
काठमाडौं । बागमती प्रदेश सरकारले सवारी साधनमा लाग्ने कर, दस्तुर र जरिवानामा छुट दिने निर्णय गरेको छ ।
बागमती प्रदेश सरकारको पुस १६ गते बसेको बैठकले यस विषयमा निर्णय गरी गत सोमबार राजपत्रमा सूचना प्रकाशित गरेको छ ।
चालु आर्थिक वर्षमा सवारी साधनमा लाग्ने कर, दस्तुर र जरिवानासम्बन्धी छुट पाउन भने केही सर्त तोकिएको छ ।
यो सर्तअनुसार जेनजी आन्दोलनको क्रममा आगजनी तथा तोडफोडका कारण सवारी साधन पूर्ण रूपमा क्षति भएको विषयमा प्रहरी मुचुल्कालगायत पूर्ण क्षति पुष्ट्याइँ हुने आवश्यक प्रमाण र कागजात पेस गर्नुपर्नेछ ।
यस्तै संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह वा मातहतका निकायहरूको स्वामित्वमा रहेका सवारी साधन, सार्वजनिक संस्थान, प्रतिष्ठान, बोर्ड, आयोग, समितिका स्वामित्वमा रहेका सवारी साधन, पर्यटक सवारी साधन तथा निजी सवारी पूर्ण क्षतिग्रस्त भएको हकमा लगत कट्टा गर्ने प्रयोजनका लागि चालु आर्थिक वर्ष २०८२/८३ को मात्र सवारी साधन कर र नवीकरण दस्तुर छुट दिइने व्यवस्था गरिएको छ ।
जेनजी आन्दोलनको क्रममा पूर्ण रूपले क्षतिग्रस्त भएका सार्वजनिक (भाडाका) सवारी साधनको हकमा लगत कट्टा गर्ने प्रयोजनका लागि चालु आर्थिक वर्ष २०८२/८३ को मात्र सवारी साधन कर, नवीकरण दस्तुर, जाँचपास नवीकरण दस्तुर र बाटो इजाजतपत्रको नवीकरण दस्तुर छुट दिने व्यवस्था बागमती सरकारले गरेको छ ।
यस्तै जेनजी आन्दोलनको क्रममा गत भदौ २३ र २४ गते सेवा प्रवाह अवरुद्ध भएको कारणले यातायात व्यवस्था कार्यालयहरूमा भदौ २३ गतेदेखि सेवा सुचारु नभएसम्मको अवधिभित्र दस्तुर तिर्नुपर्ने अन्तिम मिति तोकिएका सवारी साधनको हकमा आगामी माघ मसान्तसम्म दस्तुर बुझाउन आएमा प्रचलित कानुनअनुसार बाटो इजाजतपत्रको नवीकरण दस्तुरमा लाग्ने जरिवाना र थप जरिवाना तथा जाँचपासको नवीकरण दस्तुरमा लाग्ने जरिवाना र थप जरिवाना छुट दिने व्यवस्था गरिएको छ ।








प्रतिक्रिया