चन्द्रमामा आणविक भट्टी बनाउन खोज्दै रुस


एजेन्सी । विश्वका प्रमुख शक्तिहरू पृथ्वीको एक मात्र प्राकृतिक उपग्रहका रूपमा रहेको चन्द्रमाको अन्वेषण गर्न आतुर भइरहँदा रुसले आगामी दशकमा त्यहाँ आणविक भट्टी राख्ने योजना बनाएको छ ।

चन्द्र अन्तरिक्ष कार्यक्रम र संयुक्त रुसी–चिनियाँ अनुसन्धान केन्द्रलाई ऊर्जा आपूर्ति गर्नका लागि रुसले यो कदम चाल्न खोजेको हो ।

सन् १९६१ मा सोभियत अन्तरिक्षयात्री युरी गागरिन अन्तरिक्षमा जाने पहिलो मानव बनेदेखि नै रुसले अन्तरिक्ष अन्वेषणमा आफूलाई अग्रणी शक्तिका रूपमा गर्व गर्दै आएको छ । तर, हालका दशकहरूमा ऊ अमेरिका र चीनभन्दा पछाडि परेको छ ।

सन् २०२३ अगस्टमा रुसको मानवरहित लुना–२५ मिसन अवतरण गर्ने प्रयास गर्दा चन्द्रमाको सतहमा ठोकिएपछि उसको महत्त्वाकांक्षामा ठूलो धक्का पुगेको छ । पहिले रुसको विशेषता मानिने अन्तरिक्षयानहरूको प्रक्षेपणमा इलोन मस्कले क्रान्ति ल्याएका छन् ।

रुसको सरकारी अन्तरिक्ष निगम रोसकोसमोसले एक विज्ञप्ति जारी गरी सन् २०३६ सम्ममा चन्द्रमामा पावर प्लान्ट निर्माण गर्ने योजना बनाएको र यसका लागि लाभोच्किन एसोसिएशन नामक एयरोस्पेस कम्पनीसँग सम्झौता गरेको जनाएको छ ।

रोसकोसमोसका अनुसार, रोभरहरू, एक वेधशाला र संयुक्त रुसी–चिनियाँ अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान केन्द्रको पूर्वाधार सहित रुसको चन्द्र कार्यक्रमलाई ऊर्जा प्रदान गर्नु यस प्लान्टको उद्देश्य हो ।

‘यो परियोजना स्थायी रूपमा सञ्चालन हुने वैज्ञानिक चन्द्र केन्द्रको निर्माण र एकपटकका मिसनहरूबाट दीर्घकालीन चन्द्र अन्वेषण कार्यक्रमतर्फको संक्रमणका लागि एक महत्त्वपूर्ण कदम हो,’ रोसकोसमोसले भनेको छ ।

रोसकोसमोसले उक्त प्लान्ट आणविक हुने कुरा स्पष्ट रूपमा त भनेको छैन तर त्यसमा रुसको सरकारी आणविक निगम रोसाटोम र रुसको अग्रणी आणविक अनुसन्धान संस्थान कुर्चाटोभ इन्स्टिच्युट समावेश रहेको जनाएको छ ।

रोसकोसमोसका प्रमुख दिमित्री बाकानोभले चन्द्रमामा आणविक पावर प्लान्ट राख्ने र पृथ्वीको भगिनी ग्रहका रूपमा चिनिने शुक्र ग्रहको अन्वेषण गर्नु निगमको एउटा उद्देश्य रहेको बताएका छन् ।

पृथ्वीबाट ३ लाख ८४ हजार ४०० किलोमिटर टाढा रहेको चन्द्रमाले पृथ्वीलाई आफ्नो अक्षमा अडिन सहयोग गर्छ । उसले जलवायुलाई थप स्थिर बनाउन पनि सुनिश्चित गर्छ । चन्द्रमाले विश्वका महासागरहरूमा ज्वारभाटा पनि उत्पन्न गराउँछ ।