
काठमाडौं । नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा ९ सुझाव दिएको छ ।
राष्ट्र बैंकका पूर्वनिर्देशक तथा नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. रेवत बहादुर कार्कीको संयोजकत्वका गठित कार्यदलले कालोसूची सम्बन्धि नियमलाई पुनरवलोकन गर्नुपर्ने लगायत सुझाव दिएको हो ।
कार्यदलले सुस्त अर्थतन्त्र उकास्न आवश्यक नीतिनियमनलाई निक्षेपकर्ताको हितमा सम्झौता नहुने गरी रिल्याक्सेसन गर्ने/छुट दिने नीति लिनुपर्ने सुझाव दिएको हो । यसैगरी सहुलियतपूर्ण कर्जा कार्यक्रमको बाँकी सरकारी अनुदानको जिम्मा लिई (राष्ट्र बैंकले सरकारलाई दिने लाभांशबाट शोधभर्ना लिने गरी) तत्काल सञ्चालन गराउने कार्यदलको सुझाव छ।
कोभिडपछि कतिपय व्यवसाय बन्द छन् भने कतिपय सानो स्केलमा सञ्चालन भइरहेको सन्दर्भमा पुनः व्यवसाय सञ्चालन र स्केल वृद्धि गर्न चाहनेलाई व्यावसायिक सम्भावना र धितो हेरी थप कर्जा व्यवस्था गर्नुपर्ने कार्यदलको सुझाव छ । यसैगरी निक्षेपकर्ताको हित सर्वाेपरि हुने गरी धितो सुरक्षण भएको कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्था गर्न कार्यदलले सुझाव दिएको छ ।
बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. कार्कीको संयोजकत्वमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य एवम् नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिव रहने गभर्नर डा. विश्वनाथ पौडेलले कार्यदल गठन गरेका थिए । कार्यदलले गभर्नर डा. पौडेलसमक्ष असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाएकोमा ३० गते अन्तिम प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदन ५ महिनापछि सार्वजनिक भएको हो ।
कार्यदलले ग्रामीण क्षेत्रमा ५ लाख र सहरी क्षेत्रमा १० लाखसम्मको व्यवसाय कर्जा उचित धितोमा बंैक वित्तीय संस्थाबाट सरल र सहजरूपमा पाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । यसैगरी लघुवित्त संस्थाबाट प्रदान हुने समूहगत कर्जालाई र धितोमा आधारित उद्यमशील कर्जाको सीमा वृद्धि गरिनुपर्ने, आईटी र स्टार्टअप व्यवसायमा युवालाई प्रोत्साहन गर्ने कर्जा नीति लिनुपर्ने, कालोसूची सम्बन्धी नियमलाई पुनरावलोकन गरी सुधार गर्नुपर्ने, निजी क्षेत्रसँग प्रभावकारी समन्वय गर्ने संयन्त्रको विकास गर्नुपर्ने लगायतका सुझाव कार्यदलको छ ।








प्रतिक्रिया