पर्यटकीय सेवा र सुविधामा प्रतिस्पर्धा चलेसँगै होटलले पनि क्षमतालाई अब्बल बनाइरहेका छन् । नयाँले व्यावसायिक धक्का दिने भएपछि पुराना पाँचतारे होटल स्तरोन्नति हुने र चारतारेले पाँचतारेमा प्रवेश गरेर पर्यटकीय सेवामा अब्बल बन्न प्रतिस्पर्धा गरिरहेका छन् ।

काठमाडौं । नयाँले चुनौती दिन थालेपछि पुराना पाँचतारे होटल धमाधम स्तरोन्नति हुन थालेका छन् । पछिल्लो एक दशकमा पाँचतारे होटल सञ्चालन गर्ने र नयाँ क्षमता र संरचना बनाउने क्रम बढ्न थालेसँगै पुरानाले चुनौती महशुस गर्न थालेका हुन् ।
पुराना संरचनामा बनेको होटलले नयाँसँग प्रतिस्पर्धा गर्न र समयसापेक्षित हुँदै पर्यटक आकर्षित गर्न स्तरोन्नति हुन थालेका हुन् । नेपालमा पाँच दशकभन्दा लामो विरासत बनाएकासम्मका होटल पुनरसंरचित भइरहेका छन् । पाँचारे होटल अन्नपूर्ण, सांग्रिला, मल्ल, याक एण्ड यति, एभरेष्ट होटलले स्तरोन्नतिसहितका काम गरेका छन् ।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र लिटिल एन्जल्सका सञ्चालक उमेश श्रेष्ठ समूहले बहुमत सेयर खरिद गरेर अन्नपूर्ण होटल नयाँ स्वरुपमा आउँदै छ । नयाँ लगानीकर्ता भित्रिएसँगै यो होटललाई अन्नपूर्ण स्क्वायर बनाएको छ भने भारतीय प्रिमियर ब्राण्ड आईसीटी वेलकम भित्र्याएर धमाधम भव्य महलको रुपमा परिणत हुँदै छ ।

गुरुङले दक्षिण एसियाकै उत्कृष्ट होटल बनाउने घोषणा गरेका छन् । यो होटललाई नेपालको लक्जरी आतिथ्यताको होटल बनाउने योजनाका नयाँ संरचनामा होटल बनिरहेको छ । डेढ सय कोठा क्षमताको यो होटल अब नयाँ संरचनामा आउँदा भने व्यापारिक महलसहित साढे ३ सय कोठाको हुने भएको छ ।
अन्नपूर्ण दरबारमार्गको पुरानो पाँचतारे होटल हो । कोरोना महामारीपछि सञ्चालनमा आउन नसकेको यो होटल एकैपटक नयाँ संरचना र लगानीकर्ताबाट भव्य रुपमा सञ्चालनको तयारी भएको छ । यो होटल आगामी ३ वर्ष भित्रमा सञ्चालनको तयारी भइरहेको छ । महामारीको बेला बनाएको योजना कार्यान्वयनबाट होटलाई दीर्घकालीन लाभ हुने गरी निर्णय गरिएको अन्नपूर्ण होटलकी सञ्चालक सिर्जना राणाको भनाइ छ ।
लाजिम्पाटको पुरानो विरासत बोकेको पाँचतारे होटल सांग्रिला पनि भत्काएर नयाँ संरचनामा बनिरहेको छ । यो होटल पनि पछिल्लो समय नयाँ होटलले दिएको चुनौतीपछि नयाँ संरचनामा निर्माण भइरहेको सांग्रिला होटलका कार्यकारी निर्देशक प्रविण पाण्डेले क्लिकमान्डुलाई जानकारी दिए । ‘बजारको आवश्यकता र समयसान्दर्भिक रुपमा होटल सञ्चालन गर्न नयाँ संरचनामा जानुपरेको हो,’ उनले भने ।

हाल भएको क्षमता बढाउन र आधुनिक सेवा सुविधा लागि सांग्रिला पुनरसंरचित हुँदै गएको हो । सांग्रिलाले काठमाडौंसँगै पोखरामा पनि होटल बनाइरहेको छ । काठमाडौंसहित पोखरामा विदेशी ब्राण्डमा होटल सञ्चालन हुने भएको पनि सांग्रिला काठमाडौंले जानकारी दिएको छ ।
काठमाडौंमा १ सय कोठाको होटल भएको सांग्रिलाले हाल भत्काएर पूरै नयाँ बनाइरहेको छ भने पोखरामा नयाँ होटल बनाइरहेको छ । पोखरामा एउटा होटल अहिले नै रहेको यसले अब पर्यटनमा आक्रामक प्रवेशको रणनीति बनाइरहेको छ ।
लैनचौरमा ५० वर्ष अगाडि स्थापना भएको पाँचतारे मल्ल होटल पनि स्तरोन्नति गर्दै छ । मल्लले पाँचतारे डिलक्स होटलको रुपमा संचालन गर्ने गरी योजना बनाएको र त्यसका लागि वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत गराउने तयारीमा छ । होटलको उक्त प्रतिवेदन तयार पारेर आवश्यक स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पेश गरेको छ ।
हाल ११९ कोठाको यो होटल स्तरोन्नति हुने भएको छ । यो सन् २०३२ साउन १४ मा दर्ता भएको होटल हो । यसले ७५ कोठासहित चारतारे स्तरको होटल सञ्चालन गरेको थियो भने पछि स्तरोन्नति गरेर पाँच तारे भएको होटल हो ।

