सौरभको ‘असहमति-५’: प्रचलित भाष्यप्रतिको गुनासो, नेपाली समाजमाथि निर्मम टिप्पणी


काठमाडौं । नेपालको ज्ञानोत्पादनमा मौलिक दृष्टिकोणको अभाव रहेको भन्दै त्यस अभावको पूर्ति गर्ने उद्देश्यका साथ विचारक एवं टिप्पणीकार सौरभले लामो समयदेखि कलम चलाउँदै आएका छन् । पश्चिमका साथै इन्डियाले बनाएको भाष्यलाई जस्ताको त्यस्तै दोहोर्याएर नेपाली कलमजीवीहरूले देशलाई अन्याय गरेको सौरभको प्रस्थापना रहिआएको छ ।

त्यही भाष्यप्रतिको असहमतिलाई सौरभले आफ्ना तीक्ष्ण (र दुर्बोध पनि लाग्ने) टिप्पणीहरूमार्फत अभिव्यक्त गर्दै आइरहेका छन् । त्यसैक्रममा उनका फुटकर टिप्पणीहरूको संग्रहको शृंखलाको पाँचौं भाग हालै सार्वजनिक भएको छ– ‘असहमति–५’ शीर्षकसहित ।

यस पुस्तकमा सौरभले ‘असहमति,’ ‘आत्मबोध,’ ‘पृथ्वी,’ ‘पहाड,’ ‘बाबु र छोरा’ तथा ‘फुर्सदमा’ गरी पाँचवटा अध्यायमा आफ्ना लेखहरूलाई वर्गीकरण गरेका छन् ।

मुख्य रूपमा नेपालको मौलिक चालचलनलाई भारत (सौरभ इन्डिया भन्न रुचाउँछन्) को संस्कृतिले क्रमशः विस्थापित गर्दै लगेको र यसका लागि संस्कृतज्ञहरू जिम्मेवार रहेकोमा लेखकले पुस्तकमा कटु टिप्पणी गरेका छन् । नेपालका विभिन्न जातजातिले युरेसियाका विविध समाजसँग साम्य रहेको मौलिक चालचलन अपनाएकोमा त्यसलाई भारतीय वैदिक प्रचलनले छोप्दै लगेको भन्दै सौरभ गुनासो गर्छन् ।

विशेषगरी नेपालको भूमिमा शिवपूजनको प्रभुत्व रहेको र भारतबाट भित्रिएको विष्णुपूजन (वैष्णव सम्प्रदाय) लाई अंगीकार गर्नु गलत कार्य भएको सौरभको तर्क छ । हुँदाहुँदा उनी मुस्ताङमा रहेको मुक्तिनाथको मन्दिरमा भगवान् विष्णुको पूजा गर्नु पनि गलत रहेको तर्क गर्न पुग्छन् । विष्णुप्रति उनको वितृष्णा झल्काउने टिप्पणीहरू पुस्तकभरि यत्रतत्र पाइन्छन् । एउटा उदाहरण हेरौं– ‘इसापूर्व पाँचौं शताब्दीमा लेखिएको इन्डियाको भागवतले शालिग्रामको महत्त्व स्थापित गरेको हो । हाम्रो परम्पराको हैन ।’ अझ त्यसभन्दा पनि कठोर रूपमा उनी लेख्छन्– ‘वैष्णव मत नेपालको आफ्नो रैथाने होइन । कर्णालीमा ब्राह्मणहरूले जस्तै अन्यत्र पनि तिनले भित्र्याएको पराइ पन्थ हो’ (पृष्ठ १००) ।

