
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र गोल्डस्टारको कार्यकारी निर्देशक विदुषी राणा पनि अटाएका छन् । रास्वपाले निर्वाचन आयोगमा बुझाएको सूचीमा राणा महिलातर्फको सूचीमा दोस्रो स्थानमा छन् । यसैगरी ढकाल पुरूषतर्फ दोस्रो स्थानमा छन् ।
ढकाल फुटबल चितवन क्लव (एफसी चितवन) का अध्यक्ष हुन् भने खेलकूदसँगै पर्यटन तथा हस्पिटालिटी व्यवसायमा संलग्न छन् । युवा समाजसेवी ढकाल सचिन बालेन साहको कोटाबाट परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छ । पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत सक्रिय उनको व्यवस्थापनमा इला ब्रान्डका होटल सञ्चालनमा छन् ।
यसैगरी गोल्डस्टार जुत्ता उत्पादन गर्ने किरण सुज म्यानुफ्याक्चरर्सकी कार्यकारी निर्देशक विदुषी राणा व्यावसायिक रणनीति र मार्केटिङ कार्यान्वयनमा दख्खल राख्छिन् । गोल्डस्टार ब्रान्डलाई पुनर्जीवित र परिष्कृत गर्न उनले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।
उनी पूर्व बैंकर हुन् भने आफ्ना पति तथा किरण सुज म्यानुफ्याक्चरर्स (गोल्डस्टार ब्रान्ड) र मोडर्न स्लिपर इन्डस्ट्रिज (हात्ती ब्रान्ड) का सीएमडी आमिर प्रताप जेबी राणासँग मिलेर यी प्रतिष्ठित फुटवेयर ब्रान्डलाई चर्चाको शिखरमा पुर्याएकी छन् । उनी देशका प्रभावशाली महिला उद्यमीको सूचीमा पर्छिन् ।
रास्वपाको समानुपातिक सूचीमा कोषाध्यक्ष लिमा अधिकारीको नाम महिलातर्फ तेस्रो नम्बरमा छ । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा व्यवसायी सुदीप आचार्यकी श्रीमती हुन् ।
यसैगरी महिलातर्फको सूचीमा चौथो नम्बरमा रहेकी समीक्षा बास्कोटा राष्ट्रिय सहकारी महासंघको पूर्वअध्यक्षसमेत रहेका व्यवसायी दीपक प्रकाश बास्कोटाकी छोरी हुन् । समीक्षा हाल बास्कोटा ग्रुपको सीईओ छिन् । बास्कोटा रास्वपा गाभिएको विवेकशील साझा पार्टीको अध्यक्ष थिइन् । उनका बुवा दीपक नेपाली कांग्रेसबाट मन्त्री समेत भएका थिए ।








प्रतिक्रिया