
काठमाडौं । सर्वसाधारणले खाने छुर्पीमा दुधको चिल्लो पदार्थको उपस्थिति ५.० प्रतिशत हुनुपर्ने सरकारले अनिवार्य मापदण्ड तोकेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तयार पारेको छुर्पीसम्बन्धी मापदण्ड कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार राजपत्रमा प्रकाशित गरेको छ ।
राजपत्रमा प्रकाशित छुर्पीको गुणस्तर मापदण्डका अनुसार सर्वसाधारणले उपभोग गर्ने घृतांशयुक्त छुर्पी(हाइ फ्याट छुर्पी) को हकमा दुधको चिल्लो पदार्थ ५.० प्रतिशत वा त्योभन्दा बढी भएको हुन सक्ने मापदण्ड तोकिएको छ ।
यस्तै डग च्युको रुपमा उपभोग हुने कम घुतांशयुक्त छुर्पी(लो फ्याट छुर्पी) को हकमा दुधको चिल्लो पदार्थ ५.० प्रतिशत भन्दा कम भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
गाई, चौगरीगाई वा भैंसीको एकल वा मिश्रित दुध प्रशोधन गरी उत्पादन तथा प्रशोधन गरी तयार गरिएको सबै प्रकारको छुर्पीमा गुणस्तरसम्बन्धी मापदण्ड कार्यान्वनयमा ल्याइएको हो ।
सरकारले छुर्पीको स्वच्छत र सफा हुनुका साथै चारित्रिक स्वाद र बास्ना भएको मापदण्ड बनाएको छ । यसमा कुनै पनि प्रकारको ढुसी तथा किरा लागेको र नसकेको मापदण्डमा उल्लेख छ ।
छुर्पीमा जलांशको प्रतिशत बढीमा घृतांशयुक्त छुर्पीतर्फ १४ र कम घृतांशयुक्त छुर्पीतर्फ १४ प्रतिशत हुनुपर्ने मापदण्ड तोकिएको छ ।
यस्तै दूधको कूल प्रोटिनको उपस्थिति सुख्खा तौलको आधारमा घटीमा घृतांशयुक्त र कम घृतांशयुक्ततर्फ ६० र ६०, दूधको चिल्लो पदार्थको उपस्थिति सुख्खा तौलको आधारमा घृतांशयुक्ततर्फ ५.० र कम घृतांशयुक्ततर्फ ५.० प्रतिशतभन्दा कम हुनुपर्ने उल्लेख गरिएको छ ।
यसैगरी कूल भष्म सुख्खा तौलको आधारमा बढीमा घृतांशयुक्ततर्फ र कम घृतांशयुक्त तर्फ ७.० र ७.० प्रतिशत हुनुपर्ने मापदण्ड तोकिएको छ ।
यसमा कुनै पनि प्रकारको ढुङ्गा, बालुवा, काँच, प्लास्टिक, माटो, धातु, कपाल, रौं, भुस, चोकर, परालका टुक्रा, कपडाको टुक्रा, जिउँदो वा मरेको किरा, मुसा वा त्यसको अंश, पशुपन्छी तथा वनस्पतिजन्य अन्य फोहोर मिश्रण नभएको गुणस्तर मापदण्ड तोकिएको छ ।
यसैगरी छुर्पीमा कन्टामिनेन्ट्सतर्फ जीवनाशक बिषादीको अवशेष, हेभी मेट्ल्स, सुक्षम जिवाणु र तथा टक्सिसन्सलगायत अन्य हानिकारक तत्वको अवशेषको अधिकतम मात्रा सरकारले तोकेको मापदण्डअनुसार हुनुपर्ने उल्लेख गरिएको छ ।
छुर्पी दुधमा आधारित नेपालको परम्परागत खाद्य पदार्थ हो । छुर्पीलाई नेपालको फरक फरक स्थानमा विभिन्न नामले चिनिन्छ । छुर्पीलाई दुरुखा, दुरुख्वा, दुर्खो, दुर्खा तथा च्यु पनि भनिन्छ ।
घृतांशयुक्त वा कम घृतांशयुक्त दुधलाई उमालेर उपयुक्त विधिबाट फटाएर निस्केको छेनालाई जाली वा कपडा लगायतबाट छानेपछि प्राप्त हुने ठोस पदार्थलार्य केहि समयसम्म निश्चित चापको प्रयोग गरी थिचेर उपयुक्त आकार दिइन्छ ।
यसरी प्राप्त भएको ताजा छुर्पीलाई धुवाँ लगाएर वा नलगाएर छायाँ, ड्रायर वा अन्य उपयुक्त बिधिद्वारा उपयुक्त तापक्रम र आद्रतामा सुकाएपछि छुर्पी तयार हुन्छ ।
नेपालमा मुख्यगरी हिमाली जिल्लाहरु इलाम, ताप्लेजुङ, पाँचथर, धनकुट्टा, संखुवासभा, दोलखा, सोलुखुम्बुलगायतका जिल्ला छुर्पी उत्पादनको लागि प्रख्यात छन् ।
नेपालमा उत्पादन हुने दुई थरी छुर्पीमध्ये डग च्युको अधिकाँश परिमाण अमेरिका, क्यानाडालगायतका मुलुकमा निर्यात हुँदै आएको छ । पछिल्लो समयमा करिब ४ अर्ब रुपैयाँबराबरको डग च्यु निर्याण हुँदै आएको छ ।








प्रतिक्रिया