
काठमाडौं । अहिलेको विश्वव्यापी बजारलाई अवलोकन गर्दा अनौठो परिदृश्य देखापरेको छ । सुन, चाँदी, तामा, प्लेटिनम र प्यालेडियम सबैको मूल्य लगातार बढिरहेको छ । हुँदाहुँदा यी धातुभन्दा बेग्लै संरचनामार्फत सञ्चालन हुने तेलको मूल्यमा पनि वृद्धि देखिएको छ ।
संसारले उपभोग गर्ने लगभग सबै प्रमुख कमोडिटीज (वस्तुहरू) मा यस प्रकारको एकसाथ मूल्यवृद्धि दुर्लभै हुन्छ । वास्तवमा, स्थिर वा स्वस्थ आर्थिक अवधिमा यस्तो कहिल्यै पनि नहुने इतिहासले देखाउँछ ।
पहिलो दृष्टिमा, वस्तुहरूको बढ्दो मूल्यलाई शक्ति वा मजबुतीको संकेतका रूपमा लिन सकिन्छ जस्तो लाग्छ । धेरै मानिसले उच्च मूल्यलाई बलियो माग, विस्तारित अर्थतन्त्र र वृद्धिसँग जोडेर हेर्ने गर्छन् । तर, प्रमुख वस्तुहरूको मूल्य एकसाथ बढ्दा त्यसको सन्देश धेरै फरक हुन जान्छ । यसले सामान्यतया विश्वव्यापी आर्थिक प्रणालीको सतहमुनि बढ्दै गएको तनावको संकेत गर्छ ।
सामान्य आर्थिक विस्तारको समयमा वस्तुहरूको व्यवहार छनोटमा आधारित हुने अर्थशास्त्रीहरूले अभिलेखीकरण गरेका छन्
कारखानाहरू व्यस्त हुँदा र निर्माण कार्य तीव्र हुँदा तामा र आल्मुनियम जस्ता औद्योगिक धातुहरूको मूल्य बढ्छ । यातायात, उत्पादन र यात्राको गति बढ्दा ऊर्जाको मूल्य बढ्छ । तर, सुन र चाँदी जस्ता बहुमूल्य धातुहरू ढिलो र स्वतन्त्र रूपमा बढ्ने वा घट्ने गर्छन् । तिनीहरू मुख्यतया औद्योगिक वस्तु नभई मूल्यका भण्डार (स्टोर्स अफ भ्याल्यु) हुन् ।
तामा र तेलसँगै सुनको मूल्य पनि ह्वात्तै बढिरहेको देख्दा केही असामान्य भइरहेको बुझाउँछ । पुँजीले आर्थिक वृद्धिलाई मात्र नपछ्याइरहेको र सुरक्षा खोजिरहेको यसले संकेत दिने विश्लेषकहरू बताउँछन् ।
राम्रोसँग सञ्चालन भइरहेका बजारहरूमा लगानीकर्ताहरूले प्रतिफलबाट औचित्य साबित हुने अवस्थामा मात्र जोखिम लिन्छन् । आर्थिक वृद्धि बलियो र अनुमानयोग्य भएमा सेयर, कर्पोरेट बोन्ड र अन्य वित्तीय सम्पत्तिहरूले राम्रो प्रदर्शन गर्छन् । वस्तुहरूले मुख्यतया आपूर्ति र माग अनुसार प्रतिक्रिया दिन्छन् ।
तर, वित्तीय सम्पत्तिहरूमाथिको विश्वास कमजोर हुँदा लगानीकर्ताहरूले हार्ड एसेट्स (ठोस सम्पत्ति) तर्फ लगानी मोड्न थाल्छन् भनी अर्थशास्त्रीहरूले भन्ने गरेका छन् । यसमा धातु, ऊर्जा, जमिन र अन्य मूर्त स्रोतहरू समावेश हुन्छन् । तिनलाई केन्द्रीय बैंक वा सरकारले सिर्जना गर्न सक्दैनन् । यस्तो परिवर्तन आर्थिक चक्रको अन्तिम चरणमा तीव्र हुने गरेको संकटको समयमा सम्पत्ति विनियोजन सम्बन्धी प्राज्ञिक अध्ययनहरूले देखाएका छन् । बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (बीआईएस) ले गरेको अध्ययनले पनि त्यही देखाउँछ ।
