वर्ष २०२५

संशयमा पर्यटन, नकारात्मक सन्देश चिर्दै आगमनमा सुधार

५ तारेमा लगानी बढ्दै गर्दा न्यूनतम अकुपेन्सी पुर्‍याउनै चुनाैती


पर्यटन क्षेत्रमा धमाधम बढिरहेको सुविधासम्पन्न संरचना, साहसिक तथा मनोरञ्जनमा बढ्दै गएको लगानी र नेपाल विश्व समुदायसामू आकर्षक प्राकृतिक सम्पदासहितको गन्तव्यको रुपमा परिचित हुनुले यसको लाभ समग्रमा आतिथ्यता उद्योगले पाउन थालेका छन् ।

काठमाडौं । सन् २०२५ पर्यटन क्षेत्रका लागि त्रासदीपूर्ण रहे पनि नकारात्मक परिस्थितिका बीच पर्यटक आगमन संख्यामा भने सुधार आएको छ । जेनजी आन्दोलन र बाढीपहिरोका कारण पर्यटन उद्योगबारे अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश प्रवाह भएको थियो ।

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा पर्यटन क्षेत्रका ठूला संरचना मानिएका अन्तर्राष्ट्रिय चेन होटलहरूमै आक्रमण हुन पुग्यो । यसले विश्वबजारमा नकारात्मक सन्देश फैलाए तापनि सकारात्मक प्रचारप्रसारका प्रयासले वर्षको अन्त्यतिर पर्यटकको आगमन उत्साहजनक देखिएको छ ।

आन्दोलनका क्रममा भौतिक संरचनामा भएको आक्रमणको निशानामा पर्यटन सेवामा क्रियाशील १५ वटा होटल परेका छन् । नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययन प्रतिवेदन अनुसार आन्दोलनको निशानामा परेकामध्ये काठमाडौंका चारसहित देशभरका १५ वटा होटलमा क्षति पुगेको छ ।

होटलमा भएको क्षतिमध्ये सबैभन्दा धेरै नोक्सानी नक्सालस्थित अन्तर्राष्ट्रिय चेन होटल ‘हिल्टन’ ले व्यहोर्नुपरेको छ । हिल्टन होटलमा भएको भौतिक क्षतिका कारण करिब ७ देखि ८ अर्ब रुपैयाँ नोक्सान भएको अनुमान छ । साढे ८ अर्ब रुपैयाँको लगानीमा निर्मित यो होटल २०८१ साउनदेखि मात्र सञ्चालनमा आएको थियो, जसमा १७२ वटा कोठा थिए ।

यस्तै, बौद्धस्थित हायात रिजेन्सी, बालुवाटारको वर्णवास म्युजियम होटल र होटल अलफ्टमा पनि क्षति पुगेको छ । काठमाडौं, पोखरा, भैरहवा र झापाका होटलहरू ‘जेनजी’ आन्दोलनबाट सबैभन्दा बढी प्रभावित हुनुले सन् २०२५ पर्यटनका लागि त्रासदीपूर्ण रहेको होटल संघ नेपाल (हान) को निष्कर्ष छ ।

पर्यटन बोर्डको प्रतिवेदन अनुसार पोखराका होटल सरोवर, बार दीपाल रिसोर्ट, होटल गुडविल, होटल एडमास र होटल बगैँचा रिसोर्ट पनि आन्दोलनबाट प्रभावित भएको नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, भैरहवाका ड्रिमल्याण्ड इन्टरनेसनल, टुलिप, मौर्य र होटल रेडसनमा पनि क्षति पुगेको छ । झापाको धुलाबारीस्थित मेची क्राउन प्लाजासमेत आन्दोलनको चपेटामा परेपछि पर्यटक आगमनमा असर पर्ने त्रासले पर्यटन क्षेत्र त्रसित बनेको थियो ।

