
एजेन्सी । अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्सको सिन्सिनाटीस्थित घरमा आइतबार राति आक्रमण भएको छ । त्यसक्रममा धेरै झ्यालहरू फुटाइएको छ ।
यस घटनापछि सिक्रेट सर्भिस र स्थानीय प्रहरीले तुरुन्तै कारबाही सुरु गरेका छन् ।
सिक्रेट सर्भिसका एजेन्टहरू सोमबार बिहानै ईस्ट वालनट हिल्सस्थित निवासमा पुगेका थिए र एक व्यक्तिलाई हिरासतमा लिइएको छ । तर, उनीमाथि मुद्दा दायर गरिएको छ वा छैन भन्नेबारे अधिकारीहरूले पुष्टि गरेका छैनन् । आरोपितलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ तर थप विवरण भने उपलब्ध गराएको छैन ।
सीएनएनका अनुसार, घटनाको समयमा भ्यान्सको परिवार घरमा नरहेको एक अधिकारीले बताएका छन् र प्रारम्भिक अनुसन्धानले ती व्यक्ति उपराष्ट्रपतिको घरभित्र प्रवेश नगरेको देखाएको छ ।
गत साता भेनेजुएलामा भएको अमेरिकी कारबाहीको प्रत्यक्ष निगरानी गर्न भ्यान्स राष्ट्रपति डोनल्ड ट्रम्प र अन्य वरिष्ठ प्रशासनिक अधिकारीहरूसँग मार–ए–लागोमा सहभागी भएका थिएनन् । उनको उपस्थितिले अपरेशनल सुरक्षामा जोखिम निम्त्याउन सक्ने चिन्ताका कारण उनी त्यहाँ नगएका हुन् ।
त्यसको साटो उपराष्ट्रपतिले सुरक्षित भिडियो कन्फरेन्समार्फत कारबाहीको निगरानी गरे र कारबाही सकिएपछि सिन्सिनाटी फर्किए । उनको कार्यालयले उनी सो प्रक्रिया र योजनामा गहिरो रूपमा संलग्न रहेको बताएको छ ।
एक विज्ञप्तिमा भ्यान्सको कार्यालयले भनेको छ, ‘बढ्दो सुरक्षा चिन्ताका कारण प्रशासनले उपराष्ट्रपति र राष्ट्रपति ह्वाइट हाउस बाहिर एउटै स्थानमा रहने समय र फ्रिक्वेन्सीलाई सीमित गर्ने लक्ष्य राखेको छ ।’
घटनापछि प्रहरी र सिक्रेट सर्भिसका कर्मचारीहरू घरभित्र देखिएका थिए यद्यपि आक्रमणको समयमा भ्यान्स वा उनको परिवार घरमा नरहेको विश्वास गरिएको छ ।
यो घटना नयाँ वर्षको अवधिमा सो क्षेत्रमा सुरक्षा कडा पारिएकै समयमा भएको हो । नगर अधिकारीहरूका अनुसार, भान्सको निवास वरपरका सडकहरू आइतबारसम्म धेरै दिनदेखि बन्द गरिएका थिए, चेकपोइन्टहरू राखिएका थिए र बासिन्दाहरूलाई सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिको अपेक्षा गर्न भनिएको थियो ।








प्रतिक्रिया