यो परिवर्तन आशावादिताले नभई डरले सम्भव बनाउँछ । लगानीकर्ताहरूले सुन, चाँदी र औद्योगिक वस्तुहरू समेतलाई एकैसाथ किनेर सेयर र बोन्डबाट आउने अपेक्षित प्रतिफलले अब जोखिमलाई धान्न सक्दैन भनी संकेत गरिरहेका हुन्छन् । सरल शब्दमा भन्नुपर्दा, आर्थिक प्रणालीले सुरक्षित अनुभव गरिरहेको छैन ।
आधुनिक समयमा देखिएका सबैभन्दा कष्टकर आर्थिक मन्दीहरू भन्दा पहिले अहिलेको जस्तै परिदृश्य देखा परेका थिए । सन् १९९० को दशकको अन्त्यमा डट्कम बबलको समयमा इन्टरनेट र प्रविधिको बारेमा आशावादी हुँदा सेयर बजार ह्वात्तै उकालो लागेको थियो । त्यही समयमा वस्तुहरूको मूल्य पनि सुस्त गतिमा मजबुत हुन थाल्यो ।
वर्षौंको गिरावटपछि सुन स्थिर भयो र प्रविधि कम्पनीका सेयरहरूको भ्यालुएशन चरम सीमामा पुग्दा पनि औद्योगिक धातुहरूको मूल्य बढ्यो । सन् २००० सम्ममा आइपुग्दा त्यो बबल फुट्यो । त्यसले बजारको खर्बौं डलर मूल्य समाप्त गरिदियो र अमेरिकी अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्यो ।
सन् २००६ र २००७ को आरम्भमा पनि यस्तै प्रवृत्ति देखापरेको थियो । वस्तुहरूको मूल्य व्यापक रूपमा बढ्यो । तेलको मूल्य ह्वात्तै बढ्यो । सुन स्थिर रूपमा उकालो लाग्यो । तामाले कीर्तिमानी स्तर पार गरिदियो । त्यस समयमा विश्वव्यापीकरण र वित्तीय नवप्रवर्तनमा प्रमुख विचारधाराहरू केन्द्रित थिए । केही महिनाभित्रै विश्वव्यापी आर्थिक संकट उत्पन्न भयो । त्यसले अत्यधिक लेभरेज, कमजोर बैंक र धान्न नसकिने ऋणको समस्यालाई छताछुल्ल पारिदियो ।
फेरि सन् २०१९ मा कोभिड महामारीभन्दा अगाडि कमोडिटी मार्केटहरूले तनावको संकेत देखाए । अमेरिकाको रेपो बजार ठप्प भयो । त्यसले फेडरल रिजर्भलाई आपतकालीन तरलता प्रवाह गर्न बाध्य बनायो । सेयर बजार शान्त देखिए पनि सुनको मूल्य ह्वात्तै बढ्न थाल्यो । महामारीको धक्का आउनुअघि नै वित्तीय कमजोरीहरू विद्यमान थिए भनी अर्थशास्त्रीहरूले पछि स्वीकार गरे ।
अहिलेको जस्तो वस्तुहरूको एकसाथ मूल्यवृद्धिले आर्थिक सुस्तता वा मन्दीलाई ननिम्त्याएको इतिहासमा कुनै सर्वमान्य उदाहरण छैन भनी अर्थशास्त्रीहरू बताउँछन् ।
मुद्रास्फीतिका कारण वस्तुहरूको मूल्य बढिरहेको छ भन्ने सामान्य तर्क सुनिने गर्छ । मुद्रास्फीतिले मूल्य बढाउँछ तर मुद्रास्फीतिबाट प्रेरित मूल्यवृद्धिमा प्रायः क्षेत्रगत भिन्नताहरू देखिन्छन् । ऊर्जाको मूल्य धातुहरूको भन्दा छिटो बढ्न सक्छ । मौसमका कारण खाद्यान्नको मूल्य बढ्न सक्छ । बहुमूल्य धातुहरू अक्सर पछि पर्छन् ।
