
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले परिवर्तनमा लागेका सबै नयाँ र वैकल्पिक शक्तिलाई संवादमार्फत एकै ठाउँमा ल्याउन प्रयास भइरहेको बताएका छन् ।
सोमबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग ६ घण्टाभन्दा लामो छलफल गरेपछि पहिलो पटक त्यसबारे पहिलो पटक लामिछानेले अभिव्यक्ति दिएका हुन् ।
‘सबै परिवर्तनमा लाग्नु भएका नयाँ वैकल्पिक भनिएका शक्तिलाई संवादमार्फत एकैठाउँमा ल्याउन प्रयास स्वरुप लागिरहेका छौं, त्यसैको एउटा महत्वपूर्ण कडीको रुपमा अघि बढेका छौं,’ लामिछानेले भने ।
बालेनलाई प्रधानमन्त्री बनाउने गरि सहमति भएको हो भन्ने प्रश्नमा लामिछानेले आफूहरू त्यस चरणमा प्रवेश नगरेको उल्लेख गरे ।
‘हामी त्यस चरणमा प्रवेश गरेका छैनौं,’ उनले भने, ‘पहिला थाहा हुनुपर्यो, कुराकानी हुनु पर्यो, के कस्तो छ, कहाँ छ के छ भन्ने बुझ्नु पर्यो, एकअर्कासँग परिस्थितिबारे जानकारी लिनुपर्यो, हतार नगर्नुस् न,’ लामिछानेले भने । बालेन र आफूमात्र बसेको वार्तामा जसलाई जेजे स्वाद लाग्छ त्यही भन्न नहुने उनको भनाइ छ ।
उनले आफूहरु विस्तारै राजनीतिक चरणमा प्रवेश गर्ने र अरु शक्तिसँग पनि छलफल गर्ने बताए । ‘सुधन गुरुङसँग कुराकानी भएको छ । कुलमानजीसँग पनि कुराकानी गर्छौं,’ उनले भने, ‘ हामी सबैसँग कुराकानी गर्छौं र एक ठाउँमा आउन प्रयास गर्छौं त्यसका लागि रास्वपाले प्रयास गरिरहेको छ ।’










प्रतिक्रिया