रविसँग ठोस सहमति नभएपछि बालेनले आफ्नै नेतृत्वमा पार्टी अघि बढाउने तयारी गरेका हुन् ?

ओलीसँग झापामा आफू चुनाव लड्ने भन्दै ऋषि धमलालाई बालेनको प्रश्न: तपाईं कहाँ उठ्ने ?

1.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी राजनीतिक सक्रियता तीव्र पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको वार्ता ठोस निष्कर्षमा नपुगेपछि बालेन आफ्नै नेतृत्वमा नयाँ शक्ति निर्माण गर्ने गृहकार्यमा जुटेका हुन् ।

प्रतिनिधिसभाको आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने मिति पुस १३ र १४ नजिकिँदै गर्दा बालेनले राजनीतिक भेटवार्ताको केन्द्र ललितपुरको कुपण्डोलस्थित सहयोगी कुमार व्यञ्जनकारको निवासलाई बनाएका छन् ।

बालेनले बुधबार कुपण्डोलमा विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता र कलाकारहरूसँग सामूहिक र छुट्टाछुट्टै छलफल गरेका छन् ।

छलफलमा सहभागी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले बालेनले पुराना दलको विकल्पमा नयाँ शक्तिहरू एकीकृत हुनुपर्ने प्रस्ताव राखेको पुष्टि गरे ।

छलफलमा राप्रपाका ज्ञानेन्द्र शाही, जनमत पार्टीका सीके राउत, जेनजी अभियानका सागर ढकाल, रक्षा बम, केपी खनाल, मिलन पाण्डेका साथै चिकित्सक डा. भगवान कोइराला र कलाकार निश्चल बस्नेत लगायतको सहभागिता थियो ।

मिडियाकर्मीहरू सुरजसिंह ठकुरी र ऋषि धमलासँग पनि बालेनले चुनावी सहकार्यबारे परामर्श गरेका छन्।

स्रोतका अनुसार बालेनले निर्वाचन आयोगमा दर्ता भइसकेको ‘देश विकास पार्टी’ लाई सक्रिय बनाएर निर्वाचनमा जाने तयारी गरेका छन् ।

हाल सन्ध्या खनाल अध्यक्ष रहेको यो पार्टी पहिले इन्जिनियर अनन्तराज घिमिरे नेतृत्वको ‘हाम्रो नेपाली पार्टी’ लाई अद्यावधिक गरेर बनाइएको हो । बालेनले स्थानीय तह निर्वाचनमा जितेकै ‘लौरो’ चुनाव चिह्न लिएर देशव्यापी रूपमा नयाँ शक्तिलाई समेट्ने मुड बनाएका छन् ।

राजनीतिक वृत्तमा सबैभन्दा चर्चाको विषय बालेनको चुनावी क्षेत्र बनेको छ । पत्रकार ऋषि धमलालाई बालेनले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भन्दै धमलालाई ‘तपाईं कहाँबाट चुनाव लड्ने’ भन्दै प्रश्न गरे ।

गत सोमबार रास्वपा सभापति रवि लामिछानेसँग कमलपोखरीमा भएको मध्यरातको छलफल ठोस निष्कर्षमा नपुगेपछि बालेनले छुट्टै बाटो रोजेका हुन् ।

बालेन निकट स्रोतका अनुसार रविले पार्टीको विधान, केन्द्रीय समिति र शक्ति बाँडफाँटबारे ठोस प्रस्ताव नगरेकाले बालेनले अरूको नेतृत्व स्वीकार नगर्ने संकेत गरेका हुन् । बाहिर चर्चा भए जस्तो रास्वपाले बालेनलाई प्रधानमन्त्रीको ठोस प्रस्ताव नगरेको दाबी गरिएको छ ।

महानगरको कामसँगै राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्ने तयारीमा रहेका बालेनले अबको केही दिनभित्रै आफ्नो राजनीतिक मार्गचित्र औपचारिक रूपमा सार्वजनिक गर्ने बुझिएको छ । नयाँ र पुराना शक्तिबीचको समीकरण कस्तो बन्ने भन्ने विषयले अहिले नेपाली राजनीति तरंगित बनेको छ ।