
धनगढी । बाजुरास्थित बुढीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन नगरप्रमुख दीपक विक्रम शाहसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
ठेक्का प्रक्रियामा बदनियतपूर्ण ढङ्गले मापदण्ड परिवर्तन गरी नगरपालिकालाई हानी पुर्याएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
लक्षित निर्माण व्यवसायीलाई ठेक्का दिलाउने उद्देश्यले योग्यताका सर्तहरू हेरफेर गरिएको आयोगको ठहर छ । कम रकम कबोल गर्नेलाई छाडेर बढी कबोल गर्ने ‘जाग्रिति/एमके/नेपाल जेभी’लाई ठेक्का स्वीकृत गरी अनियमितता गरिएको दाबी आरोपपत्रमा गरिएको छ।
मुद्दा दायर गरिएकाहरूमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, इन्जिनियर पारस खाती, लेखापाल नवराज जोशीलगायत कर्मचारीहरू र निर्माण कम्पनीका प्रतिनिधिहरू रहेका छन्। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कारबाहीको माग गरिएको छ।








प्रतिक्रिया