अहिले फरक परिदृश्य देखिन्छ । मुद्रास्फीति मुख्य सञ्चालक भएको अवस्थामा सेयर जस्ता वित्तीय सम्पत्तिहरूले कम्तीमा आरम्भिक चरणमा अक्सर कमोडिटीहरूभन्दा राम्रो प्रदर्शन गर्छन् ।
वर्तमान प्रवृत्तिले त्यसको साटो वित्तीय संरचनाहरूमा विश्वासको कमीतर्फ संकेत गरेको छ । उच्च ऋणको स्तर, बढेको ब्याजदर र सुस्त उत्पादकत्व वृद्धिले विश्वव्यापी आर्थिक प्रणालीलाई कमजोर बनाउँदैछ । उच्च ब्याजदरमा ऋण तिर्न गाह्रो हुन्छ । सरकार, निजी क्षेत्र र सर्वसाधारण परिवारहरूले यसको दबाब अनुभव गर्छन् । त्यसैले यो मूल्य बढिरहेको भन्दा पनि विश्वास घटिरहेको विषय हो ।
अहिले विश्वव्यापी ऋण जुन स्तरमा पुगेको छ त्यसलाई धेरै अर्थशास्त्रीहरूले ऐतिहासिक रूपमा खतरनाक मानेका छन् । इन्स्टिच्युट अफ इन्टरनेशनल फाइनान्सको तथ्यांकअनुसार, विश्वव्यापी ऋण अहिले विश्वको समग्र जीडीपीभन्दा तीन गुणा बढी छ । मुद्रास्फीतिसँग लड्न केन्द्रीय बैंकहरूले आक्रामक रूपमा ब्याजदर बढाएका छन् । तर, ती उच्च दरहरू अहिले यो विशाल ऋणको बोझसँग ठोकिरहेका छन् ।
ऋण लिने लागत आम्दानीको वृद्धि भन्दा छिटो बढ्दा प्रणालीहरू अस्थिर बन्ने हाइमन मिन्स्की जस्ता अर्थशास्त्री र बीआईएसका पछिल्ला अनुसन्धाताहरूको शोधले देखाएको छ । त्यस विन्दुमा पुग्दा अप्रत्याशित स्थानहरूमा वित्तीय तनाव देखिन थाल्छ ।
कमोडिटीहरूले प्रायः यस तनावलाई चाँडै पत्ता लगाउँछन् । तिनीहरूको विश्वव्यापी कारोबार हुन्छ । तिनले पुँजी प्रवाहमा छिटो प्रतिक्रिया दिन्छन् र आर्थिक तथा मनोवैज्ञानिक दुवैथरी शक्तिहरूलाई प्रतिबिम्बित गर्छन् । पैसा व्यापक रूपमा कमोडिटीहरूमा जाँदा बुझ्नुपर्छ, लगानीकर्ताहरू चुपचाप उथलपुथलको तयारी गरिरहेका हुन्छन् ।
तामा निर्माण, उत्पादन र पूर्वाधारमा व्यापक रूपमा प्रयोग गरिन्छ । तामाको बढ्दो मूल्यलाई सामान्यतया आर्थिक वृद्धिको लागि सकारात्मक मानिन्छ । तर, सुनसँगै तामाको मूल्य बढ्दा फरक व्याख्या गर्नुपर्ने हुन्छ । बजारले भविष्यको मागको गलत मूल्यांकन गरिरहेको अवस्थामा यो संयोजन देखा पर्ने गर्छ भनी वित्तीय अर्थशास्त्रको अनुसन्धानले देखाउँछ । लगानीकर्ताहरूले वर्तमान स्थितिलाई नै भविष्यको रूपमा हेर्छन् जबकि वास्तविक उपभोग भने कमजोर हुन लागेको हुन्छ ।
आर्थिक चक्रको अन्तिम चरणमा मागका सूचकहरू बजारका संकेतहरूभन्दा पछि पर्छन् । कम्पनीहरूले कर्मचारी नियुक्त गरिरहन्छन् । उपभोक्ताहरूले खर्च गरिरहन्छन् । सेयर बजार आशावादी रहन्छ । यसैबीच, आर्थिक वृद्धि आधिकारिक तथ्यांकले देखाएको भन्दा छिटो कमजोर बन्दै भइरहेको छ भनी कमोडिटीहरूले चेतावनी दिन थाल्छन् ।
