मानिसको लागि मात्र बनाएको चौंरी गाईको दुधबाट बनेको छुर्पीले पछिल्लो समय नेपाललाई विश्व बजारमा चिनाइरहेको छ । शुन्य प्रतिशत फ्याटको उपस्थिति रहेको ‘डग च्यु’ का नामले चिनिने यस्तो छुर्पी अमेरिकासहितका देशमा कुकुरको मुख्य खानाको रुपमा समावेश भएको छ ।

काठमाडौं । हिमाली जिल्ला घुम्न जाने प्रायः जसो आन्तरिक पर्यटकले चौरी गाईको दुधबाट तयार भएको विशिष्ट पौष्टिक पदार्थ ‘छुर्पी’ चपाउँदै मिठो स्वाद लिने गरेको नेपालीको लागि नौलो होइन ।
बजार र बाटोघाटोको असुविधाका कारण चौरी गाईको दुध ठूलो परिमाणमा नष्ट हुँदै आएको थियो । हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले यो दुध फाल्नुभन्दा छुर्पी बनाउने निधो गरे ।
चौरीको दुध आफैंमा अत्यधिक तर(फ्याट) भएको मानिन्छ । त्यस्तो तर भएको दुधबाट उच्च मात्रामा प्रोटिन भएको पोसिलो छुर्पी बनाउँदा घुम्न आउने आन्तरिक पर्यटकलाई सजिलै बिक्री गर्नुका साथै पर्यटकले कोसेलीको रुपमा घर पनि लाने भएर उनीहरुले यसको उत्पादन सुरु गरेको मानिन्छ ।
‘यसबाट बहुआयामिक फाइदा छ, खेर जाने दुध सदुपयोग हुनुका साथै घुम्न जाने पर्यटकले उच्च प्रोटिन भएको पोसिलो छुर्पी सेवन गर्न पाउँदा उनीहरुमा नयाँ शक्तिको सञ्चार पनि हुने भयो, साथै हिमाली बासिन्दाको लागि आम्दानीको दरिलो स्रोत पनि बन्यो,’ मनराम ग्रुपका लजिस्टिक तथा पीआर निर्देशक रेशमबहादुर पोखरेलले भने ।
सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर, धनकुटा, संखुवासभा, दोलखा,इलाम लगायतका जिल्ला छुर्पी उत्पादनका लागि प्रख्यात छन् ।
पोखरेलले भने,‘पहिले खेर फालिने चौरीको दुधबाट तयार भएको छुर्पीले राम्रै आम्दानी दिन थालेपछि उनीहरुले व्यवसायिक रुपमै यसको उत्पादन गर्न थालेका हुन् ।’
पोखरेलका अनुसार डेढ दशक अघिसम्म नेपालको हिमाली क्षेत्रमा मानिसले खाने छुर्पीको मात्रै उत्पादन हुन्थ्यो । हिमाली भेगमा घुम्न जाने जो सुकैले छुर्पी किनेर खाने र कोसेलीको रुपमा घर ल्याउने चलन थियो ।
समयसँगै छुर्पीको महत्त्व बढ्दै गएपछि बिस्तारै छुर्पीको उत्पादन र बिक्री हिमाली भेगबाट सर्दै पहाड र तराईसम्म फिजिँदै गयो । पहिले चौरी गाईको दुधबाट मात्र तयार हुने छुर्पी पछिल्लो समयमा गाईको दुधबाट समेत तयार हुन थाल्यो ।
फलस्वरुप अहिले जताततै छुर्पी किनेर खान सकिन्छ, त्यो पनि विभिन्न स्वाद र फ्लेवरमा । व्यवसायिक रुपमा अहिले कम्तिमा एक दर्जन स्वाद र फ्लेवरमा मानिसले खाने छुर्पी उत्पादन हुन थालेको छ । छुर्पीलाई नेपालको मौलिक उत्पादन मानिन्छ ।