‘नेवार र अरू’ शीर्षकको लेखमा उनले भगवान् विष्णु र उहाँको महिमागान गर्ने विभिन्न पुराणहरूको खोइरो खनेका छन् ।तिहारको चौथो दिन मनाइने गोवर्धन पूजा, हरिशयनी र हरिबोधिनी एकादशी, फागु पूर्णिमामा होलिका दहनको चलन सबैलाई उनले इन्डियाबाट आएकाले त्याज्य भनेका छन् । उक्त अध्यायको अन्तिम अनुच्छेद निकै निर्मम छ– ‘गङ्गाको मैदानमा सिर्जित काल्पनिक कोरा कथाहरूको निरन्तर वकालत गरेर रैथाने संस्कृतिको जुन विध्वंस गरिएको छ, त्यो आलोच्य छ र नितान्त आलोच्य छ । त्यो विध्वंसको विश्लेषण गर्नु सम्भव छैन ।’ त्यस्तै पृष्ठ १०३ मा पराशरस्मृतिलाई ‘पाप र त्यसबापतका प्रायश्चित्तको ग्रन्थ’ का रूपमा वर्णन गरेर उनले ‘त्यसको अनुसरण गर्ने पात्रलाई ‘कम्लसिव न्युरोसिस’ भएको नितान्त पागल बनाइदिन्छ’ भन्ने दाबी गर्दै ‘च्यातेर फाल्नुपर्ने कुरा हो’ लेखेका छन् ।

यो निकै खतरनाक अडान हो । सनातन धर्म र मौलिक संस्कृतिलाई निमिट्यान्न पार्न खोजिरहेका सेमिटिक मूलका धर्महरूले नेपालमा चिन्ताजनक रूपमा आक्रामक विस्तार गरिरहेको सन्दर्भमा वैदिक र प्रकृतिपूजक संस्कृतिको समन्वयलाई रक्षाकवचका रूपमा उपयोग गर्नुपर्ने अवस्था आएको छ । शिव र विष्णुको सहअस्तित्व नेपाली संस्कृतिको सबल पक्ष हो, ती दुई देवताको आराधना गर्नेहरूबीच फाटो ल्याउनु हितकर होला त ?

धर्मान्तरणको विषम परिस्थितिमा पर्वतेहरूले इन्डियाबाट आएको चालचलनलाई अन्धानुकरण गरिरहेको भनी सौरभले विभाजनको रेखा कोर्ने कोशिश गर्नु दुर्भाग्यपूर्ण ठहर्छ । नेवारहरूले मौलिक संस्कृति जोगाउनका लागि गरिरहेको प्रयास स्तुत्य छ । तर, सौरभको तर्क मान्ने हो भने खसआर्य पर्वतेहरूले मान्ने संस्कृति आगन्तुक र अतिक्रमणकारी हो । के उनी नेवार र खसआर्यबीच द्वन्द्व गराउन चाहन्छन् ? वास्तवमा सौरभको भन्दा नेपालऋषि डा जगमान गुरुङले नेपाली संस्कृतिका समन्वयात्मक पक्षलाई उजागर गरेर प्रकाशन गरेका लेखहरू अहिलेका आवश्यकता हुन् ।

राष्ट्रराज्यको रूपमा आधुनिक भारतले उपनिवेशकालीन बेलायतको मानसिकतालाई निरन्तरता दिएर नेपालमाथि हेपाहा व्यवहार गर्ने गरेकोमा स्वाभिमानी नेपालीहरूले स्वाभाविक रूपमा चित्त बुझाउँदैनन् । तर, समान वैदिक सभ्यता भएका र सांस्कृतिक सेतुले जोडिएका नेपाल र भारतबीचको सम्बन्धलाई राष्ट्रराज्यको दृष्टिकोणले मात्र हेर्नु पनि वाञ्छनीय ठहर्दैन ।

राज्यस्तरीय द्विपक्षीय सम्बन्धका अप्ठ्याराहरूलाई सभ्यतागत सम्बन्धमा आरोपित गरिँदा आउने विभाजनलाई बाह्य पक्षले दोहन गरेर संस्कृतिलाई नै निर्मूल पारिदिने खतरालाई सौरभले विचार गरिदिएको भए हुन्थ्यो ।

सौरभले पहाडी जीवनशैलीको कठोर आलोचना गरेका छन् । पहाडको सुन्दर भूभाग मनोहारी भए पनि पहाडीहरूले बेढंगी घर बनाउने, करेसा व्यवस्थापन पनि गर्न नजान्ने, माल पाएर पनि चाल नपाएका भनी उनले चित्रित गरेका छन्