समष्टिगत आर्थिक तथ्यांकले सुस्तताको पुष्टि गरुन्जेल बजार पहिले नै अगाडि बढिसकेको हुन्छ ।
बजार र आर्थिक तथ्यांक बीचको यस अन्तरलाई प्राज्ञिक क्षेत्रले राम्रोसँग अध्ययन गरेको छ । बजारहरू भविष्यमुखी हुन्छन् । आर्थिक मोडलहरू विगतमुखी हुन्छन् । कुल गार्हस्थ्य उत्पादन, रोजगारी तथ्यांक र मुद्रास्फीतिका अंकहरू महिनौंपछि संशोधन गरिन्छन् ।
तर, कमोडिटी मार्केटले उत्पादक, व्यापारी र ठूला संस्थाहरूको वास्तविक समयको निर्णयहरूलाई प्रतिबिम्बित गर्दछ । तनाव अक्सर त्यहाँ पहिले नै देखिन्छ ।
विगतका संकटपछिका अनुसन्धानले बारम्बार एउटै प्रवृत्ति देखाएका छन् । चेतावनीका संकेतहरू देखिँदा तिनलाई अस्थायी अवरोध भनेर बेवास्ता गरियो । नीतिनिर्माताहरूले यसमा प्रतिक्रिया दिउन्जेलसम्म क्षति भइसकेको थियो ।
आर्थिक चक्रको अन्तिम चरणको सबैभन्दा खतरनाक विशेषता आत्मसन्तुष्टि (कम्प्लेसेन्सी) हो । सेयर बजार अक्सर शान्त रहन्छ किनभने कर्पोरेट आम्दानी अझै घटेको हुँदैन र तरलता अझै प्रवाह भइरहेको हुन्छ । लगानीकर्ताहरूले लचकता, नवप्रवर्तन र सफ्ट ल्यान्डिङका बारेमा ढुक्क बनाउने कथाहरू सुनाउँछन् । तर, वास्तविक सम्पत्तिहरूले भने अर्कै कथा सुनाइरहेका हुन्छन्।
बिहेभियोरल फाइनान्सका अध्ययनहरूले यस अन्तरलाई व्याख्या गरेका छन् । मानिसले आफ्ना अपेक्षाहरूलाई हालसालैको अनुभवमा आधारित बनाउँछन् । बजार लामो समयसम्म स्थिर रहँदा जोखिमहरूलाई कम आकलन गरिन्छ । ठोस सम्पत्तिहरू कथाहरूमा भर पर्दैनन् । तिनीहरूले प्रवाहलाई प्रतिक्रिया दिन्छन् । प्रवाह परिवर्तन हुँदा तिनीहरू पनि चल्छन् ।
वित्तीय क्षेत्रमा सबैभन्दा भरपर्दो संकेतहरू आत्मविश्वासपूर्ण पूर्वानुमानहरूबाट विरलै मात्र आउँछन् । ती पैसा वास्तवमा कता गइरहेको छ भन्ने कुराको अवलोकन जरुरी हुन्छ । अहिले पैसा चौतर्फी रूपमा कमोडिटीहरूतर्फ गइरहेको छ ।
यसको अर्थ भोलि नै अर्थतन्त्र ध्वस्त हुन्छ भन्ने होइन । तर, तनाव बढिरहेको छ भन्ने यसको अर्थ हो । प्रणालीहरू विरलै मात्र चेतावनी विना नै भत्कन्छन् । स्पष्ट नहुन्जेलसम्म चेतावनीलाई बेवास्ता गरिन्छ ।
विगतका केही दशकका प्रत्येक ठूला वित्तीय संकटभन्दा अगाडि यस्ता संकेतहरू वास्तविक सम्पत्तिहरूमा देखिएका थिए । अर्थशास्त्रीहरूले जोखिमको वास्तविकतालाई स्वीकार गर्नुभन्दा धेरै अघि नै ती कुरा देखिएका थिए ।
नेपालका लागि यसको अर्थ के हो ?
