
काठमाडौं । आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ परेका छन् । सोमबार २३ वर्षीय समन श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका टोलीले टेकुबाट पक्राउ गरेको हो ।
विभिन्न व्यक्तिसँग आर्थिक लाभ लिएर जागिर लगाइदिने भन्ने सूचनाको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए ।
श्रेष्ठले लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति पत्र प्राप्त गरेको नक्कली कागजात तयार गरेर देखाउँथे।
सरकारी कर्मचारीले लगाउने पोशाक समेत लगाउने गर्थे । उनले प्राप्त नगरेको ओहदाको परिचय देखाई फाईदा लिन खोज्ने कार्यमा उनी संलग्न रहेको पाइएको आचार्यको भनाइ छ ।
श्रेष्ठले सिंहदरबार लगायत अन्य सरकारी निकायमा गई नभएको ओहदा तथा परिचय दिने गरेका थिए । आफैं उपस्थित भएर वा फोनबाट सरकारी कर्मचारी भएको परिचय दिई सर्वसाधारणलाई प्रभावमा पार्ने गरेका थिए ।
उनले विभिन्न व्यक्तिहरूबाट आर्थिक लाभ लिएर जागिर लगाईदिन्छु भनि झुक्याएका थिए । उनको साथबाट बागमती प्रदेश लोक सेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति गरेको नियुक्ति पत्र , शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अधिकृत पदमा नियुक्ति पुष्टि सम्बन्धी पत्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिएको परिचय पत्र, अर्थ मन्त्रालयबाट तलब भुक्तानी सम्बन्धीको पत्र बरामद गरेको थियो ।
श्रेष्ठ ललितपुर महानगरपालिका १५ थसिखेल घर भइ हाल काठमाडौं महानगरपालिका २२, झोछे बस्ने गरेका थिए ।








प्रतिक्रिया