नेपालका संस्कृतज्ञहरूमाथि विषवमन गर्ने सौरभले पुस्तकभरि संस्कृत शब्द र तिनको व्युत्पत्तिको व्यापक उपयोग गरेका छन् । तर, त्यसक्रममा उनी अर्थको अनर्थ समेत गर्न पुग्छन् । जस्तो, ‘पहाडी पटमूर्खता’ शीर्षकको लेखमा (पृष्ठ १०१ मा) उनी लेख्छन्– ‘अधि + आत्म = आत्माभन्दा पनि अगाडिको चेतनागत स्थिति, चैतन्य कुनै आध्यात्मिक ग्रन्थ पढेर, कुनै आध्यात्मिक गुरु (कथित) का प्रवचन सुनेर प्राप्त गरिने कुरै होइन । आध्यात्मिक चेतमा पुगेको मानिस त्यस्तो ग्रन्थ लेख्ने गर्दैन र प्रवचन दिन पनि आउँदैन ।’ फेरि अर्को ठाउँमा उनले अध्यात्मको अर्कै व्युत्पत्ति देखाएका छन् । पृष्ठ २०२ मा उनी लेख्छन्– ‘अध्य+आत्म = आत्माभन्दा अघिको, स्वयमबाट निर्मित हुनुपर्ने कुरो ।’ यो त ठ्याम्मै मिल्दैन ।

अधि उपसर्गले माथि, प्रधान वा सम्बन्धी भन्ने अर्थ दिन्छ । अध्यात्मको अर्थ हुन्छ आत्मासँग सम्बन्धित (आत्मनः सम्बद्धम्)। अधि र आत्मन् बीच अव्ययीभाव समास भएर यण् प्रत्ययका साथ अध्यात्म शब्द बन्ने हो । अध्य र आत्मको समास हुँदैन । अध्यात्मले आफ्नो आत्मा (मूल स्वभाव वा स्वयं) लाई बुझ्ने प्रयासलाई संकेत गर्छ । आत्माभन्दा अगाडिको चेतनागत स्थिति भनेर सौरभले केलाई इंगित गर्न खोजेका हुन्, थाहा छैन । तर, उनले आध्यात्मिक ग्रन्थ पढेर र प्रवचन सुनेर यो स्थिति प्राप्त हुँदैन भन्नु उचित ठहरिँदैन ।

पढेर र सुनेर मात्र त आध्यात्मिक चेतना आउँदैन, त्यसका लागि उपनिषद्हरूले उल्लेख गरेअनुसार मनन र निदिध्यासन लगायतका क्रिया पनि आवश्यक हुन्छन् । तथापि, त्यस मार्गमा प्रवृत्त हुन प्रारम्भिक चरणमा अध्ययन र श्रवण पनि आवश्यक हुन्छन् । त्यसैले यो विद्या समेत हो र सर्वोत्कृष्ट विद्या हो । हुन पनि श्रीमद्भगवद्गीतामा श्रीकृष्णले अर्जुनलाई भन्नुभएको छ– ‘सर्गाणामादिरन्तश्च मध्यं चैवाहमर्जुन । अध्यात्मविद्या विद्यानां वादः प्रवदतामहम् ।। (१०.३२) ।

त्यस्तै उनले पृष्ठ १४ मा लेखेका छन्– ‘तगर भनिन्छ संस्कृतमा यसैले सूर्यलाई ।’ समीक्षकले विभिन्न संस्कृत शब्दकोशहरू हेर्दा तगरको अर्थ सूर्य भेटेन । बरू यो एकप्रकारको बोटबिरुवा भन्ने अर्थ भेटियो । नेटमा खोज्दा (सौरभले पुस्तकभरि नेटमा भेटिएको भनेर विभिन्न जानकारी प्रस्तुत गरेका छन्) तगर भन्नाले भालेरियाना वालिची वैज्ञानिक नाम भएको बिरुवा भन्ने अर्थ भेटियो । विभिन्न वनस्पतिको वैज्ञानिक नाम खोज्ने सौरभले पुस्तकमा यो नाम कसरी छुटाए, बुझ्न सकिएन ।

