
काठमाडौं । नबिल बैंकले आफ्नो डिजिटल सेवा बढाउन ‘एनबैंक’ सञ्चालनमा ल्याएको तीन वर्ष पुगेको छ । बैंकले २०२२ डिसेम्बर २२ मा एनबैंकलाई नबिल बैंक भित्रको भर्चुअल बैंकको नाम दिएर यो एप सार्वजनिक गरेको थियो । जसको तीन वर्षमा नै बैंकले आफ्ना अधिकांश सेवा एप्समार्फत् नै प्रदान गर्नसक्ने अवस्था बनाउँदै गएको छ भने ग्राहकलाई सहज र सरल सुविधा प्रदान गर्नसक्ने भएको छ ।
नबिल बैंकले सञ्चालनमा ल्याएको ‘एनबैंक’ मोबाइल बैंकिङ एपको परिमार्जित डिजिटल प्लेटफर्म हो । कुनै पनि भौतिक आउटलेट नभएको यो एपलाई भर्चुअल बैंकको रूपमा पनि लिइन्छ । एनबैंक आउनु अघि पनि नबिल बैंकसँग मोबाइल बैंकिङ सेवा थियो । तर, यसका सेवाहरु अन्य बैंकको सरह सामान्य सुविधामा मात्रै सीमित थियो ।
तर, ग्राहकलाई नियो बैंकिङजस्तै अनुभव दिने उद्देश्यसहित तीन वर्ष अघि एनबैंक एपको विकास गरियो । नेपाल राष्ट्र बैंकबाट नियो बैंकिङको छुट्टै लाइसेन्स खुला नभएकाले औपचारिक नियो बैंक नभनिएपनि यसका अनबोर्डिङदेखि बैंकिङ सेवा उपयोगसम्मको सम्पूर्ण प्रक्रिया डिजिटल र नियो बैंकको जस्तौ बनाइएको छ ।
एन बैंक एपको मुख्य उद्देश्य ग्राहकलाई बैंकमा आउनै नपर्ने गरी खाता खोल्ने, बचत गर्ने, खर्च गर्ने, ऋण लिने, कार्ड प्रयोग गर्ने लगायतका सम्पूर्ण बैंकिङ सेवा अनलाइन उपलब्ध गराउनु थियो । जुन कार्यमा यो एप निकै सफल भइसकेको छ । आफ्नो उद्देश्यअनुसार एनबैंक एपमार्फत नबिल बैंकको अनलाइन खाता खोल्न सकिन्छ भने २४ सै घण्टा भिडियो केवाईसी सुविधा उपलब्ध छ ।
यो सुविधाले विदेशमा रहेका नेपाली नागरिकले पनि अनलाइनबाटै खाता खोल्न र बैंकिङ सेवाको प्रयोग गर्न सक्छन् । कर्जा (ऋण) प्रदान सेवामा पनि एन बैंकले नवीन अभ्यासको प्रयोग गर्दै आएको छ ।
‘फोन लोन’ सुविधामार्फत ग्राहकको ट्रान्जेक्सन गतिविधि हेरी डिजिटल एनालिटिक्सका आधारमा बैंकले अधिकतम दुई लाख रुपैयाँसम्मको फोन लोन प्रदान गर्दै आएको छ । ग्राहकले चाहेमा एक क्लिकको भरमा नै यो ऋण लिन सकिने सुविधा एनबैंकमा दिइएको छ ।
यसैगरी, फिक्स्ड डिपोजिट खाता मोबाइलबाटै खोल्न सकिनेदेखि सोही फिक्स्ड डिपोजिटको आधारमा ऋण लिन पनि सकिने प्रणाली यस एनबैंकमा छ जसका लागि कुनै पनि ग्राहकले कार्यालय धाउनुपर्दैन । रेमिट्यान्सतर्फ एन बैंकको ‘एन रेमिट’ सेवा नेपालमै पहिलो हो ।
विदेशमा रहेका नेपाली वा भिसा तथा मास्टर कार्ड भएका जो–कोहीले पनि एन बैंक एपमार्फत १०० डलरदेखि ५ हजार डलरसम्मको रकम रियल टाइममा नेपालको कुनै पनि बैंक खातामा पठाउन सक्ने सुविधा यसमा छ । यो पछिल्लो समयको निकै लोकप्रिय सेवामध्येको एक हो ।
