
काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले मंगलबार नेता लेखकलाई बयानका लागि उपस्थित हुन पत्र काटिएको जानकारी दिएका छन् । अनुसन्धानका लागि सरकारबाट थप एक महिनाको समय पाएको आयोगले घटनाको वस्तुस्थिति बुझ्न तत्कालीन गृहमन्त्रीलाई बोलाएको हो ।
भदौ २३ गते लेखक गृहमन्त्री पदमा बहाल रहेको समयमा काठमाडौंको संसद् भवन बाहिर १७ जना र सुनसरीको इटहरीमा २ जना गरी कुल १९ जनाले तत्कालै ज्यान गुमाएका थिए । त्यसको भोलिपल्ट अर्थात् भदौ २४ गते देशव्यापी रूपमा भएको विध्वंशकारी प्रदर्शनमा थप ठूलो जनधनको क्षति भएको थियो । यी दुई दिनको आन्दोलनमा कुल ७६ जनाको मृत्यु भएको थियो।
आन्दोलनका समयमा प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने आयोगले हालसम्म पत्र काटेको छैन । आयोगका अनुसार तत्कालीन गृहमन्त्री लेखकको बयान सकिएपछि मात्रै ओलीलाई बोलाउने तयारी छ ।
यद्यपि, पूर्वप्रधानमन्त्री ओलीले भने आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै बयान दिन नजाने अडान राख्दै आएका छन् । उनले आफू ‘गोली खान तयार हुने तर बयान दिन नजाने’ अभिव्यक्ति दिएका छन् । नेकपा एमालेले गौरीबहादुर कार्की नेतृत्वको यस आयोगलाई असंवैधानिक र विवादित भन्दै खारेजीको माग गर्दै आएको छ ।








प्रतिक्रिया