नेपाली शब्दकोशमा तगरको अर्थ ‘अम्बाका जस्ता ससाना पात हुने, हलका बास्ना आउने, सेतो गोलाकार फूल फुल्ने, पितृकार्यका लागि आवश्यक ठानिने फूल’ भनी उल्लेख गरेको पाइयो । समीक्षकलाई वनस्पति विज्ञानको जानकारी नभएकाले तगरको वास्तविक अर्थ ठम्याउन कठिन छ ।

यसबाहेक पुस्तकमा सौरभले पहाडी जीवनशैलीको कठोर आलोचना गरेका छन् । पहाडको सुन्दर भूभाग मनोहारी भए पनि पहाडीहरूले बेढंगी घर बनाउने, करेसा व्यवस्थापन पनि गर्न नजान्ने, माल पाएर पनि चाल नपाएका भनी सौरभले चित्रित गरेका छन् । उनको यस आलोचनामा दम छ किनकि पहाडी जीवन सुखी हुन्थ्यो भने त्यहाँबाट बसाइँ सरेर जाने प्रवृत्ति व्यापक हुँदैनथियो ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको रणनीतिक चेत र दूरदर्शिताका विषयमा सौरभले गरेका टिप्पणीहरू निकै गहन र प्रशंसनीय छन् । ‘उसको नियति’ शीर्षकको लेखमा उनले पृथ्वीनारायणको दिव्योपदेशमा निहित विदेश मामिलासम्बन्धी भनाइको मसिनो विश्लेषण गरी भविष्यको सटीक अनुमान गर्न सक्ने राजा भनेका छन् । पृथ्वीनारायण शाहका बारेमा अहिलेसम्म लेखिएको भन्दा फरक र उम्दा टिप्पणी सौरभले गरेका छन् ।

‘मनोरोग’ शीर्षकको लेखमा चाहिँ सौरभले नेपालीलाई धुस्नु गाली गरेका छन् । पृथ्वीनारायणले एकीकरण गरेको नेपालमा सार्वभौम नेपाली भएर बस्न पाउँदा पनि उनकै खेदो खन्ने नेपालीहरूको तुच्छपनप्रति सौरभको निर्मम टिप्पणी स्वागतयोग्य छ ।

आरिसे र आसे नेपालीहरूलाई इंगित गर्दै सौरभले (पृष्ठ ८२ मा) गरेको वर्णन सटीक छ– ‘मानिसलाई मानिसको रूपमा देख्नै नसक्ने मानसिकताले भरिएको समाज, त्यसै विश्वको सबैभन्दा निम्न ‘आई क्यू’ भएको देशमा कैयन् वर्षदेखि दरिँदै आएको होइन । यो केवल अर्काको भेडा चराउन योग्य छ । यो केवल ‘थ्री डर्टी’ (थ्रीडी– डर्टी, डिफिकल्ट, डेन्जरस भन्न खोजेका होलान्) पेसाका निम्ति योग्य छ । यो विश्वको पहिलो ‘मगन्ते र आसे’ सरकारहरू पाउनका निम्ति योग्य छ ।’

नेपालका विभिन्न भागमा भ्रमण गर्ने क्रममा मानिसहरूसँग कुराकानी गर्दा होस्, छोटोपन देखाउने मानिस ठोकिन आइपुगेको स्थितिले सौरभलाई विरक्त बनाएको रहेछ । एकछिन कुरा गर्नेबित्तिकै थाङ्नेपन देखाउने मानिससँग भेट गर्नुभन्दा आफ्नै सुरमा हिँड्न र अध्ययनमा घोत्लिन सही हुने उनको निष्कर्ष छ

‘जङ्गली विगत’ शीर्षकको लेख पनि निकै राम्रो छ । नेपाली समाजमा बुवाआमा र अन्य ठूलाठालुले बालबालिकामाथि गर्ने अत्याचारको फेहरिस्त प्रस्तुत गरेर सौरभले प्यारेन्टिङको विषयमा ज्ञान नभएका नेपालीहरूको दोहोलो काढेका छन् । एउटा उदाहरण हेरौं । ‘अघिल्लो पुस्ताको मानसिक विकृति कस्तो भने आफ्नो केटाकेटीमा मनोविकार उत्पन्न हुने गरी, आत्मसम्मान गिर्ने गरी, अरूका केटाकेटीसँग तुलना नगरी नहुने– “फलानोले यस्तो गरिसक्यो, तैंले के गरिस् ?”