हिमाली भेगका बासिन्दाबाट छुर्पी उत्पादनको विधि क्रमिक रुपमा अहिले डेरी उद्योगतर्फ सरेको छ । अहिले निजी क्षेत्र डेरी उद्योग र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) ले पनि ठूलो लगानी गरेर छुर्पीको व्यवसायिक रुपमा उत्पादन गर्दै आएका छन् ।
तर पछिल्लो समयमा छुर्पीको महत्त्व मानिसले खानेमा मात्रै सीमित रहेन । यसको महत्त्व र व्यवसायिकता फैलिँदै गएपछि यसको निर्यात विश्व बजारसम्म पुग्न सफल भएको छ ।
त्यो पनि ‘डग च्यु’ छुर्पीको रुपमा । छुर्पी हिमाली बासिन्दाको मौलिक उत्पादन भएजस्तै डग च्यु पनि नेपालको मौलिक उत्पादन हो ।
यसको जन्मदाता एक मात्र मुलुक नेपाल बनेको छ । नेपालमा पनि यसको जन्मदाता कृषिजन्य वस्तु उत्पादनकर्ता र निर्यातकर्ता मानिएका व्यवसायिक घराना ‘मनराम ग्रुप’ लाई मानिन्छ ।
डग च्युले अहिले विश्वबजारमा नेपाललाई चिनाउन सफल भएको छ । त्यसैले होला चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा इतिहासमै सबैभन्दा बढी परिमाणमा डग च्युको निर्यात भएको छ ।
कुकुरको लागि स्वथ्यकर पोषिलो खाना र खेलौनाको रुपमा डग च्यु उत्पादन गरेर नेपाल विश्वभर चिनिन सफल भएको छ ।
मानिसले खाने छुर्पी र कुकुरले खाने डग च्युका कारण किसानलाई पनि फाइदा पुगेको छ ।
अत्यधिक दुध उत्पादन हुने तर बजार नपाएर फाल्नुपर्ने दुध छुर्पी उद्योगले खरिद गर्दा दुध फाल्नु पर्ने समस्यालाई पनि यसले समाधान गरेको छ ।
मानिसले खाने छुर्पी र डग च्युको रुपमा बिक्री हुने छुर्पीको उत्पादन कति परिमाणमा छ भनेर अहिलेसम्म यकिन तथ्यांक कसैसँग छैन ।
नेपालमा उत्पादन हुने दुवै खालको छुर्पीमध्ये ७० प्रतिशत डग च्युको उत्पादन हुने र करिब सम्पूर्ण डग च्यु निर्यात हुने उद्योगीहरुको भनाइ छ ।
इतिहासमा सबैभन्दा बढी निर्यात
मानिसले खाने छुर्पीबाट विस्तारै व्यवसायिकतर्फ ढल्किँदै जाँदा अहिले नेपालले डग च्युको उच्चर निर्यातका लागि उत्पादन थालेको छ ।
हिमश्री(गायत्री डेरी इण्डस्ट्रिज) का प्रवन्ध निर्देशक निराजन कोइरालाका अनुसार नेपालमा उत्पादन भएको डग च्युले अहिले विश्व बजारमा उधुम मच्चाएको छ ।
‘कुकुरको लागि स्वस्थ्यकर, पोषिलो र इन्टरटेन गर्ने खेलौनाको रुपमा यो स्थापित भएपछि विश्वबजारमा यसको माग अत्यधिक बढ्दै गएको छ,’ कोइरालाले भने,‘फलस्वरुप मागअनुसार हामीले निर्यात गर्न सकेका छैनौं । माग यति बढेको छ कि हामी लाखौं लाख परिमाणमा निर्यात गरेर अर्बौं डलर कमाउन सक्छौं ।’
भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो १० वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा इतिहासमै सबैभन्दा बढी मूल्यबराबरको अत्यधिक परिमाणमा डग च्युको निर्यात भएको छ ।
तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा मात्रै झण्डै ४ अर्ब रुपैयाँबराबरको २ हजार २ सय ६५ मेट्रिक टन डग च्यु निर्यात गर्न नेपाल सफल भएको छ । त्यो पनि कूल डग च्युको निर्यात हिस्सामध्ये ९९ प्रतिशत अमेरिकामा मात्रै निर्यात भएको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा अमेरिकामा मात्रै ३ अर्ब ४९ करोड ७३ लाख ५३ हजार रुपैयाँबराबरको १ हजार ८ सय ८८ मेट्रिक टन (१८ लाख ८८ हजार २ सय ९० किलो) डग च्यु निर्यात भएको छ ।
यस्तै दोस्रोमा क्यानाडामा ३० करोड ८४ लाख ७७ हजार रुपैयाँबराबरको १ सय ३८ मेट्रिक टन (१ लाख ३८ हजार ६ सय ६३ किलो) निर्यात भएको छ । तेश्रोमा बेलायतमा ५ करोड ९२ लाख ५६ हजार रुपैयाँबराबरको २१ टन निर्यात भएको छ । चौथोमा जापानमा ५ करोड २३ लाख ९६ हजार रुपैयाँको १ सय ४३ मेट्रिक टन (१ लाख ४३ हजार २ सय ५४ किलो) निर्यात भएको छ ।
यसपछि छिटफुट रुपमा कोरिया, मलेसिया, ताइवान, युक्रेनलगायतका मुलुकमा निर्यात भएको छ ।
दश वर्षअघि अर्थात आर्थिक वर्ष २०७१/७२ मा नेपालबाट २८ करोड ३८ लाख रुपैयाँबराबरको २ सय ७५ मेट्रिक टनको हाराहारीमा निर्यात भएको थियो ।
आर्थिक वर्ष २०७६/७७ देखि डग च्युको निर्यातले छलाङ मार्दै गएर पछिल्लो समयमा सर्बाधिक परिमाणमा निर्यात हुन सफल भएको छ ।
‘सरकारले डग च्युको विषयमा गुणस्तर, लगानीको वातावरण, निर्यात गर्न सकिने विभिन्न मुलुकसँग नीतिगत व्यवस्था गरिदिने हो भने आगामी समयमा डग च्युको निर्यात गरेर नेपालले व्यहोर्दै आएको व्यापार घाटा न्यूनीकरण गर्ने यो क्षेत्र ठूलो सहयोग गर्न सक्छ,’ मनराम ग्रुपका लजिस्टिक तथा पीआर निर्देशक पोखरेलले भने,‘अहिले पनि मनराम ग्रुपलाई मात्रै वार्षिक २ लाखदेखि ५ लाख मेट्रिक टनको माग आइरहेको छ, तर माग अनुसार हामीले निर्यात गर्न पाएका छैनौं ।’
मनराम ग्रुपले मात्रै वार्षिक एक हजार ४ सय मेट्रिक टन डग च्यु अमेरिका निर्यात गर्दै आएको छ । मनराम ग्रुपले आफूले उत्पादन गरेको कुकुरले खाने छुर्पीलाई अमेरिकामा हिमालयन डग च्युको नामबाट पेटेन्ट राइटसमेत दर्ता गराएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब १८ करोड ४३ लाख रुपैयाँबराबरको १ हजार ६ सय ४६ मेट्रिक टन डग च्यु निर्यात भएको थियो ।
मनराम ग्रुपले २०६० सालदेखि डग च्युको औपचारिक रुपमा निर्यात गर्न सुरु गरेको हो । यसपछि अहिले विभिन्न उद्योगीले निर्यात गर्दैआएका छन् । नेपालबाट मुख्यगरी ठूलो परिमाणमा मनराम ग्रुप र हिमश्री (गायत्री डेरी इण्डस्ट्रिज) ले डग च्यु निर्यात गर्दै आएका छन् । यसबाहेक अन्यले पनि स-सानो परिमाणमा पठाउँदै आएका छन् ।

कुकुरलाई घिउ पच्दैन !