मल्ल होटल ३० वर्षदेखि ११९ कोठमामा १७५ बेड क्षमतामा सञ्चालन भइरहेको छ । होटल मल्लमा ब्यांक्वेट हल, कन्फेरेन्स हल, मिटिङ हल, ज्याकुजी, स्पा, स्टीम, साउन, मसाज, फिटनेस सेन्टर, स्विमिङ पुल सञ्चालनमा छ ।
काठमाडौंमा टुर प्याकेज लिएर आउने पर्यटक, सगरमाथा, अन्नपूर्ण, लाङटाङ, मुस्ताङ, क्षेत्रमा, ट्रेकिङ गर्ने र हिमालय आरोहरण गर्ने पर्यटकले रुचाउने गरेका छन् । यसले शिवरात्री, मुक्तिनाथ दर्शन गर्ने पर्यटकको रोजाइमा पनि आफूलाई पार्न सफल भएको जानकारी दिएको छ ।
जम्मा २४ रोपनी क्षेत्रफलमा फैलिएको होटल पाँच तले छ । यो होटलले सन् २०२३ मा १९ हजार ४९३ कोठा मा पर्यटक राखेको छ । यसको अर्थ उक्त होटलको कोठा पर्यटकले सो वर्ष १९ हजार ४ सय पटक प्रयोग गरेका हुन् ।
सन् २०२४ मा १९ हजार ६८८, २०२५ मा १९ हजार ८८८५ कोठा पर्यटकले प्रयोग गरेको होटलमा अनुमान छ । यो होटलले पनि पाँच तले पार्किङसहितको नयाँ भवन बनाउने गरी वातावरणीय प्रभाव मूल्यांकन गराएको छ ।
यो होटलले कोठा बिक्रीबाट २०८१ म २ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ भने यस्तो कोठा बिक्रीबाट गत वर्ष २०८० मा १ करोड ५७ लाख मात्रै प्राप्त गरेको होटलले जानकारी दिएको छ ।
होटलले २०८१ म २ करोड ४२ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो वर्ष २०८० मा यस्तो आम्दानी २ करोड १२ लाख ४० हजार मात्रै रहेको पनि होटलले जानकारी दिएको छ । होटलमा हाल ११२ जना कर्मचारी छन् ।

दरबारमार्गको पुरानो होटल याक एण्ड यतिले पनि होटलका कोठाहरु रिनोभेसन गरेको छ । यसको कोठाहरुको रिनोभेसनको काम अहिले पनि चलिरहेको होटलले जानकारी दिएको छ ।
बानेश्वरको एभरेष्ट होटलले पनि पूरै रिनोभेसन गरेको छ । यो होटल २०७२ को भूकम्पछि लामो समय बन्द भएर पुनः सञ्चालनमा आएको हो । पाँचतारे होटल एभरेष्टले पर्यटकीय सेवा र सुविधामा पहिलेजस्तै अब्बलता प्रदर्शन गर्ने रणनीति बनाएको पनि बताएको छ ।

पछिल्लो समय होटल हिमालयले चारतारेबाट पाँच तारेमा स्तरोन्नतिको काम गरेको छ । यो होटल लामो समयदेखि चारतारेमा थियो भने यसले भर्खरे पाँचतारेमा स्तरोन्नति गरेको छ । १२६ कोठोको यो होटल पाँच तारेमा स्तरोन्नति भएको होटल संघ नेपाल (हान)ले गरेको सूचीकरणमा उल्लेख छ । हानले हिमालयलाई पाँचतारेको सूचीमा आवद्ध गराएको छ ।
३८ वर्षको आतिथ्यता सेवासँगै ललितपुरको पहिलो पाँचतारे होटल भएको दाबी हिमालयले गरेको छ । कुपन्डोलमा रहेको हिमालय होटलले स्तरोन्नति गराएरै पाँचतारे भएको जानकारी दिएको छ ।

बजारकाे आवश्यकता र हाेटले लामाे समय चारतारे सेवा दिएर गरेकाे तयारीपछि पाँचतारेमा स्तरोन्नति गरेकाे हाेटल हिमालयका प्रवन्ध निर्देशक दिनेश तुलाधरले क्लिकमान्डुलाई बताए । ‘पछिल्लो समय बजारमा राम्रो सेवा सुविधामा स्तरीय सेवा दिन सक्षम भएको र होटेलले काेठा संख्या बढाएसँगै पाँचतारेमा स्तरोन्नति भएको हो,’ उनले भने ।
भएका होटलको स्तरोन्नतिबाहेक नयाँ होटल आउने क्रम बढिरहेको छ । पछिल्लो समय पाँचतारेसँगै विदेशी चेनका होटलको बहार नै सुरु भएको छ । नेपालमा पर्यटकीय सम्भावना देखेर आएका होटललाई टिकाउन पर्यटक बनाढाउनुपर्ने र पर्यटकीय बजार बढाउनुपर्ने चुनौती सरकालाई थपिएको छ ।







प्रतिक्रिया