आजसम्म म कुनै पनि पार्टीको सदस्य छैन: कुलमान


काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङले आफू हालसम्म कुनै पनि राजनीतिक दलको सदस्य नभएको स्पष्ट पारेका छन् । मंगलबार ललितपुरमा इन्जिनियरहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

घिसिङको अगुवाइमा ‘उज्यालो नेपाल पार्टी’ गठन भएको थियो। सो पार्टीले पुस २४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गर्ने निर्णय गरेको थियो। एकता सहमतिमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए। सहमतिमा हस्ताक्षरका क्रममा घिसिङ पनि उपस्थित थिए भने कुलमानलाई पहिलो वरियताको उपसभापति बनाउने उल्लेख थियो ।

उक्त घटनापछि घिसिङले मन्त्री पदबाट राजीनामा दिनुपर्ने भन्दै राजनीतिक दल र नागरिक समाजबाट दबाब बढ्दै आएको छ । यस विषयमा उठेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘आजको मितिसम्म म कुनै पनि पार्टीको सदस्य छैन ।’

कार्यक्रममा ऊर्जामन्त्री घिसिङले आफू नेतृत्वमा आएपछि भएका कामकारबाहीबारे जानकारी गराउँदै विकास निर्माण र समृद्धिका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको बताए । ‘विकास निर्माणका लागि राजनीतिक स्थायित्व र सक्षम राजनीतिक नेतृत्व आवश्यक छ,’ उनले भने।

उनले बजेट खर्च गर्न सक्ने क्षमताको विकास गर्नुपर्नेमा जोड दिए। विकास बजेटसँगै निर्माण व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने उनको भनाइ थियो। ‘हाम्रा कन्ट्रयाक्टरहरूको क्षमता पनि बढाउनुपर्छ,’ उनले भने।

नेपालले अहिलेसम्म लगानी सम्मेलन गर्दै आएको उल्लेख गर्दै अब कन्ट्रयाक्टर सम्मेलन गर्नुपर्ने आवश्यकता औंल्याए । ‘लगानी भित्र्याउनु मात्र पर्याप्त हुँदैन, त्यसलाई प्रभावकारी रूपमा खर्च गर्न सक्ने कन्ट्रयाक्टर पनि चाहिन्छ। अब कन्ट्रयाक्टर सम्मेलन गर्नुपर्छ,’ घिसिङले भने।