मनराम ग्रुपका रसद तथा पीआर निर्देशक पोखरेलका अनुसार सुरुआति समयमा मान्छे खाने छुर्पी नै निर्यात भएको थियो । तर मानिस खाने छुर्पीमा तर (फ्याट) को मात्रा अत्यधिक भएकाले ‘कुकुरलाई घिउ पच्दैन’ भन्ने उखान जस्तै बाहिरी मुलुकमा निर्यात भएको छुर्पी कुकुरलाई वास्तवमै पचेन ।
मान्छे खाने छुर्पीमा ३० देखि ३५ प्रतिशतसम्म फ्याटको मात्रा हुन्छ ।
‘सुरुआति समयमा नेपालबाट निर्यात भएको मान्छे खाने छुर्पी खाएर कुकुरलाई छेरपटी लाग्यो, रौंहरु खुइलिन थाल्यो, कुकुरलाई छुर्पीमा भएको अत्यधिक फ्याट पचाउन कठिन भएर उनीहरुलाई अस्वस्थ्य बनायो,’ पोखरेलले भने,‘त्यसपछि तत्कालीन समयमा अमेरिकामा अध्ययन गर्न जानु भएको यो संस्थाका अध्यक्षका कान्छा छोरा सुजन सरले विभिन्न विज्ञहरुसँग सल्लाह गरी त्यो छुर्पीबाट फ्याटको मात्रा शून्यमा झार्ने विधि पत्ता लगाउनु भयो ।’
यो विधिको सहयोगमा मनराम ग्रुपले छुर्पीबाट सम्पूर्ण फ्याट झिकेर शून्यमा झारेर डग च्युको रुपमा छुट्टै उत्पादन गर्न सुरु गर्यो । फ्याटको मात्रा शून्यमा झारेको डग च्यु खाएर कुकुरहरु रमाउन थाले । कुकुरले खाने डग च्यु छुर्पीमा फ्याटको मात्रा शुन्य प्रतिशत हुन्छ ।
छुर्पी खाएर कुकुर अस्वस्थ्य हुने समस्या समाधान भएपछि मनरामले औपचारिक र व्यवसायिक रुपमा नेपालबाट अमेरिकामा डग च्युको निर्यात गर्न थालेको हो ।
त्यसपछि त्यहि विधि सिकेर नेपालका अन्य उद्योगीले पनि मानिस खाने छुर्पीभन्दा फरक अर्थात फ्याटको मात्रा शून्य भएको डग च्यु उत्पादन गरी निर्यात गर्न थालेका हुन् ।
अमेरिका पुग्ने डग च्यु त्यहाँबाट अन्य मुलुकसमेत जाने गरेको छ । तर प्रत्यक्ष रुपमा नेपालबाट अमेरिका र जापानमा जाने गरेको छ ।
हिमश्री(गायत्री डेरी इण्डस्ट्रिज) का प्रवन्ध निर्देशक कोइरालाका अनुसार डग च्युको बजार युरोप, अष्ट्रेलियालगायत तीन दर्जन मुलुकमा भए पनि फाइटो स्यानेटरी र खोरेत रोग संक्रमणका कारण निर्यात गर्न समस्या भएको छ ।
‘हामीलाई सबैभन्दा ठूलो चुनौती भनेको खोरेत रोग हो, यो रोगलाई जराबाटै समाधान गर्न सकियो भने हामी अमेरिका र जापान बाहेक तीन दर्जन मुलुकमा सोझै निर्यात गर्न सक्षम हुनेछौं । यसका लागि सरकारको भूमिका उल्लेखनीय हुनु पर्छ ।’
कोइरालाअनुसार डग च्युको बजार बढ्दै गएपछि अहिले भारतलगायतका अन्य मुलुकमा पनि उत्पादन गर्न सुरु भएको छ । नेपालबाट मौलिक रुपमा डग च्युको उत्पादन सुरु भएको अवस्थामा पछिल्लो समयमा अन्य मुलुकले समेत उत्पादन गर्न सुरु गर्दा यसले नेपाली डग च्युको बजार खुम्चिन सक्ने उनको भनाइ छ ।
‘यसका लागि सरकारले नेपालको डग च्युको पेटेन्ट राइट सुरक्षित गरी बजारलाई सुरक्षा दिन सक्छ, पेटेन्ट राइट हुँदा तुलनात्मक रुपमा मूल्य पनि केही बढी पाइन्छ,’ उनले भने,‘अर्कोतर्फ डग च्युका कारण नेपाली किसानलाई पनि फाइदा पुगेको छ । बढी भएको दुधबाट पाउडर दुध र बटर(मख्खन) बनाएर गोदाम थन्काउनुभन्दा डग च्यु बनाएर निर्यात गर्दा बढी भएको दुध पनि खेर नजाने र वैदेशिक रकम पनि आर्जन गर्न सकिन्छ ।’
किन दिइन्छ कुकुरलाई डग च्यु ?
