
ललितपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सम्भावित उम्मेदवारका रूपमा सुरेन्द्र बजगाईंको नाम अगाडि आएको छ । महांकाल गाउँपालिका–४, कालेश्वरका स्थायी बासिन्दा बजगाईं हाल काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’को सल्लाहकार हुन् भने महानगरको सहरी योजना आयोगमा शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत छन् ।
स्रोतका अनुसार बजगाईंको नाम पार्टीको समानुपातिक बन्द सूचीमा समेत प्रस्ताव गरिएको थियो । साथै, बालेन सचिवालय र जेनजी समूहबाट समेत उनको नाम समानुपातिकमा अगाडि सारिएको थियो ।
समानुपातिकमा नाम नराखेर उनलाई ललितपुर–१ बाट प्रत्यक्षतर्फ उठाउने तयारी रहेको बुझिएको छ । ललितपुर १ मा प्रत्यक्ष उम्मेदवारको खोजी हुँदा बालेन निकट सुरेन्द्र नै उपयुक्त व्यक्ति रहेको चर्चापछि उनको नाम समानुपातिक सूचीबाट फिर्ता गरिएको रास्वपाका एक नेताले बताए ।
सुरुमा रास्वपाको समानुपातिक सूचीमा नाम प्रस्ताव गरिए पनि ‘स्थानीय भूगोल बुझेको युवा’ उम्मेदवारको माग भएपछि उनलाई प्रत्यक्षतर्फ उठाउन लागिएको हो । बजगाईं स्वयमले पनि प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने मनसाय देखाएका थिए ।
वि.सं. २०४८ सालदेखि बाहिरी जिल्लाका नेताहरूले मात्र जित्दै आएको यस क्षेत्रमा यसपटक स्थानीय युवालाई नै जिताउनुपर्ने आवाज उठेकाले बजगाईंको नाम चर्चामा आएको हो ।
केशरबहादुर विष्ट, वर्षमान पुन, उदय शमशेर राणा, नवराज सिलवाललगायत नेताहरूले यहाँको स्थानीय भूगोल, समस्या र त्यसका समाधानबारे गहिरो जानकारी नहुँदा–नहुँदै पटक–पटक उम्मेदवारी दिए र निर्वाचन जितेका थिए ।
‘राजनीतिक दलको शक्ति, केन्द्रको पहुँच र राष्ट्रिय स्तरको पहिचानका कारण उहाँहरूले चुनाव जिते पनि स्थानीय मुद्दा र आवश्यकता भने प्राथमिकतामा पर्न सकेका थिएनन्,’ बजगाईंले क्लिकमान्डुसँग भने, ‘युवा आउनुपर्छ र यस्ता युवा सांसदमा आउनुपर्छ जसलाई प्रणााली र संरचना कसरी चल्छ भन्ने थाहा होस् । लामो समय काठमाडौं महानगरपालिकामा सल्लाहकारका रूपमा योगदान दिएँ । अब भने फरक र थप प्रभावकारी तरिकाले तथा नीति निर्माणको काम गरौं भन्ने सोच बनाएको छु ।’
उनी लामो समय पत्रकारिता, सार्वजनिक नीति र सामाजिक अभियानमा सक्रिय छन् ।
नीतिगत स्पष्टता र स्थानीय विकासको एजेन्डा बोकेका बजगाईंलाई ललितपुर–१ मा वैकल्पिक राजनीतिको बलियो प्रतिनिधि र युवाहरूको भरोसाका रूपमा हेरिएको छ ।








प्रतिक्रिया