त्यस्तै ‘चेतना र चिन्तन’ शीर्षकको लेखमा नेपालीहरूको छोटो बुद्धिलाई सौरभले आलोचना गरेका छन् । सामान्य र तुच्छ कुरामा अल्झिने र जीवनका गहन गम्भीर कुरालाई बेवास्ता गर्ने नेपालीहरूको प्रवृत्तिले सौरभलाई दिक्क बनाएको रहेछ ।

चाहे काठमाडौंमा आयोजना हुने विद्वद् गोष्ठीहरूमा सहभागी हुँदा होस्, चाहे नेपालका विभिन्न भागमा भ्रमण गर्ने क्रममा मानिसहरूसँग कुराकानी गर्दा होस्, छोटोपन देखाउने मानिस ठोकिन आइपुगेको स्थितिले सौरभलाई विरक्त बनाएको रहेछ ।
एकछिन कुरा गर्नेबित्तिकै थाङ्नेपन देखाउने मानिससँग भेट गर्नुभन्दा आफ्नै सुरमा हिँड्न र अध्ययनमा घोत्लिन सही हुने उनको निष्कर्ष छ । विरक्तिभावमा उनी लेख्छन्– ‘बहुल यही वृत्तिका मानिसहरूबाट आफ्नो युग जब घेरिएको देख्छु, एउटा अर्को पूर्ण स्वतन्त्र हिमालयी मुलुक भइदिएको भए पनि म त्यतै अस्थायी तर लामो समयको स्वनिर्वासनमा जान्थें लागिरहन्छ ।’
यसबाहेक पनि पुस्तकमा नेपाली समाजका अन्य विविध विषयमा टिप्पणी गरेका छन् ।

सौरभको पुस्तक सामान्य पाठकका लागि हुने गर्दैन । यसमा आएका विभिन्न सन्दर्भहरूलाई बुझ्नका लागि पाठक स्वयंको पनि अध्ययनको दायरा फराकिलो हुन जरुरी छ । उनको लेखनशैली पनि सरल छैन । एउटा प्रसंग चलिरहेको बेलामा झ्वाट्ट अर्को प्रसंग आइदिन्छ र पछि उनी फर्केर त्यही पुरानो प्रसंगमा पुग्छन् । पाठकको तीक्ष्ण स्मरणशक्ति र धैर्यको अपेक्षा पुस्तकले राख्छ ।

तर, नेपाल सभ्यताको केन्द्र हो र यहाँका चालचलन युरेसियाका अन्य विभिन्न स्थानमा पनि भेटिन्छन् भन्ने विषयलाई सौरभले शब्दविज्ञान तथा वनस्पतिविज्ञानको माध्यमले आफ्ना सबै पुस्तकहरूमा साबित गर्न खोजिरहेका हुन्छन् । त्यसलाई आधार बनाएर असहमति ५ पढ्ने हो भने त्यति दुरूह लाग्दैन ।

अन्य लेखकहरूले दिन नसकेको दृष्टिकोणबाट नेपाललाई अध्ययन गर्न सौरभको पुस्तकले प्रेरित गर्ने हुनाले जिज्ञासुहरू आनन्दित हुन्छन् । सौरभको आग्रह एवम् पूर्वाग्रह कतिपय सन्दर्भमा अपाच्य भए पनि ज्ञानको दायरा र विषयवस्तुको गहिराइमा पुग्ने क्षमताले उनलाई विशिष्ट लेखक बनाएको छ ।