बहसमात्र गरेर विकास हुँदैन, दस्तावेजमा उल्लेख तरिकालाई व्यवहारमा उतारेर हुन्छः अर्थमन्त्री खनाल


काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा विकासको गति सुस्त हुनु र सुशासन कायम हुन नसक्नुका कारण नयाँ पुस्तामा गहिरो असन्तुष्टि छाएको बताएका छन् । आइतबार विकास मिडियाले आयोजना गरेको ‘विकास बहस तथा विकास नायक अवार्ड’ वितरण कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

अर्थमन्त्री खनालले युवाहरूमा देखिएको यो असन्तुष्टि समय–समयमा विभिन्न घटनाक्रममार्फत प्रकट भइरहेको उल्लेख गर्दै हालको राजनीतिक परिस्थिति पनि युवाको विद्रोह र असन्तोषको परिणाम भएको टिप्पणी गरे । उनले आगामी फागुन २१ गते हुने निर्वाचनले विकासको गतिलाई तीव्रता दिने र सुशासनको अनुभूति गराउने शक्तिलाई सत्तामा ल्याउने विश्वास व्यक्त गरे ।

‘अहिलेको मन्त्रिमण्डल युवाहरूले व्यक्त गरेको विद्रोह र असन्तोषलाई व्यवस्थापन गर्दै नागरिकले आशा गरेअनुरूप विकासको गति दिन गठन भएको हो,’ मन्त्री खनालले भने, ‘स्रोत र सम्पत्तिमाथिको अतिक्रमण रोक्न र भ्रष्टाचार नियन्त्रण गर्न सक्ने राजनीतिक शक्तिलाई सत्तामा पुर्‍याउन आगामी निर्वाचनमा आम नागरिकको भूमिका महत्त्वपूर्ण हुनेछ ।’

देशमा विकासका नीति र योजनाहरूको अभाव नरहेको स्पष्ट पार्दै उनले कार्यान्वयनमा भने गम्भीर समस्या रहेको औंल्याए ।
पञ्चवर्षीय योजना, दीर्घकालीन रणनीतिक योजना र निजी क्षेत्रका योजनाहरूमा विकासको स्पष्ट खाका भए पनि इच्छाशक्ति, इमानदारिता र परिणाममुखी व्यवस्थापनको कमीले सोचेजस्तो उपलब्धि हुन नसकेको उनको तर् छ ।

‘म आफैंसँग विकासका कुनै जादुमयी सूत्रहरू छैनन्, ती हाम्रा दस्तावेजहरूमा पहिल्यै उल्लेख छन्,’ उनले भने, ‘समस्या कार्यान्वयनमा छ । विकास बहस गरेर मात्र हुँदैन, यो त व्यवहारमै अभ्यास गरेर देखाउनुपर्ने कुरा हो ।’

अर्थमन्त्री खनालले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमार्फत मुलुकका विद्यमान समस्याहरू समाधान गर्न सक्ने रणनीतिक योजना भएका शक्तिलाई जिताउन आम नागरिकलाई आग्रहसमेत गरे ।