
काठमाडौं । मुलुकभरका विभिन्न कारागारबाट जेनजी आन्दोलनका क्रममा भागेका ४ हजार ६ सय २६ कैदीबन्दी तीन महिनासम्म पनि नफर्किएको पाइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार ४ हजार ६ सय २६ कैदीबन्दी फरार रहेका छन् ।
गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा कैदीबन्दीहरू मुलुकभरका विभिन्न कारागारबाट भागेका थिए । सो समयमा कुल १४ हजार ५ सय ५९ कैदीबन्दी भागेका थिए ।
फरार कैदीबन्दीमध्ये ३ हजार ७ सय ५० नेपाली र ५ सय १७ जना भारतीय रहेको विभागका सूचना अधिकारी बालकृष्ण कटुवालले जानकारी दिए । अन्य ३ सय ५९ कैदीबन्दी भने विभिन्न मुलुकका रहेका उनले बताए ।
‘भागेका कैदीबन्दीले भागेको अवधिभर कारागारमा बसेर सजाय अवधि कटाउनुपर्नेछ । नियमित सुविधा भने पाउनेछन् । कैदीबन्दीले पाउने नैसर्गिक अधिकारको उपभोग गर्न पाउनेछन्,’ सूचना अधिकारी कटुवालले भने, ‘भागेका कैदी कारागारबाट पाउने अतिरिक्त सुविधाबाट वञ्चित रहनेछन् । त्यसैगरी उनीहरूले कैद छुट पाउने छैनन् ।’
फरार कैदीबन्दीलाई सरकारले तीव्र गतिमा खोजी गरिरहेको उनको भनाइ छ । विभिन्न समूह र जिल्ला मातहतका सुरक्षाकर्मीहरूले खोजी गरिरहेको कटुवालले बताए ।
त्यसैगरी, सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका मध्ये १ हजार ४ सय ६१ जना कैदीबन्दी फर्कन बाँकी छन् । भागेका मध्ये १ हजार ८ सय ९५ कैदीबन्दी कारागारमा आइसकेका छन् । सोही कारागारबाट उक्त दिन ३ हजार ५ सय १७ जना कैदीबन्दी भागेका थिए ।
यसैगरी, नख्खुस्थित कारागारमा ४ सय २ कैदीबन्दी फर्कन बाँकी छन् । जसमध्ये ३ सय ५५ नेपाली, ५५ जना भारतीय र अन्य मुलुकका ११ जना कैदीबन्दी फर्कन बाँकी रहेको नख्खु कारागारले जनाएको छ ।
नख्खु कारागारबाट उक्त दिन १ हजार २ सय ७८ कैदीबन्दी निस्किएका थिए । हालसम्म ८ सय २ जना कैदीबन्दी फर्किसकेका छन् ।
डिल्लीबजारस्थित कारागारबाट २० जना कैदीबन्दी फरार भएका थिए । हालसम्म ११ जना फर्किसकेका र ९ जना कैदीबन्दी अझै फरार रहेको डिल्लीबजार कारागारले जनाएको छ ।








प्रतिक्रिया