समानुपातिक सूचीमा नाम परेकोबारे विदुषी राणा भन्छिन्ः पदका लागि होइन, औद्योगिक एजेन्डाका लागि आएँ


काठमाडौं । उद्यमी विदुषी राणाले आफ्नो राजनीतिक यात्रा र समानुपातिक सूचीमा नाम समावेश हुनुको कारण स्पष्ट पारेकी छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को आग्रहमा आफू राजनीतिमा जोडिएको बताउँदै उनले आफ्नो उद्देश्य व्यक्तिगत महत्वाकांक्षा नभई औद्योगिक क्षेत्रको प्रतिनिधित्व गर्नु रहेको बताएकी छन् ।

उद्यमी व्यवसायीहरूको नाम समानुपातिक सूचीमा परेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको अवस्थामा उनले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने एजेन्डा बोकेर नीति निर्माणको तहमा योगदान दिन चाहेको उल्लेख गरेकी छन् । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसूचीमा रहेको नामबारे चर्को आलोचना भएको थियो । आलोचनापछि युवा उद्यमी सचिन ढकाल, त्रिशाला गुरूङलगायतले समानुपातिक सूचीबाट नाम फिर्ता लिएका छन् । तर, राणाले भने आफू करियर राजनीतिज्ञका रूपमा होइन, एक क्षेत्रगत प्रतिनिधिको रूपमा आएको दाबी गर्दै समानुपातिक सूचीमा नाम हुनुको अर्थ खुलाएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राणाले आफू दशकौंदेखि उत्पादनमूलक क्षेत्रमा क्रियाशील रहेको दाबी गरेकी छन् ।

विदुषी राणाका अनुसार मेयर बालेन शाहले उनलाई ‘सेक्टरल भ्वाइस’ (क्षेत्रगत आवाज) का रूपमा नीति निर्माणमा सहयोग गर्न व्यक्तिगत रूपमा निम्तो दिएका थिए । ‘मेयर बालेन शाहले मलाई व्यक्तिगत रूपमा समानुपातिक सूचीको हिस्सा बन्न आमन्त्रण गर्नुभएको हो,’ उनले लेखेकी छन्, ‘उहाँको मनसाय व्यावहारिक अनुभव भएका व्यक्तिहरूले उद्योग, रोजगारी, महिला आर्थिक सहभागिता र निर्यातका विषयमा छलफल अघि बढाउनुपर्छ भन्ने थियो ।’

लामो समयदेखि गोल्डस्टार सुजसँग आबद्ध राणाले ३ हजारभन्दा बढी महिलालाई प्रत्यक्ष रोजगारी दिइरहेको अनुभव सुनाउँदै नेपालको कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक क्षेत्रको योगदान ५ प्रतिशतभन्दा कम हुनु चिन्ताको विषय रहेको बताएकी छन् ।

उनले कर नीति, व्यापार नीति, ढुवानी, निर्यात र श्रमका क्षेत्रमा रहेका नीतिगत समस्या सुल्झाउन आफ्नो अनुभव उपयोगी हुने विश्वास व्यक्त गरेकी छन् । ‘म करियर राजनीतिज्ञका रूपमा होइन, एक क्षेत्रगत प्रतिनिधिको रूपमा आएकी हुँ । नेपालको भविष्य उत्पादनमुखी उद्योग र महिलाको आर्थिक सशक्तीकरणमा निर्भर छ,’ उनले भनेकी छन् ।

राणाको नाम समानुपातिकको ‘खस आर्य’ समूह अन्तर्गत दोस्रो नम्बरमा छ । यसलाई उनले जिम्मेवारी र विनम्रताका साथ स्वीकार गरेको बताएकी छन्। उनले आफू शक्ति वा पदको भोको नरहेको प्रस्ट पार्दै भनिन्, ‘म यहाँ पद ओगट्न आएकी होइन । यदि अरू कोही यी मुद्दाहरूलाई अझ गम्भीरताका साथ अगाडि बढाउन तयार छन् भने म उनीहरूलाई सहयोग गर्न तयार छु ।’

रेमिट्यान्स र आयातमा भर परेको नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन र युवाहरूका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आफ्नो उपस्थिति अर्थपूर्ण हुने उनको दाबी छ । ५५ वर्षभन्दा लामो इतिहास बोकेको घरायसी उद्योगको अनुभवलाई नीतिगत तहमा पुर्‍याउनु नै आफ्नो मुख्य लक्ष्य रहेको उनले स्पष्ट पारेकी छन् ।