
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिएका छन् । दलीय राजनीतिमा संलग्न मन्त्रीहरूलाई राजीनामा दिन प्रधानमन्त्रीले दिएको निर्देशन र बढ्दो नैतिक दबाबका बीच घिसिङले राजीनामा दिएका हुन् ।
कुलमानले बुझाएको राजीनामा पत्रमा घिसिङले आफू २०८२ साल भदौ ३० गते नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रीको रूपमा नियुक्त भएको उल्लेख गरेका छन् । उनले हालको विकसित राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आजकै मितिदेखि लागू हुने गरी राजीनामा बुझाएको बताएका छन् ।
घिसिङले ‘जेन–जी’ आन्दोलनपछि गठन भएको नागरिक सरकारमा मन्त्रीको रूपमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति धन्यवाद पनि ज्ञापन गरेका छन् । उनले पत्रमा जनअपेक्षा अनुसार काम गर्न पाउनुलाई महत्वपूर्ण अवसरको रूपमा लिएको उल्लेख गरेका छन् ।
आफूले सम्हालेका तीनवटै मन्त्रालयमा सुशासन कायम गर्न र वर्षौंदेखि अलपत्र परेका विकास आयोजनाहरूलाई गति दिन प्रयास गरेको दाबी पनि गरेका छन् । ‘देशको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको सुधार, पूर्वाधार विकास र जनताको जीवनस्तर उकास्ने उद्देश्यका साथ मैले आफ्नो कार्यकालमा इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेको छु,’ पत्रमा उल्लेख छ ।
घिसिङले पदमा नरहे पनि देश र जनताको हितमा आवश्यक पर्ने जुनसुकै जिम्मेवारी निर्वाह गर्न आफू सधैं तत्पर रहने प्रतिबद्धता जनाएका छन् ।
केही समयअघि मात्रै घिसिङले आफू संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरण गरी पहिलो वरियताको उपसभापति बनेका थिए । आसन्न निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका र दलीय आबद्धता भएका मन्त्रीहरूलाई प्रधानमन्त्री कार्कीले राजीनामा दिन निर्देशन दिएपछि घिसिङले यो कदम चालेका हुन् ।
घिसिङसँगै अन्य दुई मन्त्रीहरू बब्लु गुप्ता र जगदीश खरेललाई पनि राजीनामा दिन प्रधानमन्त्रीले निर्देशन दिएकी थिइन् । राजीनामा बुझाउनुअघि घिसिङले आफू कुनै पनि दलको सदस्य नरहेको दाबी गर्दै आएका थिए । तर, चौतर्फी दबाबपछि उनले विकसित राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै भन्दै राजीनामा दिएका हुन् ।








प्रतिक्रिया