घरमा पालिने कुकुर झोक्राएर बस्छ । बाहिरबाट आउने नयाँ व्यक्तिलाई हेरेर कराउने, भुक्ने र झम्टिन खोज्छ । कोठाभित्र बस्दै गर्दा असहज भएर बस्छ । कुकुरको दाँत पनि ठूलठूला हुन्छ । त्यो दाँत चिलाउँदा उसले जे पायो त्यसमा टोक्ने र चिर्थोने काम गर्छ ।
यस्तो अवस्थामा कुकुरलाई डग च्यु खान दिँदा दाँतलाई पनि फाइदा पुग्छ भने यसमा हुने प्रोटिनले गर्दा कुकुरको स्वास्थ्य पनि राम्रो हुन्छ ।
मुखमा डग च्यु चपाउन, टोक्ने, चिर्थोने गर्दै कुकुर त्यसमै रमाएर खेल्ने भएकाले अरुलाई अवरोध गर्दैन । डग च्युले कुकुरलाई इन्टरटेन्मेन्ट (मनोरञ्जन) समेत प्रदान गर्छ, र शरीरलाई चाहिने पौष्टिकता पनि प्रदान गर्छ ।
पहिले प्लास्टिकका हड्डीसहित विभिन्न आकार प्रकारको खेलौना कुकुरलाई खेल्न दिइन्थ्यो । त्यस्ता प्लास्टिकका खेलौना कुकुरले चपाएर खाएपछि उसको स्वास्थ्यमा नकारात्मक असर पुर्याउँदै गएपछि घरपालुवा कुकुरलाई खेलौना र खानको लागि डग च्यु दिने क्रम सुरु भएको हो ।
पछिल्लो समयमा यस्ता डगचेउ स्ट्रवेरी, मिन्ट, हनी, कोकोनट, पिनट, पम्पकिनलगायतका फ्लेवरमा नेपालमा तयार हुन थालेका छन् ।

कसरी बन्छ छुर्पी ?
काँचो दुधलाई ४५ देखि ५५ डिग्री सेल्सियसमा तताइन्छ । तताइएको दुधलाई मनतातो बनाउने काम हुन्छ । त्यसपछि त्यसबाट ०.५ देखि ०.८ प्रतिशत बाँकी राखेर सम्पूर्ण फ्याट झिक्ने काम हुन्छ ।
यसपछि फेरि त्यो दुधलाई ९० डिग्री सेल्सियस तापक्रममा तताइन्छ । त्यसपछि त्यसमा कागतीको झोल राखेर फटाउने काम हुन्छ ।
यसरी फटाइएको दुधबाट सग्लो ठोस पदार्थ छानेर निकाल्ने काम हुन्छ । ति सबै ठोस पदार्थ निकालेर सफा पानीले पखाल्ने र धुने काम हुन्छ । सफा गरिएको यो ठोस पदार्थलाई फेरी ९० डिग्री सेल्सियसको तापक्रममा पकाउने काम हुन्छ ।
पाकेर कडा ठोस पदार्थ बनिसकेपछि त्यसलाई बोरामा पोका बनाएर आकार आकारअनुसार थिच्ने काम हुन्छ । यसरी बनाउँदै गरेर १८–१९ घण्टापछि रोटीको आकार दिने काम हुन्छ । यसपछि रोटीलाई चाहिएको परिमाण र आकारअनुसार काट्ने काम हुन्छ ।
यसरी विभिन्न परिमाणमा र आकारमा काटिएको छुर्पीलाई करिब डेढ महिनासम्म अनुकुल वातावरणमा राखिन्छ । त्यसपछि सरसफाई गरी स्टेरिलाइज्ड गरी उपभोग योग्य बन्छ । यसरी सबै प्रकार पार गरी खान योग्य छुर्पी तयार गर्न कम्तिमा दुई महिनाको समय लाग्छ ।
१ किलो छुर्पी तयार गर्न २५ देखि २८ लिटर कच्चा दुध आवश्यक पर्छ । निर्यात भने डग चेउको मात्रै हुन्छ । यो शतप्रतिशत म्यानुअली हातले तयार हुने पदार्थ हो । यसलाई म्यानुअली बनाएको अवस्थामा मात्रै यसको परम्परागत र साँस्कृतिक महत्त्व जीवन्त राख्न सकिने उद्योगीहरुको भनाइ छ ।
यसरी तयार भएको छुर्पी र डग च्युको उपभोग्य अवधि १ वर्षको हुन्छ ।
प्रतिक्रिया