलो हुन्छ जनता। उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भए पनि उक्त सहमति हालसम्म औपचारिक रुपमा कार्यान्वयनमा आएको छैन। मेरो समर्थन र सद्भाव रहँदा रहँदै पनि मैले अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिएको छैन। राजनीतिक जीवनमा औपचारिक प्रवेश गरेपछि मात्र पार्टी सदस्यता लिने मेरो स्पष्ट धारणा थियो र अहिले पनि त्यही धारणा छ। राजीनामा दिएपछि उक्त पदमा आफ्नो मान्छे नियुक्ति गर्न दबाब दिएको भन्ने विषयमा नियोजित रुपमा भ्रामक समाचार प्रसारण गरिएको छ, जसको म स्पष्ट खण्डन गर्दछु। सत्य सधैं प्रचारभन्दा बलियो हुन्छ। अन्तरिम तथा चुनावी सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरू नै पदमा रहँदै निर्वाचन लडेको इतिहास नेपालकै हो। यो तथ्य स्मरण गराउन आवश्यक ठान्दछु। यो अवधिमा मैले पदलाई होइन, जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रयास गरेँ। समयको दृष्टिले अवधि छोटो भए पनि महत्वपूर्ण नीतिगत सुधारहरूको बलियो जग बसालिसकिएको छ। इमानदार प्रयास गरिए परिवर्तन सम्भव हुन्छ भन्ने आशा र विश्वास नागरिकमा जगाउन सकिएको छ। साथै राज्यका संयन्त्र किन अपेक्षित रुपमा काम गर्न सकेका छैनन् भन्ने यथार्थ पहिचान गर्ने अवसर पनि प्राप्त भएको छ। समयमै नबन्ने सडक पुलका कारण नागरिकले भोग्दै आएको पीडाको अन्त्य होस्। सिँचाइ, सहरी सेवा र पूर्वाधारलाई विकासको मेरुदण्ड बनाउने सपना साकार होस्। यी मेरा व्यक्तिगत चाहना होइनन्, यी यस देशका आम नागरिकका साझा आकांक्षा हुन्।








प्रतिक्रिया