होटल क्षेत्रमा परेको प्रभाव र पर्यटकीय त्रासदीका बाबजुद सन् २०२४ को तुलनामा २०२५ मा पर्यटक आगमन भने सकारात्मक देखिएको छ । पछिल्लो ११ महिनामा १० लाख ६० हजार पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको तुलनामा ५ हजारले मात्र बढी देखिए तापनि डिसेम्बर महिनाको तथ्यांक जोडिन बाँकी रहेकाले अन्तिम नतिजा अझै राम्रो हुने अपेक्षा गरिएको छ ।

३३ वटा पाँचतारे होटल, अझै बढ्दै नयाँको ट्रेन्ड

नेपालमा पर्यटक आगमनको दरमा उत्साहजनक सुधार हुन नसकेको भए तापनि विदेशी चेनसहितका पाँचतारे होटल भने थपिँदै गएका छन् । सन् २०२५ को ११ महिनाको तथ्यांक केलाउँदा पर्यटक आगमन जम्मा ५ हजारले मात्र बढेको छ । गत वर्ष सन् २०२४ को ११ महिनामा नेपालमा १० लाख ५५ हजार पर्यटक आएका थिए । यस वर्षको पर्यटक आगमन पनि गत वर्षकै हाराहारीमा छ । जम्मा ५ हजार बढेर १० लाख ६० हजार मात्र पुगेको छ ।

तर, नेपालमा थपिएका पाँचतारे होटलको संख्या भने पर्यटक आगमनको तुलनामा अस्वाभाविक देखिन्छ । हाल पर्यटन विभागबाट अनुमति लिएका ३३ वटा पाँचतारे होटलमध्ये ५ वटा बन्द अवस्थामा छन् । बाँकी होटललाई पनि न्यूनतम ‘अकुपेन्सी’ पुर्‍याउन धौधौ परिरहेको होटल संघ नेपाल (हान) को भनाइ छ । केही होटलमा राम्रो अकुपेन्सी भए तापनि धेरैजसोमा भने न्यून रहेको देखिएको छ ।

हानका महासचिव साजन शाक्यका अनुसार ‘जेनजी’ आन्दोलनपछिको अन्योल र जटिलताका बीच पर्यटन क्षेत्र संशयमै चल्यो। आन्दोलनको राप र पर्यटकीय सिजनमै फैलिएको नकारात्मक सन्देशका कारण पर्यटन उद्योग थप जटिल हुने अनुमान गरिए पनि छोटो समयमै यसले गति लिन सकेको शाक्यको बुझाइ छ ।

अहिले पर्यटन उद्योगबारे भइरहेका नकारात्मक टिप्पणीलाई चिर्दै व्यवसायीहरू स्तरीय सेवा र सुविधा दिन जुटिरहेका छन् । पर्यटकीय सेवा र सुविधामा व्यवसायीले कुनै सम्झौता नगरेको र अझै गुणस्तरीय सेवा दिन प्रतिबद्ध हुनु नै अहिलेसम्म व्यवसाय टिक्नुको मुख्य आधार भएको शाक्य बताउँछन् ।

नेपाल पर्यटन बोर्डका अनुसार जेनजी आन्दोलन, बाढीपहिरो र नेपालबारे फैलिएका नकारात्मक सन्देशलाई चिर्ने गरी गरिएको प्रचारप्रसार तथा दुईवटा विदेशी चेन होटलमा भएको आक्रमणको असरलाई कम गर्न सक्नु नै पर्यटक आगमन टिकाइराख्ने कडी बन्यो ।

विगतमा नेपालको पर्यटन उद्योग ठूला राजनीतिक परिवर्तन र घटनाहरूका बीच पनि सुरक्षित रहेको उदाहरण दिँदै सकारात्मक ऊर्जाका साथ प्रचार गरिएका कारण पर्यटक आगमनलाई गत वर्षको तुलनामा घट्न नदिई सकारात्मक वृद्धिदरमै राख्न सकिएको बोर्डका अधिकारी जोशीको भनाइ छ ।