नेपालका लागि विश्वव्यापी वस्तुको तनावले प्रत्यक्ष र अप्रत्यक्ष दुवै किसिमका परिणामहरू ल्याउँछ । नेपाल इन्धन, धातु र औद्योगिक कच्चा पदार्थको आयातमा अत्यधिक निर्भर छ । तेल र धातुको मूल्य एकसाथ बढ्दा आयात खर्चमा वृद्धि हुन्छ । त्यसले वैदेशिक मुद्रा सञ्चिति र भुक्तानी सन्तुलन (ब्यालेन्स अफ पेमेन्ट्स) मा दबाब दिन्छ ।
वस्तुको मूल्यमा आउने धक्काले अक्सर नेपालको व्यापार घाटा बढाउने र नेपाली रुपैयाँलाई कमजोर बनाउने गरेको नेपाल राष्ट्र बैंक र विश्व बैंकका विगतका अध्ययनहरूले देखाएका छन् ।
रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई सुरक्षा कवच प्रदान गरिरहेको छ । तर, विश्वव्यापी आर्थिक मन्दीले आप्रवासी कामदारहरूको रोजगारीमा असर गर्छ । विशेषगरी, निर्माण र उत्पादन केन्द्रित अर्थतन्त्रहरूमा यसको असर टड्कारो हुन्छ । विश्वव्यापी आर्थिक वृद्धि कमजोर भएमा आयात लागत बढ्दै जाँदा विप्रेषण आप्रवाह सुस्त हुन सक्छ ।
उच्च विश्वव्यापी अनिश्चितताले ब्याजदर र पुँजी प्रवाहलाई पनि असर गर्छ । नेपालको बैंकिङ प्रणालीले पहिलेदेखि नै सम्पत्तिको गुणस्तर र तरलताका चुनौतीहरूको सामना गरिरहेको छ । आर्थिक गतिविधि सुस्त भएमा त्यसले थप तनाव बेहोर्न सक्छ । खर्चको दबाब बढ्दै जाँदा सरकारी राजस्व कमजोर हुन सक्छ ।
जटिल विश्वव्यापी वित्तीय उत्पादनहरूमा नेपालको सीमित पहुँच हुनु सकारात्मक पक्ष हो । यसले प्रत्यक्ष जोखिमलाई घटाउँछ । तर, व्यापार, विप्रेषण, मुद्रास्फीति र विश्वासको संकटमार्फत पर्ने अप्रत्यक्ष प्रभावहरू भने उल्लेख्य हुन सक्छन् ।
नीतिनिर्माताहरू सतर्क हुनु जरुरी छ । कमोडिटीहरूको मूल्यमा विश्वव्यापी चेतावनीका संकेतहरू देखा पर्न थालेकाले सुरक्षाकवचहरू निर्माण गर्नु, बैंक सुपरिवेक्षणलाई सुदृढ बनाउनु र अत्यधिक वित्तीय तथा मौद्रिक जोखिमबाट बच्नु आवश्यक छ।








प्रतिक्रिया