
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सएप मार्फत ठगीको प्रयास भएको देखिएको छ । उपमेयर डंगोलको नक्कली पहिचान बनाएर सर्वसाधारणलाई भ्रममा पार्दै पैसा असुल्न खोजेको डंगोलले सामाजिक सञ्जालमार्फत् खुलाएकी हुन् ।
अचम्म त के छ भने ती ठगले सुनितासँगै पैसा मागेका छन् ।
डंगोलका अनुसार ९७००४४५३७५ नम्बरको ह्वाट्सएप प्रोफाइलमा उपमेयर डंगोलको तस्बिर राखेर ‘सुनिता’ नामको एकाउन्ट सञ्चालन गरिएको छ । प्रयोगकर्ताले भावनात्मक कुरा गर्दै चलाखीपूर्ण शैलीमा कुराकानी अगाडि बढाउने गरेको पाइएको छ ।
डंगोलले सार्वजनिक गरेको ‘च्याट स्क्रिनसट’ अनुसार ती प्रयोगकर्ताले सुनितालाई आफू उपत्यका बाहिर रहेको’ र आमालाई अचानक स्ट्रोक भएर अस्पतालमा पैसा पठाउनुपर्ने अवस्था आएको भनेका छन् । ती प्रयोगकर्ताले तत्काल सहयोग स्वरूप २० हजार रुपैयाँ माग गर्दै पछि फिर्ता गरिदिने पनि भनेका छन् ।
रकम भुक्तानीका लागि उनले ईसेवाको क्यूआर कोड र मोबाइल नम्बर पठाउने गरेको छ । ईसेवामा उक्त खाता ला.. माझी (मोवाइल नम्बर: ९७०१५२९८८३) को नाममा दर्ता रहेको देखिएको छ । ठगले पैसा पठाउनका लागि ‘कृपया छिटो गरिदिनुस्’ भन्दै सुनितालाई आग्रह गरेका छन् ।
यस्तो छ, ठग र डंगोलको कुराकानीः
सुरूमा राति १० बजे ठगले सुनितालाई हेलो भन्दै म्यासेज गर्छन् । र भ्वाइस कल गर्छन् । शुक्रबार बिहान ठगको पुनः फोन आउँछ । २ जनाबीच ५ सेकेन्ड कुरा भएको देखिन्छ ।
त्यसपछि ठगले सुनितालाई म्यासेज गर्छन् , ‘हेलो सुन्नुस् त ।’
सुनिताले रिप्लाइ गर्छिन्, ‘भन्नुस् न ।’
त्यसपछि सुनिताको नाम र फोटो राखेका प्रयोगकर्ताले लेख्छन्, ‘म आउट अफ भ्याली आएको छु, मेरो ममीलाई स्ट्रोक आएपछि पैसा पठाउनु पर्ने भएको छ । हजुर सेन्ड गर्दिनु हुन्छ ?’
सुनिता लेख्छिन्, ‘कति ?’
‘२० हजार’
‘के मा ?’
‘ईसेवा, पख्नुस् म पठाउँछु ।’
‘ओके’
त्यसपछि ती प्रयोगकर्ता सुनितालाई ईसेवाको क्युआर कोड पठाउँछन् ।
क्यूआर कोड स्क्यान गर्दा ‘ला.. माझी’ नाम देखाउँछ ।
त्यसपछि सुनिता प्रश्न गर्छिन्, ‘म को हो चिन्नु भको छ ?’
उताबाट जवाफ आउँछ, ‘अम्, प्लिज क्विक । (चाँडो)’
सुनिता प्रश्न गर्छिन्, ‘साइबर क्राइम भनेको थाहा छ कि छैन ?’
त्यसपछि ठगको धम्की आउँछ, ‘बढी नबोल्नुस् तपाईं है । फेरि गारो पर्ला है ।’




त्यसपछि गराइन् सबैलाई सचेत
आफ्नो नाम र तस्बिर दुरुपयोग गरी ठगी भइरहेको जानकारी पाएलगत्तै उपमेयर डंगोलले सामाजिक सञ्जालमार्फत एक ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै सबैलाई सचेत गराएकी छन् । उनले ती सन्देशहरू आफूले नपठाएको र उक्त नम्बरसँग आफ्नो कुनै सम्बन्ध नरहेको प्रष्ट पारेकी छन् ।
उपमेयर डंगोलले लेखेकी छन्, ‘मेरो नाम र फोटो दुरुपयोग गरी नक्कली नम्बरबाट पैसा माग्ने कार्य भइरहेको छ । यो म होइन र यो मेरो नम्बर पनि होइन । कृपया यस्तो सन्देश आएमा पैसा नपठाउनुहोस् र कुनै पनि प्रतिक्रिया नदिनुहोस् ।’
उनले यस घटनालाई गम्भीरतापूर्वक लिँदै नेपाल प्रहरी र सम्बन्धित दूरसञ्चार निकायहरूलाई औपचारिक रूपमा जानकारी गराई कानुनी प्रक्रिया अगाडि बढाइसकेको पनि जानकारी दिएकी छन् ।








प्रतिक्रिया