५ वटा पाँचतारे होटल बन्द

थपिँदै गएका पाँचतारे होटलसँगै पछिल्लो समय बन्द हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । आन्तरिक व्यवस्थापन कमजोर भएर बन्द भएकादेखि आन्दोलनको मारमा परेकासम्मका कारणले होटल सञ्चालन हुन नसकेका उदाहरण नेपालमा देखिएका छन् ।

हाल नेपालमा पोखराको फूलबारी रिसोर्ट, अन्तर्राष्ट्रिय चेन होटल हिल्टन, हायात रिजेन्सी, अन्नपूर्ण र साङ्ग्रीला होटल बन्द छन् । अरू होटलमा पनि अपेक्षाअनुसारको ‘अकुपेन्सी’ नभएको होटल संघ नेपाल (हान) को भनाइ छ ।

नेपालमा पाँचतारे होटल सञ्चालन गरेर पनि लामो समयसम्म ऋणमा थिचिएर बन्द भएको पोखराको ‘होटल द फूलबारी लिमिटेड’ कहिले खुल्छ भन्ने टुङ्गो छैन । २०५६ कात्तिक १९ मा स्तर वर्गीकरण भएर सञ्चालनमा आएको यो होटलले त्यसपछि नवीकरणसमेत गराएको छैन । पाँचतारे होटल खुल्ने सूचीमा सोल्टी, अन्नपूर्ण, एभरेष्ट र पोखरा ग्राण्डपछि यो पाँचौँ नम्बरमा थियो ।

पियुसबहादुर अमात्यको यो होटलले लिएको ऋण तिर्न नसकेर लिलामीमा गइसके पनि त्यसलाई रोक्न सफल भएका अमात्यले होटल सञ्चालनमा भने ल्याउन सकेका छैनन् । नेपालमा पर्यटकको आगमन बढेसँगै होटलको सङ्ख्या बढे तापनि प्रतिस्पर्धामा आउन नसक्नु र सञ्चालनमा समस्या हुनुले यो होटल लामो समयदेखि बन्द छ ।

कोरोना महामारीपछि बन्द भएको दरबारमार्गको पाँचतारे होटल ‘अन्नपूर्ण’ भने नयाँ व्यवस्थासहित सञ्चालनमा आउँदै छ । यो होटल ‘अन्नपूर्ण स्क्वायर’ का नाममा सपिङ मलसहितको भव्य व्यापारिक भवन बनेर सञ्चालनमा आउने तयारीमा छ । यो होटललाई व्यवसायी मीनबहादुर गुरुङ र उमेश श्रेष्ठले रिब्रान्डिङका साथ सञ्चालन गर्दै छन् । हाल मर्मत-सम्भार भइरहेकाले यो होटल बन्द छ ।

भदौ २४ को ‘जेनजी’ आन्दोलनपछि भएको पूर्ण क्षतिका कारण अन्तर्राष्ट्रिय चेन होटल ‘हिल्टन काठमाडौं’ बन्द भएको छ । उक्त आन्दोलनमा सबैभन्दा ठूलो क्षति व्यहोरेको यो होटल आवश्यक मर्मत गरेर सञ्चालनमा आउन कम्तीमा एक वर्ष लाग्ने भएको छ । त्यतिन्जेलका लागि होटलले आफ्ना अधिकांश स्थायी कर्मचारीलाई विदेशी चेन होटलहरूमा पठाएको छ । होटल मर्मत भई सञ्चालनमा आएपछि उनीहरू पुनः नेपालमै फर्कने होटलको भनाइ छ । यो नेपालको ‘पाँचतारे डिलक्स’ होटल हो । पर्यटन विभागले यसलाई पाँचतारेभन्दा माथिल्लो स्तरमा वर्गीकरण गरेको छ ।

