पाँच महिनामा आयात झण्डै १६ र निर्यात साढे ५८ प्रतिशतले बढ्यो


काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालले झण्डै ९ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको श्रावणदेखि मंसिरसम्मको अवधिमा ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँबराबरको नेपालले वैदेशिक व्यापार गरेको छ ।

अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १५.८३ प्रतिशतले पछिल्लो पाँच महिनामा आयात दर बढेको छ । यो पाँच महिनाको अवधिमा ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँबराबरको नेपालले विभिन्न मुलुकबाट वस्तु आयात गरेको छ ।

यस्तै यो अवधिमा १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँबराबरको विभिन्न वस्तु निर्यात गरेको छ । अघिल्लो वर्षको यहि अवधिको तुलनामा ५८.१७ प्रतिशतका दरले निर्यात दर बृद्धि भएको छ ।

पाँच महिनाको अवधिमा नेपालले ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँबराबरको बैदशिक व्यापार घाटा व्यहोरेको छ ।

चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ नेपालमा भित्रिएको छ । यो अवधिमा नेपालमा १ खर्ब ८ अर्ब २ करोड ९९ लाख रुपैयाँबराबरको सबै प्रकारको पेट्रोलियम पदार्थ आयात भएको छ ।

यसमध्ये ४५ अर्ब ६० करोड ६२ लाख रुपैयाँबराबरको डिजेल, २७ अर्ब ३३ करोड रुपैयाँबराबरको पेट्रोल, २२ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास, ८ अर्ब ३४ करोड ९९ लाख रुपैयाँबराबरको हवाई इन्धन र ४ अर्ब ३४ करोड ९९ लाख रुपैयाँ बराबरको पेट्रोलियम बिटुमिन आयात भएको छ ।

पेट्रोलियम पदार्थपछि नेपालमा अत्याधिक परिमाणमा कच्चा सोयाविन तेल आयात भएको छ । ३९ अर्ब रुपैयाँबराबरको कच्चा सोयाविन तेल आयात भएको छ । यस्तै १५ अर्ब ७२ करोड ११ लाख रुपैयाँबराबरको सुन, १५ अर्ब ४ करोड ५९ लाख रुपैयाँबराबरको मोवाइल फोन, ६ अर्ब ८८ करोड ५८ लाख रुपैयाँबराबरको धान आयात भएको छ ।

यस्तै पाँच महिनाको अवधिमा सबैभन्दा बढी ४६ अर्ब ५५ करोड ८६ लाख रुपैयाँबराबरको सोयाविन तेल निर्यात भएको छ । यस्तै दोश्रोमा सिंथेटिक वा बुनिएका कपडा १ अर्ब ३३ करोड र १ अर्ब ३२ करोड १२ लाख रुपैयाँबराबरको प्लाइउड निर्यात भएको छ ।