कार्डबाट रकम डेबिट भई तुरुन्तै नेपाली बैंक खातामा क्रेडिट हुने यो सेवा हाल सबै बैंकसम्म विस्तार गरिएको छ । एन बैंक एपलाई बैंकिङ सेवामा मात्र सीमित नराखी ‘सुपर एप’को रूपमा विकास गर्ने प्रयासमा नबिल बैंक लागि परेको छ । एपभित्र रहेको ‘मार्केटप्लेस’मार्फत दराजजस्ता प्लेटफमहरुको प्रयोग गर्न र त्यसबाट अनलाइन सपिङ, फुड डेलिभरी, बस टिकट, भोटिङ सेवा लगायतका सेवा लिन ग्राहकले पाउँछन् ।
साथै, विदेश यात्राका लागि ‘निम्बस’ इ–सिम सेवा पनि एपमा इन्टिग्रेट गरिएको छ । ग्राहकले नेपालमै बसेर इ–सिम खरिद गरी विदेश पुगेपछि सोही देशको नेटवर्क तुरुन्त प्रयोग गर्न सक्छन् । यो निकै आधुनिक र मानिसका लागि अति व्यवहारिक सुविधासमेत बनेको छ ।

यसैगरी, अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्सका लागि आवेदन, कार्ड एड गरी क्रेडिट कार्ड बिल भुक्तानी, स्टेटमेन्ट हेर्ने, मोबाइलबाटै कार्ड पिन रिसेट गर्ने ‘ग्रिन पिन’ सुविधा पनि एन बैंक एपमा उपलब्ध छ । यस एपमा बैंकले हालै सञ्चालमा ल्याएको अपोइन्टमेन्ट बैंकिङ सुविधा पनि राखिएको छ ।
यसका अलावा पछिल्लो समय एनबैंकमा थप नयाँ र परिस्कृत सेवाहरु थप्ने काम हुँदै आएको छ । मोबाइल सेवा रिन्युअल, सबै नबिल कार्डहरू एपमा एड गर्ने, रियल टाइम बिल पेमेन्ट तथा रेमिट्यान्स सेवाको विस्तार पछिल्लो समय थप भएका नयाँ र परिस्कृत सेवाहरु हुन् ।
तीन वर्षअघिसम्म बैंकको कार्यालयमै पुग्नुपर्ने किसिमका कामहरु हाल ३० सेकेन्डदेखि एक मिनेटमै मोबाइलबाट सम्पन्न हुने अवस्था बनेको छ । ग्राहक जानकारी र सहयोगका लागि एन बैंक एपमा माइक्रोसाइट र एफएक्यू व्यवस्था गरिएको छ । खाता कसरी खोल्ने, एन रेमिट कसरी गर्ने जस्ता विषयमा स्टेप–बाइ–स्टेप जानकारी उपलब्ध छ ।
साथै, कल, इमेल, ह्वाट्सएप र भाइबरमार्फत २४ सै घण्टा ग्राहक सेवा प्रदान गर्ने कार्य पनि नबिल बैंकले लामो समयदेखि गर्दै आएको छ । बैंकले आगामी दिनमा एन बैंक एपलाई अझ सहज र सुरक्षित बनाउने लक्ष्य राखेर नयाँ फिचर थप्ने र ग्राहकलाई प्रयोगमा नयाँ अनुभूति दिलाउने योजना बैंकको छ ।
राष्ट्रिय परिचयपत्रको एपीआई सरकारी रूपमा खुला भएमा अनबोर्डिङ प्रक्रिया अझ सरल र छरितो हुने अपेक्षा बैंकले गरेको छ । यसले खाता खोल्ने प्रक्रियालाई पूर्ण रूपमा सहज बनाउने बैंकको विश्वास छ ।
ग्राहकलाई नयाँ डिजिटल फिचरमा अभ्यस्त गराउनु चुनौतीपूर्ण भए पनि सामाजिक सञ्जाल, युट्युबमार्फत ‘हाउ–टु’ सामग्री, डिजिटल क्याम्पेन र प्रदेशस्तरीय जनचेतना कार्यक्रममार्फत प्रयोगकर्तालाई एनबैंकको सेवा प्रयोगमा ग्राहकलाई अभ्यस्त पार्ने कार्य बैंकले गरिरहेको छ ।










प्रतिक्रिया