सोही आन्दोलनकै कारण अर्को पाँचतारे चेन होटल ‘हायात रिजेन्सी’ समेत बन्द भएको छ । यो होटलमा पनि आंशिक क्षति पुगेको र व्यवस्थापनले होटल रिनोभेसन (पुनःनिर्माण) गर्न खोजेकाले सबै कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिएर एक वर्षका लागि घर पठाएको छ । यो होटलले आगामी सन् २०२६ को नोभेम्बरदेखि कर्मचारीलाई फिर्ता बोलाउने सर्त राखेको छ ।

यसअघि मर्मत-सम्भारकै कारण साङ्ग्रीला ग्रुपका दुईवटा होटल बन्द भएका छन् । यसको काठमाडौंको एउटा पाँचतारे र पोखराको चारतारे होटल नयाँ निर्माणका लागि एकैपटक भत्काइएको छ । नयाँ संरचना बनाएर सेवा दिने गरी साङ्ग्रीलाका काठमाडौं र पोखराका दुवै होटल बन्द भएको जानकारी सम्बन्धित होटलले दिएको छ ।

हाल नेपालमा ३३ वटा पाँचतारे होटलले पर्यटन विभागबाट अनुमति लिएका छन् । यीमध्ये बन्द भएका ५ बाहेक थप नयाँ होटलहरू पनि थपिएका छन् । पछिल्लो समय चितवनको पाँचतारे रिसोर्ट ‘रोयल टुलिप’ सञ्चालनमा आइसकेको भए तापनि विभागबाट स्तरीकरणको अनुमति भने पाइसकेको छैन ।

पर्यटन विभागमा दर्ता भएका पाँचतारे होटलहरुकाे विवरण

नयाँ वर्ष २०२६ : पर्यटनमा सकारात्मक संकेत

पर्यटन क्षेत्रमा सन् २०२६ ले थप सकारात्मक सन्देश दिने देखिएको छ । २०२६ मा पर्यटक आगमन थप बढ्ने र नयाँ होटलहरू पनि थपिने भएका छन् । काठमाडौंको बूढानीलकण्ठमा पाँचतारे ‘रोयल टुलिप रिसोर्ट’ सञ्चालनमा आउनेछ । यस्तै, साङ्ग्रीला होटलका पोखरामा दुई र चितवनमा एउटा गरी तीनवटा पाँचतारे स्तरका होटल सञ्चालनमा आउने भएका छन् ।

पोखराको एउटा र चितवनको होटलमा अन्तर्राष्ट्रिय चेन होटल ‘इन्टरकन्टिनेन्टल’ भित्रिएको छ भने पोखराको अर्को साङ्ग्रीला रिसोर्टमा ‘इन्डिगो’ होटल भित्रिएको छ । साङ्ग्रीलाका यी तीनवटै होटल सन् २०२६ मा सञ्चालनमा आउने तयारीमा छन् ।
होटल संघ नेपाल (हान) का अनुसार अन्य थप नयाँ होटलहरू पनि आउने क्रममा छन् । कतिपय होटल निर्माण सम्पन्न गरी सञ्चालनमा आएपछि मात्र हानको सम्पर्कमा आउने भएकाले अहिले नै ठ्याक्कै कति होटल थपिन्छन् भन्न नसकिने हानको भनाइ छ ।

पछिल्लो समय पर्यटनमा साहसिक तथा मनोरञ्जनात्मक गतिविधिमा पनि पर्यटकीय पूर्वाधारहरू बढिरहेका छन् । पर्यटन विभागका अनुसार हाल नेपालमा ५६ वटा मनोरञ्जनात्मक गतिविधिका संस्थाहरू दर्ता भएका छन् । गत असार मसान्तसम्म दर्ता भएका यी साहसिक तथा मनोरञ्जनका व्यवसायमा आकर्षण बढिरहेकाले सन् २०२६ मा थप संस्थाहरूले अनुमति लिन सक्ने अनुमान विभागको छ ।