दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीकाण्ड हुँदा ९ जनाको मृत्यु


एजेन्सी । दक्षिण अफ्रिकाको जोहानेसबर्ग बाहिरको एक बस्तीमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा नौजनाको हत्या भएको छ ।

अज्ञात बन्दुकधारीहरूले चलाएको गोलीका कारण अन्य १० जना घाइते बनाएका छन् ।

डिसेम्बर महिनामा मात्र दक्षिण अफ्रिकामा भएको यो दोस्रो सामूहिक गोलीकाण्डको घटना हो ।

शहरबाट २५ माइल दक्षिणपश्चिममा रहेको बेकर्सडालमा भएको उक्त आक्रमणको कारण स्पष्ट नभएको स्थानीय प्रहरीले एएफपी समाचार संस्थालाई बताएको छ । ‘केही पीडितहरूलाई सडकमा अज्ञात बन्दुकधारीहरूले जथाभावी गोली हानेका थिए,’ प्रहरीको एक विज्ञप्तिमा भनिएको छ ।

गोलीकाण्ड दक्षिण अफ्रिकाका केही प्रमुख सुन खानीहरू नजिकैको एक गरिब क्षेत्र बेकर्सडालमा रहेको एउटा टेभर्न नजिकै भएको थियो । घाइतेहरूलाई तुरुन्तै अस्पताल लगिएको प्रहरीले उल्लेख गरेको छ ।

यसअघि डिसेम्बर ६ मा बन्दुकधारीहरूले राजधानी प्रिटोरिया नजिकैको एउटा होस्टलमा आक्रमण गरी तीन वर्षको बालकसहित एक दर्जन मानिसको हत्या गरेका थिए । उक्त गोलीकाण्ड अवैध रूपमा मदिरा बिक्री भइरहेको स्थानमा भएको प्रहरीले बताएको छ ।

दक्षिण अफ्रिकामा ६ करोड ३० लाख मानिस बस्छन् । यो विश्वकै उच्च हत्या दर सहित उच्च अपराध दरका लागि कुख्यात छ ।