बिल नभएको २८ बोरा मोबाइल पार्टस् सहित चालक पक्राउ, तस्करीको आशंका


काठमाडौं । बील बिजक बिनाका १४ लाख भन्दा बढी बराबरको सामानसहित बस चालक पक्राउ परेका छन् । बुधबार बिहान धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको बसमा भन्सार छलि गरी सामानहरू ओसार पसार भई रहेको भन्ने सूचनाको आधारमा प्रहरी बिट बाफलबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं, नागार्जुन नगरपालिका ४ स्थित बाफलबाट बसको डिक्की भित्रबाट २८ बोरा मोबाइलको पार्टस जस्तो सामग्री नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान पश्चात् त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको छ । कञ्चनपुर, बेलौरी नगरपालिका ६ का २५ वर्षीय महेश चौधरी (चालक) पक्राउ परेका छन् । चौधरीका साथबाट २७ बोरामा ४०,५०० पिस टेम्पर ग्लास (अन्जादी १४ लाख १७ हजार रूपैयाँ), १ बोरामा १०० पिस एयरपड्स (अन्दाजी ८० हजार रूपैयाँ) बरामद गरिएको हो ।