ट्राफिक प्रहरीले चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर धनीलाई बुझायो

56
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानबाट चोरी भएका ६० वटा मोटरसाइकल सवारीधनीलाई बुझाएको छ ।

शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले एकसाथ ३४ मोटरसाइकल र २६ वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् ।

ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा खोजी गर्दा नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला पारेको थियो । काठमाडौं उपत्यका स्थित काडाँघारी, पुल्चोक, स्वयम्भू, दरबारमार्ग, चापागाँउ, नेपालटार, टोखा, नयाँबसपार्क,बालकुमारी,भाटभटेनी भक्तपुर, लोकन्थली, नाला, बनेपा, बसन्तपुर, किर्तिपुर, ताथली, बौद्ध, सिनामंगल, थानकोट,सोह्रखुट्टे, कपन,सुडाल र जरङ्खु लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

ट्राफिक प्रहरीले आज बुझाइएका ६० ओटा सहित १८१ ओटा सवारी साधन गत साउन यता ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ ।

चोरीका १३ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न २५ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइसकेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा ४१७ ओटा र ०८१/०८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।

सवारीसाधन चोरी हुनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले अनुरोध गरेका छन् ।

मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न पनि उनले अनुरोध गरेका छन् ।